ad ad

समाज


आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

नेपालखबर
असार ८, २०८० शुक्रबार १३:४८, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकोले देश भरिका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालिन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशमा जति बेला पनि आपतकाल आउन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर आपतकालीन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउछ अन्दाज गर्न सकिँदैन। हाम्रो देशमा हरेक वर्ष जसो बाढीपहिरो आएकै हुन्छ। त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौँ भने उपचार सेवाबाट बन्चित हुनु पर्ने अवस्था रहँदैन। ’

आपतकालीन अवस्था आउनुभन्दा पहिले नै हामीले कम्तिमा पनि सम्भावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालीन अवस्थामा पनि उपचार सेवा दिन सकिने बताउँदै मन्त्री बस्नेतले सिमित श्रोत र साधनकाबीच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए। यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको उनले जानकारी दिए।  
मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरी छुट्टै फण्डको व्यवस्था नभएको बताउँदै आपतकालीन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउटा छुट्टै फण्ड बनाउने गरि आफूले पहल गरिरहेको जानकारी दिए।

उनले भने, ‘आपतकालीन उपचार फण्डमा सबै दाताहरुले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ। ’

कार्यशाललाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थाको उपचारका लागि देशभरिका २५ वटा अस्पतालहरुलाई हव हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए।

उनले भने, ‘कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौँ।’

सात वटै प्रदेशमा आपतकालीन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा. सिंहले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस् भन्नेतर्फ  सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए। आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठनले नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महाशाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए।

शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेड क्वाटर, सेरोका विज्ञहरु सहित सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालीन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .