विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौंको कलंकीमा उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीको कमाण्डमा दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा १ सय भन्दा बढी सवारी साधन चेक गरिएको थियो।
सो क्रममा हेण्डब्रेक ठीक नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका २१ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो।
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाएको छ।
अवस्था ठीक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेक गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।
प्रतिक्रिया