समाज


ललितपुरमै मिटरब्याज : पक्राउ परे साहुकार ज्ञानेन्द्र महर्जन, ३० लाख दिएर सवा करोड असुलेको आरोप

ललितपुरमै मिटरब्याज : पक्राउ परे साहुकार ज्ञानेन्द्र महर्जन, ३० लाख दिएर सवा करोड असुलेको आरोप

नेपालखबर
असार १०, २०८० आइतबार २२:३९, काठमाडौँ

प्रहरीले मिटरब्याजीको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ। 

ललितपुर महानगरपालिका-२६ घर भई हाल ललितपुर-१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो। 

ज्ञानेन्द्रले ललितपुर महानगरपालिका-११ का ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ सापटी दिएर एक करोड बढी लिएको आरोप छ।

मनोजको जाहेरीपछि पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए। 

मनोजलाई ३० लाख दिएपछि वैदेशिक रोजगारीको कागज गराएका उनले पटक–पटक १ करोड २६ लाख रुपैयाँ लिइसकेको प्रहरीको दाबी छ। 

उनलाई अनुचित लेनदेन गर्न नहुने कसुरको आरोपमा प्रहरीले अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। 

जुपिटरटोलस्थित घरबाट पक्राउ परेका महर्जनको घर कोठासमेत प्रहरीले खानतलासी गरेको छ। 

घरबाट ७ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरूको नामको २३ वटा तमसुकसमेत प्रहरीले बरामद गरेको छ। 

तीमध्ये केही वडाबाट प्रमाणित भएकोसमेत पाइएको छ। यस्तै विभिन्न बैंक तथा सहकारीका १ करोड ३४ लाख रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरुको नामको चेकसमेत उनीबाट बरामद गरेको छ।

ती चेक म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेका समेत गरी ३२ थान रहेको एसएसपी शाहले बताए। 

ज्ञानेन्द्रले यसअघि अर्का व्यक्तिसँग पनि मिटरब्याज लिएको आरोपमा प्रहरीले पटक पटक प्रहरी कार्यालय बोलाएको थियो।

तर ती व्यक्तिविरुद्ध ज्ञानेन्द्रले अदालतमा चेक अनादरको मुद्दा दायर गरिसकेकाले प्रहरी कार्यालयमा भएको छलफलमा कुरा मिल्न सकेको थिएन। 

गृह मन्त्रालयबाट समेत दबाब आएको भन्दै प्रहरीले उनलाई त्यो मुद्दा मिलाउन दबाब दिएको थियो।

तर पटक पटक छलफलमा बोलाउँदा पनि नआएपछि प्रहरीले पनि पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको हो। 

मिटरब्याजी र पीडितविरुद्ध सुरुमा छलफल गराउने र मिलाउने भएपनि यो मुद्दामा भने ज्ञानेन्द्र नै छलफलमा आउन नचाहेकाले कानुनअनुसार अगाडी बढेको एसएसपी शाहले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .