समाज


२०८० साल सुरु, शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदै

२०८० साल सुरु, शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदै

नेपालखबर
बैशाख १, २०८० शुक्रबार ६:३५, काठमाडौँ

आज विक्रम संवत् दुई हजार असी (२०८०) वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ। 

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। 

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उहाँले भने। 

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्‌को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्‌मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो। 

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।

चन्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत ८ गते नै सुरु भइसकेको समितिले जनाएको छ। चैत ८ गते पिङ्गल नामको संवत्सर सुरु भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुमिरहेका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो। अहिले चलिरहेको पिङ्गल ५१औँ संवत्सर हो। यसअघि नल नामको संवत्सर रहेको थियो। प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .