ad ad

समाज


उच्च रक्तचापबाट कसरी बच्ने?

उच्च रक्तचापबाट कसरी बच्ने?

नेपालखबर
जेठ ३, २०८० बुधबार १२:५८, काठमाडौँ

आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत संघसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेका छन्।

हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो। बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन्।

बदलिँदो जीवनशैलीका कारण दैनिक उच्च रक्तचापका बिरामी थपिन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्। विश्वभर उच्च रक्तचापका बिरामीहरूमध्ये जम्मा २५ प्रतिशतमा मात्र उपचारको दायरामा आउने गरेका विश्व स्वास्थ्य संगठनको तथ्याकंमा उल्लेख गरिएको छ। 

उच्च रक्तचाप का ७५ प्रतिशत बिरामी उपचारको दायरबाहिर छन्। 

विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अन्तर्क्रियामा विज्ञहरूले उच्च रक्तचाप भएका ७५ प्रतिशत बिरामी उपचारको दायरामा नआएको जानकारी दिए।

नसर्ने रोगहरूबाट मृत्यु हुने सबैभन्दा धेरै उच्च रक्तचाप रहेको मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले बताए।

मानिसहरूले क्यान्सर र हृदयघातलाई मात्र गम्भीर रूपमा लिरहेको तर उच्च रक्तचापलाई भने सामान्य ठानेको उनी बताउँछन्।

अहिले विश्वभर उच्च रक्तचाप रोग भयावह रूपमा फैलिरहेको र मृत्यु गराउने रोगहरूमध्ये एक नम्बरमा पर्ने भएकाले यस  रोगलाई समयमै पहिचान गरी उपचारको दायरमा ल्याउनुपर्ने उनले बताए।

 डा. अनिलका अनुसार, उच्च रक्तचापका कारणले ६९ प्रतिशतलाई हृदयघात भइरहेको छ भने ५१ प्रतिशतलाई मष्तिकघात भइरहेको छ। 

‘अहिले युवाहरूमा उच्च रक्तचाप धेरै देखिरहेको छ यसको मुख्य कारण भनेको तनाव, खानपान, वातावरण प्रदूषण र नुन धेरै खानु हो,' उनले भने। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, नेपालमा करिब ४७ लाख मानिसहरूमा उच्च रक्तचाप भएको अनुमान गरिएको छ। ती मध्ये १० लाखलाई मात्र आफूलाई उच्च रक्तचाप भएको थाहा पाएका छन्। 

सरकारले  सबै स्वास्थ्य संस्थाहरूबाट उच्च रक्तचाप नियन्त्रणका लागि आवश्यक पर्ने दुई प्रकारका औषधि निःशुल्क उपलब्ध गराइरहेको छ।

रक्तचाप भनेको मुटु खुम्चिँदा र फैलिँदा रक्त नलीको भित्तामा पर्ने दबाब हो। 

लक्षण

रिंगटा लाग्ने,

टाउको दुख्ने, 

थकान महसुस हुने,

वाकवाकी लाग्ने,

नाकबाट रगत बग्ने

मुटुको धड्कन बढ्ने वा रोकिएजस्तो हुने,

 

बच्ने उपाय

धूमपान र मदिरा सेवन नगर्ने,

हरिया सागसब्जी र फलफूल धेरै खाने,

नुन कम खाने, 

रातो र बोसोयुक्त मासु कम खाने,

नियमित व्यायाम तथा योग गर्ने,

वर्षमा ४ देखि ५ पटक रक्तचाप जाँच गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .