समाज


एसईई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

एसईई परीक्षामा १७ हजार विद्यार्थीको ‘ए प्लस’

रमेश गिरी
असार १२, २०७६ बिहिबार १५:४५,

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन्।

कार्यालयले गत वर्षदेखि सङ्घीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित समूहको साधारणतर्फ चार लाख ४९ हजार ६४२ र प्राविधिक धारतर्फको नौ हजार ६३३ जना गरी कूल चार लाख ५९ हजार २७५ परीक्षार्थी सहभागी थिए।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार ४८ हजार ९६० विद्यार्थीले जिपिए ३.२० देखि ३.६० (ए), ६० हजार ७०६ विद्यार्थीले जिपिए २.८० देखि ३.२० (बी प्लस), ९४ हजार ११० विद्यार्थीले जिपिए २.४० देखि २.८० (बी), ९७ हजार २९९ विद्यार्थीले जिपिए २.०० देखि २.४० (सी प्लस) र ९५ हजार २०९ विद्यार्थीले १.६० देखि २.०० (सी) ल्याउन सफल भएका छन्। यस्तै ४३ हजार ८४० विद्यार्थीले १.२० देखि १.६० (डी प्लस), चार हजार ४२९ विद्यार्थीले ०.८० देखि १.२० (डी) प्राप्त गरेका छन्। आठ हजार २०७ विद्यार्थीको भने विभिन्न कारणले नतिजा सार्वजनिक भएको छैन।

प्राविधिक धारतर्फ ६९८ विद्यार्थीले ‘ए प्लस’, दुई हजार १७७ विद्यार्थीले ‘ए’, तीन हजार ३५ विद्यार्थीले ‘बी प्लस’, दुई हजार ४५४ विद्यार्थीले ‘बी’, ९०८ विद्यार्थीले ‘सी प्लस’ तथा ९८ विद्यार्थीले ‘सी’ तथा एक विद्यार्थीले ‘डी प्लस’ ल्याएका छन्। प्राविधिक धारतर्फ २६२ परीक्षार्थीको नतिजा सार्वजनिक हुन बाँकी छ। नियन्त्रक अधिकारीका अनुसार साधारण र प्राविधिकतर्फ चार लाख ७५ हजार तीन परीक्षार्थीले परीक्षामा आवेदन दिएका थिए। नियमित र प्राविधिकतर्फ गरी कूल आठ हजार ४६९ परीक्षार्थीको नतिजा सार्वजनिक नगरिएको उनले बताए।

परीक्षाको मर्यादाविपरीत कार्य गर्ने र गलत विवरण भरी आवेदन दिने दुई परीक्षार्थीको सबै विषय तथा ४८ परीक्षार्थीको विभिन्न विषयसहित कूल ५० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । विगत वर्षमा एकैपटक आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गरे पनि कार्यालयले यस वर्ष भने आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्न सकेन। पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अधिकारीले जति सक्दो छिटो आंशिक परीक्षाको नतिजा सार्वजनिक गर्ने जानकारी दिए।

पुर्नयोगको व्यवस्था

आफूले प्राप्त गरेको कुनै विषयको नतिजा चित्त नबुझेमा सम्बन्धित परीक्षार्थीले पुर्नयोग गर्नसक्ने व्यवस्था छ। विद्यार्थीले प्रतिविषय रु ५०० र आवश्यक विवरणसहित परीक्षा नियन्त्रण कार्यालय वा प्रदेश शिक्षा निर्देशनालय वा शिक्षा तथा समन्वय एकाइमा नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवदेन दिन सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक अधिकारीले बताए। पुर्नयोगका लागि निवदेन कार्यालयको वेबसाइट www.see.gov.np / www.neb.gov.np बाट डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ।

पूरक अर्थात् ग्रेडवृद्धि

पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको हकमा भने सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयसम्म ‘सि’ वा ‘सि’भन्दा तल्लो ग्रेड प्राप्त गरेको वा परीक्षामा दुई विषयसम्म अनुपस्थिति भएको वा दुई विषयसम्म ग्रेड नखुलेको विषयमा परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।

गत वर्ष नतिजा प्रकाशित भएकै दिन पूरक परीक्षाको तालिका सार्वजनिक गर्ने गरिएको भए पनि यस वर्ष भने केही समयपछि तालिका सार्वजनिक गरिने जानकारी दिइयो ।

नतिजा हेर्ने व्यवस्था

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिनेछ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो । एसएमएसका लागि ३१००३, ३१००७, ३४९४९, १६००, ३५००१ मा डायल गर्नसक्ने व्यवस्था गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको www.see.gov.np, , राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, www.see.ntc.net.np, www.ncell.axiata.com लगायतका वेबसाइटमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad