ad ad

समाज


ललितपुर अदालतकी कर्मचारी कुटपिटको सीसीटीभी फुटेज नै गायब

श्रेस्तेदार भन्छन्–बिग्रिएको थियो, बनाउन पठाएका छौँ
ललितपुर अदालतकी कर्मचारी कुटपिटको सीसीटीभी फुटेज नै गायब

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १२:३४, काठमाडौँ

जिल्ला अदालत ललितपुरकी नायव सुब्बा प्रेमिका तामाङमाथि भएको कुटपिटको सीसीटीभी फुटेज नै गायब भएको पाइएको छ। 

गत बुधबार (असार १३ गते) अपराह्न कानुन व्यवसायी अमिर लामिछानेले नासु तामाङलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको छ। आरोपित अधिवक्ता लामिछानेलाई प्रहरीले त्यसै दिन पक्राउ गरेर हिरासतमा राखेको छ।

उनीविरुद्ध अभद्र व्यवहारको  कसुरमा अनुसन्धान अगाडि बढाएको छ। यस्तै अदालतमा पनि तामाङले लामिछानेविरुद्ध अर्को मुद्दा दायर गरेकी छन्। 

तर घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै कर्मचारी तामाङ नै उल्टै आफूमाथि जाइलागेको अधिवक्ता लामिछानेले प्रहरीसमक्ष बताएका छन्। 

उता कानुन व्यवसायीहरुले सत्यतथ्य पत्ता लगाउन र अधिवक्ता लामिछानेलाई मात्रै नफसाउन दबाब दिँदै आएका छन्। 

उनीहरुले घटनास्थलको सीसीटीभी फुटेजसमेत ल्याएर अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका छन्। 

अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरले अदालतसँग सीसीटीभी फुटेज माग गरेको थियो।

तर, उक्त घटनाका बेला रेकर्ड भएको सीसीटीभी फुटेज नै नरहेको जवाफ प्रहरीलाई अदालत प्रशासनले दिएको हो। 

यसअघि नै मौखिक रुपमा माग गर्दा फुटेज नपाएपछि प्रहरीले आइतबार पुनःपत्र पठाएरै फुटेज माग गरेको छ। 

‘हामीले यसअघि नै सीसीटीभी फुटेज माग गरेका थियौँ, अहिलेसम्म प्राप्त हुन सकेको छैन। फेरि आज पत्र पठाएका छौं’, ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने। 

यसअघि प्रहरीले मौखिक रुपमा माग गर्दा अदालतका कर्मचारीले त्यो घटनाको सीसीटीभी फुटेज नरहेको जवाफ दिएका छन्। 

अदालतले सीसीटीभी फुटेज केही समयदेखि नै बिग्रिएको बताएको छ। 

जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णुप्रसाद पाण्डेले पनि सीसीटीभी फुटेज रहे नरहेको चेकजाँच भइरहेको बताए। 

तर उनले अदालतको सीसीटीभी एक महिना पहिले नै बिग्रिएको जवाफ दिए। 

उनले नेपालखबरसँग कुरा गर्दै भने, ‘अदालतको सीसीटीभी बिग्रेर हामीले करिव एक महिना पहिले नै सर्वोच्च अदालतमा पत्र पठाएका थियौँ। त्यो रेकर्ड इमेलमा पनि छ। हामीले अहिले बनाएको हो भन्ने लाग्छ भने इमेलमा हेर्दा हुन्छ, ठ्याक्कै समय देखाउँछ।’

त्यसोभए घटनाको फुटेज छैन? भन्ने प्रश्नमा स्रेस्तेदार पाण्डेले भने, ‘हेर्दैछौँ।’

यही घटनाको विरोधमा देशभरका अदालतका कर्मचारीले आन्दोलन जारी राखेका छन्। 

आइतबार दिउँसो साढे १ बजेसम्म कामकाज ठप्प पारेर अदालतका कर्मचारी धर्नामा बसेका छन्। 

उनीहरुले दोषीलाई कारबाही गर्न र अदालतमा निर्वाध काम गर्ने वातावरण तयार गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .