ad ad

समाज


फोहोर व्यवस्थापन : विगतका वर्षमा झैँ समस्या झेल्नु पर्दैन उपत्यकावासीले

फोहोर व्यवस्थापन : विगतका वर्षमा झैँ समस्या झेल्नु पर्दैन उपत्यकावासीले

नेपालखबर
असार ४, २०८० सोमबार २१:१४, काठमाडौँ

समयमा नै बाटो मर्मतको काम गरिएकाले यस वर्ष वर्षाको समयमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने बताइएको छ।  

वर्षाको समय सुरु भएसँगै हरेक वर्ष उपत्यकाको फोहर व्यवस्थापनको काम काठमाडौंदेखि फोहरको अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म जाने विभिन्न स्थानका बाटो बिग्रँदा समस्या हुने गरेको थियो।  

अब भने विगतका वर्षामा पानी पर्न सुरु भएसँगै बिग्रने बाटोहरू मर्मत भइसकेकाले यसअघिको झैँ समस्या नआउने काठमाडौं महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिए। उनका अनुसार यस वर्ष उत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम भइसकेको छ, अझै केही काम जारी छ।

‘साना समस्या भए पनि यसअघि झैँ एक महिनासम्म फोहर नउठ्ने समस्या कुनै पनि हालतमा हुने छैन’, लम्सालले भने। 

विगतका वर्षमा जस्तै समस्या नहोस् भनेरै यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतको काम पनि गरिसकेको छ।

विगत १६ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन गरिएको स्थान सिसडोलमा अहिले पनि फोहरको पहाड छ। उक्त पहाड पार गरी फोहरको गाडी बञ्चरेडाँडा जानुपर्ने अवस्था छ।

नियमित पानी पर्न थालेपछि सिसडोलको फोहर कुहिने गर्छ, वर्षाको समयमा विशेषगरी सिसडोलको फोहरमाथि बनेको सडकमा गाडी फस्ने समस्या थियो, अब उक्त समस्या हटेको छ। 

पानी पर्नेबित्तिकै फोहरमाथि बनेको सडकमा पहिरो आउने, सडकको छेउबाट पहिरो जाने, गाडी फसेर समस्या हुने गरेकाले त्यसको बेलैमा समाधान गरी आगामी दिनमा पानी पर्दासमेत नियमितरूपमा फोहर व्यवस्थापन गर्न सहज होस् भनेर काम गरिएको कामपाको भनाइ छ।   

विगत १० महिनादेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम विसर्जन स्थल बञ्चरेडाँडामा लाने गरिएको छ।

सुरुमा स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्रै नकुहिने फोहर बञ्चरेडाँडा लाने र अन्य कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म सबै फोहर विनावर्गीकरण उक्त स्थानमा लाने गरिएको छ। 

जसका कारण उक्त स्थानमा लामो समयसम्म फोहर राख्न सकिने विषयमा भने शङ्का उब्जिएको छ। छोटो समयमा नै धेरै फोहर व्यवस्थापन गर्नुपर्दा बञ्चरेडाँडामा लिचड व्यवस्थापनमा पनि समस्या भएको बताइएको छ। 

उक्त स्थानमा दैनिक उपत्यकाको १८ स्थानीय तहको एक हजार दुई सय मेट्रिक टन फोहर व्यवस्थापन हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .