क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।
केन्द्रीय कारागार सुन्धाराबाट तारेख बुझ्न उनलाई शुक्रबार दिउँसो जिल्ला अदालत लगिएको थियो।
लामिछाने थुनामुक्त हुने प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा तारेख बुझेपछि कारागार नै फर्काइएको छ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार अब कारागारमा स्वास्थ्य परीक्षण प्रक्रिया पूरा गरिसकेपछि उनी रिहा हुनेछन्।
तर उच्च अदालत पाटनको आदेशअनुसार उनले प्रहरी प्रशासनको अनुमतिबिना काठमाडौं छाड्न पाउने छैनन्।
उनलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंले शुक्रबारै केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको थियो।
उच्च अदालत पाटनले मागेअनुसारको २० लाख धरौटी सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए। धरौटी बुझाएसँगै अदालतले कारागारलाई पत्र पठाएको थियो।
Shares

प्रतिक्रिया