ad ad

समाज


रुपन्देहीमा विद्यार्थी कुटेर शिक्षक भागे, खोजी गर्दै प्रहरी

रुपन्देहीमा विद्यार्थी कुटेर शिक्षक भागे, खोजी गर्दै प्रहरी

प्रकाश न्यौपाने
पुस २०, २०७६ आइतबार ८:३३,

रुपन्देहीको एक बोर्डिङ स्कूलमा शिक्षकको कुटपिटबाट विद्यार्थी गम्भीर घाइते भएका छन्। गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका हुन्।

जिल्लाको दक्षिण क्षेत्र मर्चवारको सम्मरीमाई गाउँपालिका–६, मा रहेको ज्ञानदीप बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी तौफिक धुनियालाई शिक्षक शैलेन्द्र बराईले निर्घात कुटपिट गरेको आफन्तले जनाएका छन्। शिक्षकको कुटपिटले घाइते विद्यार्थी धुनियाको बायाँतर्फको आँखामा गम्भीर चोट लागेको छ। उनको आँखा वरिपरिको भाग सुन्निएको र रगत जमेको छ।

गृहकार्य नगरेकै निहुँमा आफ्नो छोरामाथि निर्घात कुटपिट भए पछि परिवारका सदस्य आक्रोसित भएका छन्। घाइते विद्यार्थी धुनियालाई भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारपछि घर फर्काइएको बताइएको छ।

विद्यार्थी कुुटपिट गर्ने शिक्षक बराई फरार छन्। बुधबार भएको उक्त घटना शनिबारमात्र सार्वजनिक भएको थियो। विद्यार्थीलाई कुटपिट गरेकै दिनदेखि एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ। तर, विद्यालयका प्राचार्य सुरेन्द्र बराईले चिसोका कारण विद्यालय बन्द गरिएको जनाए छ। बाहिर आएजस्तो विद्यार्थीमाथि कुटपिट नभएको समेत उनले दावी गरे।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले विद्यार्थी कुट्ने शिक्षकको खोजी भइरहेको जानकारी दिए। उनले घटनाको बारे आफूहरुले अनुसन्धान गर्ने जनाए। अभिभावकले विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षकलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।

शिक्षा नियमावलीअनुसार शिक्षकले विद्यार्थी कुट्न मात्रै नभई कक्षामा उपस्थित हुँदा लठ्ठी लिएरसमेत प्रवेश गर्न पाइँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .