ad ad

समाज


जसले एक सय दुई पटक रक्तदान गरे...

जसले एक सय दुई पटक रक्तदान गरे...

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार २१:२०, काठमाडौँ

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गरेका छन्। 

पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो।

जिल्लाभित्र र जिल्लाबाहिर गरेर अहिलेसम्म एक सय दुई पटक रक्तदान गरेको अधिकारीले बताए। पैँतालीस वर्षीय उहाँले रक्तदान गरेर पुण्य कमाउन सबैलाई आग्रह गरे।

जहाँ जहाँ कार्यक्रम हुन्छ त्यहीँ पुगेर रक्तदान गर्ने गरेको अधिकारीले बताए। ‘थाहा पाएसम्म सबै ठाउँमा पुगेर रगत दिन्छु, आफू बाँचेर अरुलाई पनि बचाउने यो पुण्य काम हो’, उनले भने, ‘तनहुँका अतिरिक्त नेपालका विभिन्न जिल्लामा मैले रक्तदान गरेको छु।’

उनले भारत र बैङ्ककसमेतमा रक्तदान गरेको जानकारी दिए। उनले नेपालका करिब २३ जिल्लामा रक्तदान गरेका छन्। ‘कम्तिमा तीन महिनामा एक पटक रक्तदान गरेर शरीर स्वस्थ राख्न सकिन्छ’, अधिकारीले भने, ‘यसै खेर जाने रगतले अरुको जीवन बच्छ।’

रक्तदान गर्न मिल्ने अवस्थासम्म आफूले रक्तदान गरिरहने उहाँले बताए। 

अधिकारीले एक सय आठ पटकसम्म रक्तदान गर्ने सङ्कल्प गरेका छन्। ‘एक सय आठ पटक पु¥याउने सङ्कल्प गरे पनि सकेको र दिन मिल्ने अवस्थासम्म रक्तदान गर्न छाड्दिनँ’, अधिकारीले भने। 

सोह्र वर्षको हुँदा उहाँको अचानक नाकबाट धेरै रगत बग्यो। चिकित्सकसँग परीक्षण गराउँदा ‘तपाईंको शरीरमा एकदमै धेरै रगत छ’ भनेर भनेको अधिकारी सम्झिए। ‘अब के गर्ने त डाक्टर साब?’, उनले प्रश्न गरे।

त्यसपछि डाक्टरले ‘तपाईंले बेलाबेलामा रक्तदान गर्नुस्’ भनेको उनलाई अझै याद छ।

त्यसको १५–२० दिनपछि उहाँले ठिमीस्थित महालक्ष्मी विद्यालयमा पहिलो पटक रक्तदान गरे। ‘सुरुमा रिङ्गटा लागेजस्तो भयो, पहिलो पटक भएर त्यस्तो भएको थाहा पाएँ’, उनले भने, ‘त्यसैदिन मैले एक सय आठ पटक रक्तदान गर्छु भनेर भगवान्सँग सङ्कल्प गरेँ।’

रक्तदान गर्दा अरुको जीवन बचाउन सकिने भएकाले रक्तदान गर्ने प्रण गरेको अधिकारी सुनाउँछन्। अधिकारीले १६ वर्षको उमेर हुँदा रक्तदान सुरु गरेका थिए। 

२२ पिन्ट रगत सङ्कलन
आठौँ राष्ट्रिय योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा २२ पिन्ट रगत सङ्कलन भएको छ। नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको योग गुरु अर्जुनकुमार श्रेष्ठले जानकारी दिए। 

नेपाल रेडक्रस सोसाइटी तनहुँका अध्यक्ष प्राडा कृष्णप्रसाद गौतमले दमौलीमा रगतको मागलाई पूरा गर्न आयोजित कार्यक्रम सकारात्मक रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .