ad ad

समाज


बालेनविरुद्धको अवहेलना मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

बालेनविरुद्धको अवहेलना मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा

फाइल तस्बिर


नेपालखबर
असार १०, २०८० आइतबार १२:४६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ।

बालेनले अदालतको अवहेलना गरेको आरोपमा कारवाही गरी पाऊँ भन्दै अधिवक्ता वर्षा झाले दिएको उजुरीमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको एकल इजलासमा हुने भएको हो।

तर यो मुद्दा ढुंगानाको इजालसको अन्तिम नम्बरमा सुनुवाइका लागि पेसीमा राखिएको छ। 

बालेनले गत असार ७ गते आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै काठमाडौं महानगरका हलमा हिन्दी फिल्म चल्न नदिने निर्णयबाट पछि नहट्ने जिकिर गरेका थिए। 

फिल्म प्रदर्शकले हिन्दी फिल्म प्रदर्शन गर्न पाउनुपर्ने माग राखी दिएको रिट निवेदनमा उच्च अदालत (पाटन) ले भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।  

नेपाल चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

त्यसबारेमा अन्तरिम आदेश छलफलका लागि अदालतले यही असार १२ गते दुवै पक्षलाई अदालत बोलाएको थियो। तर मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताका सवालमा आफू कुनै कानुन र अदालतलाई नमान्ने र काठमाडौं महानगरका हलमा हिन्दी फिल्म चल्न नदिने निर्णय यथावत् रहने जिकिर गरेका थिए। 

फिल्म लेखकले नै नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत प्रस्ट भइसकेको तर्क शाहले गरेका थिए।। तर पनि भारतीय फिल्म प्रदर्शन गर्न दिनू भन्नु भनेको हाम्रा सरकार र अदालत भारतको गुलाम भएको आरोप उनले लगाएका थिए।

यही कुरालाई लिएर अधिवक्ता झा अदालतको अवहेलनासम्बन्धी रिट लिएर सर्वोच्च पुगेकी थिइन्। बालेनले सामाजिक सञ्जालमा अदालतको आदेश नमान्ने भने पनि अदालतको आदेशअनुसार अहिले काठमाडौं महानगरका हलहरुमा हिन्दी फिल्म चलिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .