काठमाडौंपछि दाङमा पनि खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको छ।
तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा बिहीबार खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते भएका छन्।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशीष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ।
खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन्।
दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया