हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ।
केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँका सयौँ थला परेका छन्। सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिए।
मृतकका महिलाका श्रीमान् घरमा छैनन्। उनका एक छोरी र दुई छोरा छन्।
रुघाखोकीले गाउँका सबै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेका अहेव वीरसिंह रावलले जानकारी दिए।
रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सकेका छैनन्।
राया स्वास्थ्यचौकीमा यतिबेला ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेका छन्।
बिरामीको चाप बढेपछि स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन थालेको छ।
अहिले जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेको छ।
मंसिर अन्तिम साता परेको भारी हिमपातले मौसमी रुघाखोकी सुरु भएको हो। जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढेको छ। रुघाखोकीका बिरामीले अस्पतालको शैया भरिभराउ छन्।
प्रतिक्रिया