आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर जहाजमै सवार थिए, ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल श्रेष्ठ।
श्रीमती र १० महिने काखे छोरासहित काठमाडौंको व्यस्त र कोलाहल दैनिकीबाट ‘रिफ्रेस’ हुन उनी बिदामा पोखरा हानिएका थिए।
हर्षोउल्लासका साथ माघे संक्रान्ति मनाउन उनीहरु विमान चढेका थिए। तर, १० महिनाको बच्चासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने उनीहरुको सपना सेतीको खोँचमा टुट्यो।
विमान दुर्घटनामा परेका ४ जनाको अझै पत्तो छैन। नागरिक उड्डयन प्राधिकरणका अनुसार ६८ जनाको शव निकालिएको छ। शवहरु डढेर चिन्नै नसकिने अवस्थामा छन्। तर डा. दम्पत्ति र उनीहरुको सन्तानको भने शव सनाखत भइसकेको छ।
हजारौं बिरामीका भाँच्चिएका हड्डी जोड्ने सपना बोकेका डा. श्रेष्ठको आफ्नै हड्डी चिन्न नसक्ने अवस्थामा जलेर नष्ट भएका छन्।
‘तीन जनाकै शव फेला परिसकेको छ,’ डा. श्रेष्ठका भिनाजु दिपेन्द्रमान श्रेष्ठले भने, ‘काठमाडौंबाट घर आउँदै थिए। दुर्घटनामा परे।’दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए श्रेष्ठ। पोखरा घुम्न जाने भएपछि उनले हिजो शनिबार पनि काम गरे।
त्यसपछि दुई दिनको बिदा स्वीकृत भएको थियो।
अस्पतालका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले दुई दिनको बिदा मागेको बताए।
ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलका अनुसार यतिबेला श्रेष्ठको परिवार सम्हालिन नसक्ने अवस्थामा छ। पौडेल श्रेष्ठका सानैदेखिका घनिष्ठ साथी हुन्।
उनीहरु दुवैको घर पनि पोखरा हो। दुवैले गण्डकी बोर्डिङ स्कुलबाटै एसएलसी दिएका थिए। ‘उनी सानैबाट निकै मिजासिलो र मेहनती थिए’, डा. पौडेल श्रेष्ठलाई सम्झन्छन्।
‘हामी दुबै जनाको घर पोखरा हो। सानैबाट चिन्थेँ,’ उनले भने ‘दुर्घटना भएको खबर सुनेपछि म भाइको घर गएको थिए बुबा मम्मीलाई सम्हालन सक्ने अवस्था छैन्।’
डा. श्रेष्ठलाई स्पाइनल सर्जरीमा निकै रुचि भएकाले ट्रमा सेन्टरमा ल्याउन उनले नै सहयोग गरेका थिए।
डा. पौडेले भने ‘म निःशुब्द छु। पोखरा आउँदा मैले अप्रेशन गरेका बिरामी सुशिललाई नै जिम्मा लगाएर आएको थिए। वर्षौंदेखि देखिरहेको र मेरै अन्डरमा रहेर निकै राम्रो काम गरेकोे भाइको यस्तो खबरले मलाई निकै विथोलेको छ।’
दुईजना मिलेर ट्रमा सेन्टरमा धेरै सर्जरी गरेका थिए। डा. श्रेष्ठ इमान्दार, सहयोगी र मिहेनती रहेको उनी बताउँछन्।
‘करिब ६ वर्ष जति भयो भाइसँग निकै नजिक भएको तर आजसम्म पनि उसले कसैको बारेमा नराम्रो भनेको सुनिएन, काममा मात्र फोकस हुने भएकाले छोटो समयमा निकै राम्रो पनि गरिसकेका थिए’ उनले भने।
उनी तीन वर्ष अघि डा. सेना दिवाकरसँग वैवाहिक जीवनमा बाँधिएका थिए।
एमडी पढ्नका लागि डा दिवाकर बिदामा थिइन्।
३८ वर्षीय डा. श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका छन्।
उनले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए।
प्रतिक्रिया