समाज


इरानमा रहेका नेपाली भन्छन् : हामी यहाँ सुरक्षित छौं

इरानमा रहेका नेपाली भन्छन् : हामी यहाँ सुरक्षित छौं

मणि दाहाल
पुस २२, २०७६ मंगलबार १४:२०,

इरानमा रहेका नेपालीले त्यहाँ उनीहरु सुरक्षित रहेको र अहिलेसम्म कुनै असुरक्षाको अनुभूती नगरेको बताएका छन्।

शुक्रबार अमेरिकी आक्रमणमा इरानी जर्नेल मारिएपछि कैयौंले अमेरिका र इरानबीच युद्ध नै हुने संभावना व्यक्त गरिरहेका बेला इरानको राजधानीमैं रहेका नेपालीहरुले भने आफूहरुले अहिलेसम्म कुनै सुरक्षा चुनौती अनुभूती नगरेको बताएका छन्।

राजधानी तेहरानमा २३ वर्षदेखि काम गर्दै आएका अर्घाखाँची भूमेश्वरका शालिकराम बन्जाडेले त्यहाँ रहेका नेपालीहरु  ढुक्कसँग कार्यरत रहेको बताए।
‘बाहिरबाट समाचारमा हेर्दा चाहिँ धेरै तनाव होला जस्तो देखिन्छ, तर यहाँ कुनै प्रकारको समस्या छैन। हामीले असुरक्षित पनि महसुश गरेका छैनौं,’ नेपालखबरसँग तेहरानबाट टेलिफोन कुराकानी गर्दै बन्जाडेले भने, ‘यहाँ रहेका हामी सबै नेपाली नजिकै छौं र नियमित सम्पर्कमैं छौं।’

उनका अनुसार अहिले राजधानी तेहरानमा २३ जना नेपाली छन्। ‘कोही परिवारका साथ र केही एक्लै हुनुहुन्छ। राजधानी तेहरान बाहिर नेपाली भएको हामीलाई जानकारी छैन,’ उनले भने। बन्जाडे मेक्सिकोको तेहरानस्थित दुतावासमा सेफको रुपमा कार्यरत छन्।

‘परिवारसहित यता बस्न थालेको १८ वर्ष भयो,’ उनले भने। आणविक कार्यक्रमलाई लिएर पटक पटक संयुक्त राष्ट्रसंघको नाकाबन्दीको सामना गर्दै आएको इरानसम्म कमै मात्र नेपाली रोजगारीका लागि पुग्छन्।

बन्जाडेले इरान समेत हेर्ने पाकिस्तानस्थित नेपाली दुतावासबाट पनि त्यहाँ रहेका नेपालीहरुको अवस्थाको बारेमा सोधखोज गरिएको बताए।

‘पाकिस्तानका लागि नेपाली राजदूतले अहिले अवस्था कस्तो छ। केहि सहयोगको आवश्यक छ कि भनेर सोधखोज गर्नुभएको थियो,’ बन्जाडेले भने, ‘हामी यहाँ सुरक्षित छौं कुनै चिन्ताको विषय छैन भनेर भन्यौं।’

NepaliinIraq111
शालिकराम बन्जाडे

सरकारले केहि दिनयता पश्चिम एशियामा बढ्दै गएको तनावलाई ध्यान दिँदै त्यस क्षेत्रमा रहेका नेपाली दूतावास र नेपालीहरुलाई एक अर्कोसँग सम्पर्कमा रहिरहन आग्रह गरेको छ।
अमेरिकाको आक्रमणमा इरानी जर्नेल मारिएपछि पश्चिम एशियामा तनाव बढेको हो। अमेरिका र इरानबीच बढेको विवाद अन्तर्राष्टिय चिन्ताको विषय बनेको छ। इरानले आफ्ना जर्नेलको हत्याको बदला लिने जनाएको छ भने अमेरिकी राष्ट्रपतिले इरानले प्रतिवाद गरे ठूलो आक्रमण गर्ने चेतावनी दोहोर्याइरहेका छन्।

तर बन्जाडेलाई युद्ध नै होला जस्तो लागेको छैन। ‘बाहिरबाट हेर्दा निकै तनाव छ जस्तो देखिन्छ। तर हामीलाई भने युद्ध नै होला जस्तो चाहिँ लागेको छैन,’ उनले भने। सोमबार राजधानी तेहरानमा अमेरिकी आक्रमणमा मारिएका जर्नेल कासिम सुलेमानीको शवयात्रा गरिएको थियो। ‘त्यसमा लाखौ मानिस सहभागी थिए। आज उनकै शहरमा लगिएको छ,’ उनले भने।

दोस्रो विश्वयुद्धपछि अमेरिकी सैनिक आक्रमणमा कुनैपनि प्रतिद्वन्द्वी राष्ट्रको सैनिक जर्नेल मारिएको यो पहिलो पटक भएको बताइएको छ। यसकै कारण पश्चिम एशियामा नयाँ चरणमा तनाव शुरु हुने धेरैले अनुमान गर्दै आएका छन्।

सुलेमानी इरानको इस्लामिक रेभोलस्नरी गार्डका बाह्य अंगका प्रमुख रहेका थिए। उनलाई पश्चिम एशियामा इरानको प्रभाव विस्तार गर्ने प्रमुख योजनाकारको रुपमा पनि मानिन्छ। उनको गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी हत्या गरिएको थियो।

अमेरिकी कदमको रुस, चीनले विरोध गरेका छन् भने धेरै देशले कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

अरब क्षेत्रमा रहेका नेपाली नागरिक र दूतावासहरुलाई आपसमा सम्पर्कमा रहिरहन सरकारको निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .