ad ad

समाज


डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

डढेलोले पाइप जलेपछि विद्यालयमा खानेपानी आपूर्ति बन्द

नेपालखबर
बैशाख ९, २०८० शनिबार २१:४६, काठमाडौँ

डढेलोले खानेपानीको पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ।

स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी आयोजनाको पाइप जलेपछि रातमाटे आधारभूत विद्यालयम खानेपानी आपूर्ति बन्द भएको हो।

भिरैभिर भएको ठाउँमा जमिनमा गाड्न सम्भव नभएपछि बाहिरै तन्काएर राखिएको करिब पाँच सय मिटर खानेपानीको पाइप डढेलोले जलेको अध्यक्ष राजन राईले जानकारी दिए। ‘प्यालाभिरबाट मुहानसम्मको खण्डमा पर्ने कतिपय पाइप जलेर टुक्राटुक्रा भएको र कतिपय पाइप पड्केर फुटेको छ। विद्यालयका लागि सञ्चालित खानेपानी आयोजनाको पाइप जलेपछि समस्या भएको छ’, उनले भने। 

‘वैशाख ६ गते सुरु भएको डढेलो वन क्षेत्र डढिसकेपछि आफैँ निभेको छ। स्थानीय र प्रहरीले बस्ती नजिक पुगेको डढेलो नियन्त्रण गरेर घर जोगाएका छन्।’

साविक दुर्छिम–३ छापडाँडा तेलाभिरमा डढेलोले छाडिसकिएको केही घर जलेको निवर्तमान वडासदस्य फलामसिं राईले बताएका छन्।

डढेलोले वनस्पति खसाप पारे पनि अहिलेसम्म मानवीय क्षति भने भएको छैन। यस्तै डढेलोले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित कात्तिके सामुदायिक वन सखाप बनाएको छ।

वैशाख ६ गते साँझदेखि सुरु भएको भीषण डढेलोले सामुदायिक वन सखाप बनाएको हो। 

हावाहुरीका कारण डढेलो नियन्त्रण गर्न नसकिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नृपबहादुर चौलागाईँले बताएका छन्।

वन क्षेत्र डढिसकेपछि धेरैजसो डढेलो आफैँ नियन्त्रणमा आएको जनाइएको छ। बाँकी रहेको डढेलो काभ्रेखोला पुगेपछि आफैँ नियन्त्रणमा आउने स्थानीय बासिन्दाले बताएका छन्।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश सामुदायिक वनमा डढेलो लागेको पाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .