ad ad

समाज


सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा तोकियो पेसी

सन्दीपविरुद्ध मुद्दाको अन्तिम फैसला गर्न न्यायाधीश राईको इजलासमा तोकियो पेसी

नेपालखबर
जेठ १६, २०८० मंगलबार ११:२५, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको छ। 

पेसीको तेस्रो नम्बरमा परेकाले उक्त मुद्दा आजै सुनुवाइ हुने सम्भावना देखिएको छ।  

यसअघि गत मंसिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो। 

मुद्दाको अन्तिम फैसला आजै आए सन्दीप कि फेरि जेल जानेछन् कि मैदान फर्किने छन्।

यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरेको सर्‍यै गर्दा अन्तिम सुनुवाइ हुन सकेको छैन। जसका कारण लामिछाने राष्ट्रिय टोलीसँग अफ्रिका जाने कार्यक्रमसमेत अनिश्चित बनेको छ। 

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने बिदामा बसेका छन्। नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको बताए। 

खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका हुन्। सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको बताउने गरेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। 

कहिले के भयो ?
२०७९ कात्तिक १५–१८
न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको थियो। त्यसैदिनबाट यो मुद्दाको सुनुवाइ सुरु भयो। प्रतिवादी लामिछानेको बयान गराएर अदालतमा थुनछेक बहस सुरु भएको थियो। ४ दिनको निरन्तर सुनुवाइपछि कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। त्यसैदिन सन्दीपलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको थियो। 

२०७९ मंसिर ७–१४ गतेसम्म
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी तोकिएको थियो। यो मुद्दामा जोडिएका व्यक्तिहरुको बकपत्र न्यायाधीश राईको इजलासमा गराइएको थियो। मंसिर ७ गतेदेखि निरन्तर हेर्दाहेर्दैमा राखिएको यो मुद्दामा मंसिर १४ गते न्यायाधीश राईले बयान/बकपत्र गराइएको आदेश गरे। 

२०७९ पुस १२ 
न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश बेल्बासेले प्रमाण बुझ्ने आदेश दिएका थिए। जसमा जाहेरवाला किशोरीको उमेरका विषयमा प्रतिवादीका कानुन व्यवसायीले सुरुबाटै प्रश्न उठाएका थिए। किशोरी नाबालिग नरहेको दाबी सन्दीप पक्षको थियो। यसका विषयमा प्रमाण बुझ्न न्यायाधीश बेल्बासेको इजलासले आदेश दिएको थियो। 

२०७९ पुस २५ 
न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको थियो। पराजुलीको इजलासले बकपत्र गराउँन बाँकी रहेका साक्षीको बकपत्र गराएको थियो। 

२०७९ माघ ९ 
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले सुनुवाइ स्थगित गर्न निवेदन दियो। जुन निवेदनका कारण त्यसदिन सुनुवाइ हुन सकेन। 

२०७९ माघ २३
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेसी तोकिएको थियो। तर अघिल्लो पटकजस्तै यसपटक पनि जिल्ला सरकारी वकिल कार्यालयकै कारण सुनुवाइ हुन सकेन। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सुनुवाइ स्थगित गर्न निवेदन दिएको थियो। 

२०७९ फागुन ८ 
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा पेसी तोकिएको थियो। तर यसपटक भने न्यायाधीशका कारण मुद्दाको सुनुवाइ हुन सकेन। न्यायाधीश पराजुली बिदामा बस्दा इजलास नै बस्न सकेन। 

२०७९ फागुन २९ 
न्यायाधीश दीपक ढकालको इजलासमा पेसी तोकिएको थियो। तर सन्दीप लामिछानेका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए। जस कारण सुनुवाइ स्थगित भयो। 

२०७९ चैत १३
सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा पेसी तोकिएको थियो। जसकारण सुनुवाइ हुन सकेन। सन्दीपका कानुन व्यवसायीले पहिले थुनामा पठाउने न्यायाधीशकै इजलासमा पेसी तोकिएपछि निवेदन दिएर सुनुवाइ स्थगित गराए। 

२०७९ चैत २२
न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पनि अन्तिम फैसला गर्न सकेन। त्यो दिन यो इजलासमा उक्त मुद्दाको पालो नै आएन। हेर्न नभ्याइएकोमा गयो। 

२०७९ चैत २६ 
न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो। जुन दिन सुनुवाइको पालो आएपछि जाहेरवालाका कानुन व्यवसायीले केही साक्षीको बकपत्र गराउन बाँकी रहेको कुरा उठाए। किशोरीको स्वास्थ्य जाँच गराउने चिकित्सक र दुई क्रिकेटरको बकपत्र गराउन बाँकी थियो। इजालसले उनीहरुको पनि बकपत्र गराउन आदेश दिएको थियो। 

२०८० वैशाख ६ 
न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। स्वास्थ्य जाँच गराउने डाक्टर र अन्य दुईजनाको पनि बकपत्र गराइएको थियो। 

२०८० वैशाख ११ 
न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। यसपटक सुनुवाइका लागि दुवै पक्ष तयार थिए। जाहेरवालाको तर्फबाट निजी र सरकारी वकिल गरी ५ जनाले बहस गरेका थिए। तर एक पक्षको बहस सकिन लागेको मुद्दा न्यायाधीश ढकालले हेर्दाहेर्दैमा राखेनन्। उनले त्यसदिन हेर्न नभ्याइएको जनाउँदै मुद्दाको पेसी पुनः तोक्न आदेश दिए।

२०८० जेठ ७ 
यो दिन न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको पेसी तोकिएको थियो। चौथो नम्बरमा रहेको मुद्दाको सुनुवाइको पनि पालो आयो। तर न्यायाधीश पराजुलीले पनि मुद्दाको फैसला गरेनन्। यसअघि किशोरीको जन्मदर्ता गरिएको वडा कार्यालय र किशोरी जन्मिएको अस्पतालबाट आएका जन्म मिति खुल्ने कागजात स्पष्ट नभएको भन्दै पुनः मगाउन आदेश दिए। 

जिल्ला अदालत काठमाडौंको आदेश अनुसार किशोरीको जन्म भएको पर्साको नारायणी अस्पताल र नुवाकोटको एक वडा कार्यालयले जन्मदर्ताको प्रमाण उपलब्ध गराइसकेका छन्। गत बुधबार दुवै कार्यालयबाट कागजात प्राप्त भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .