ad ad

समाज


भारतीय प्रहरीको गोली प्रहारबाट सर्लाहीका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

भारतीय प्रहरीको गोली प्रहारबाट सर्लाहीका दुई युवाको मृत्यु, चार गम्भीर घाइते

सांकेतिक तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १०:५७, काठमाडौँ

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीका दुई युवाको मृत्यु भएको छ। अन्य चार जना गम्भीर घाइते भएका छन्।

गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो। 

स्रोतका अनुसार भारतीय प्रहरीको गोली लागेर मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान हुन्। उनीहरु दुवै झण्डै ४५ वर्ष उमेरका छन्। घटनामा प्रहरीको गोली लागेर पुनर्वासकै अन्य चार युवा पनि गम्भीर घाइते भएका बताइएको छ। तर, उनीहरूको नाम खुलेको छैन।

नेपालको प्रहरीले भने मृतक र घाइतेको विषयमा आधिकारिक जानकारी दिएन।

गएको आइतबार राति बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीले गोली चलाएका थिए। 

जिल्ला प्रहरी कार्यालय बाराका एसपी होविन्द्र बोगटीले डकैतीमा संलग्न समूहमाथि भारतीय प्रहरीले गोली चलाएको बताए।

‘यो घटनाको आधिकारिक जानकारी त हामीलाई पनि प्राप्त भएको छैन,’ एसपी बोगटीले नेपाल खबरसँग भने, ‘तर, मारिने र घाइते हुने सबै सर्लाहीको लालबन्दीस्थित पुनर्वासका हुन् भन्ने सुनेका छौँ।’

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपेन्द्र पंजियारले घटनाको विषयमा आफूले सामाजिक सञ्जालमा सुनेको बताए। ‘यो घटनाको विषयमा हामीलाई कुनै आधिकारिक जानकारी छैन। हामीले पनि विभिन्न सञ्चार माध्यममा यस्तो समाचार पढेका मात्रै छौँ,’ डीएसपी पंजियारले भने।

डकैती गर्ने समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको भारतीय प्रहरीको दाबी छ। डकैती हुँदैछ भन्ने खबर पाएर घटनास्थल पुगेको सुरक्षाकर्मीको टोलीले घेरा हालेपछि लुटेरा समूहले गोली प्रहार गरेको उसले बताएको छ।

उक्त समूहको गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ।

भारतीय सुरक्षाकर्मीले डकैतीमा संलग्न अन्य डेढ दर्जन जति मानिस नेपालतर्फ भागेको जानकारी बताएका छन्।

पुनर्वासका स्थानीय एक युवाले नाम नबताउने सर्तमा आफ्नो गाउँका दुई युवा भारतमा मारिएको पुष्टि गरे। 

‘मृतकका आफन्त हिजै त्यता (घटनास्थल) गएका छन्। मृतकको शव यता नल्याउने कुरो छ,’ उनले भने, ‘नेपालको प्रहरीले पनि यस विषयमा धेरै चासो राखेको छैन। घटना डकैतीको भएकाले सबै चुप छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .