ad ad

समाज


मालपोत र जनप्रतिनिधिलाई मिलाएर भारतीयले कब्जा गरे दुई विघा जमिन

मालपोत र जनप्रतिनिधिलाई मिलाएर भारतीयले कब्जा गरे दुई विघा जमिन

प्रकाश न्यौपाने
पुस ९, २०७६ बुधबार १०:५,

 गोरखपुर जिल्लाबाट नक्कली  ग्राम प्रधानपञ्चको प्रमाणपत्र, आधारकार्ड र मतदाता परिचय पत्र बनाएर एक भारतीय नागरिकले रुपन्देहीमा करिब २ विघा व्यक्तिको जमिन आफ्नो नाममा  बनाएर  बिक्री गरेको गरेका छन्।

रुपन्देहीको सियारी गाउँपालिका–२ मा कोहाँर (गौड) परिवारको नाममा रहेको १ विघा १९ कठ्ठा ५ धुर जमिन नक्कली कागजात बनाएर भारतीय नागरिक बुद्धिराम कोहाँरले आफ्नो नाममा बनाएर त्यहीका स्थानीय नागरिकलाई बिक्री गरिसकेको पाइएको हो।

उक्त जमिन सियारीका स्व.बेलर कोहाँरको नाममा रहेकाे थियो। बुद्धिरामले बेलरका कुनै छोराछोरी नभएको, आफू उनको सहोदर भाइ भएको र बुढेसकालमा आफूले रेखदेख गरेको दावीसहित भारतको आधार कार्ड, ग्राम प्रधानपञ्चको सिफारिस र निर्वाचन कार्यालयको मतदाता परिचय पत्र पेसगरी सियारी वडा नं. २ को वडा कार्यालयबाट जमिन नामसारीको सिफारिस लिएका छन्। 

बुद्धिरामले वडा कार्यालय र जिल्ला मालपोत कार्यालयमा पेस गरेको युपी ३९/१९०/०१०८०२२ नम्बरको निर्वाचन परिचय पत्र र २२४८१४१०२६५७ नं. को आधारकार्ड नक्कली भएको त्यहाँको कार्यालयले जनाइसकेको छ। ‘बुद्धिराम भन्ने व्यक्ति नै यहाँ छैन। उसले नेपालमा पेस गरेको भनिएको आधार कार्ड र निर्वाचन मतदाता परिचय पत्र अर्कैको नाममा छ’, गोरखपुर ग्रामसभा गोपलापुर ग्राम प्रधान ज्ञानमती देवीले भनिन्।

वडा कार्यालयले भने नक्कली कागजातकै आधारमा करोडौं मूल्य पर्ने व्यक्तिको जमिन भारतीय नागरिकको नाममा नामसारी गर्न सिफारिस गरेको छ। वडा कार्यालय र जमिन आफ्नो नाममा गराउने बुद्धिरामले बेलरका छोराछोरी कोही नभएको दावी गरे पनि उनको सन्जु कोहार भन्ने छोरी छन्। काेहाँरले  आफ्ना बुबाकाे २०६६ सालमा  आमा सन्तोदेवीको २०६५ मा निधन भएकाे जानकारी दिइन्। 'वडाले बद्मासी गरेर बुवाको नाममा रहेको जमिन भारतीय नागरिकको नाममा गराउन भूमिका खेलेको छ', सन्जुले भनिन्, 'यत्रो जमिन अरुको नाममा गराउन सहयोग गर्नेलाई कारबाही होस्। मलाई न्याय दिनुपर्छ।’ 

3_2.jpg

सन्जुको विवाह भइसकेको छ। उनी लुम्बिनी सांस्कृतिक नगरपालिका–१ की स्थायी बासिन्दा हुन्। उनको जन्मदर्तामा बुवाको नाम बेलर कोहाँर र ठेगाना सियारी छ। मालपोत कार्यालय रुपन्देहीको मिसिल नं. ५११ (ख)बाट २०७६ भदौ १९ मा बेलरको नामबाट भारतीय नागरिक बुद्धिरामको नाममा जमिन गएको छ। बुद्धिरामले ८ दिनपछि भदौ २७ गते लुम्बिनी सांस्कृतिक नपा–२ का शैलेन्द्रकुमार यादवलाई १७ कठ्ठा १३ धुर, ओमसतिया गापा–२ का सन्तोष यादवलाई ८ कठ्ठा १६ धुर, कोटहीमाई गापा–१ की कुमारी मल्लाहलाई ५ कठ्ठा १४ धुर र मायादेवी गापा–४ का लल्लु पाण्डेलाई ७ कठ्ठा गरी सबै जमिन बिक्री गरिसकेको मालपोतको रेकर्डमा देखिन्छ। सबै जमिन १ करोड ५४ लाख मूल्यांकन गरी मालपोतसमेत तिरेर बिक्री गरेको प्रमुख मालपोत अधिकृत कुमार आचार्यले बताए।

उनकाअनुसार बुद्धिरामले हकदावीको प्रमाण लिएर आएका थिए। वडा कार्यालयले नामसारीको सिफारिस गरेको छ। साथमा वडा मुचुल्का पनि थियो। बेलर, उनकी श्रीमती सन्तोदेवीको मृत्युदर्ता, सियारी २ बाट दाजुभाइ भन्ने नाता, चौकिल्ला, बुद्धिरामको फोटो टाँसेको मालपोतलाई किटानी सिफारिस र मालपोत तिरेको रसिद पनि थियो। ‘मालपोतले नासु राजु शर्मा र खरिदार अजितकुमार सहनीलाई सर्जमिन गर्न पठायो। उहाँहरुले वडाअध्यक्ष रामसिकन थारुको रोहवरमा सर्जमिन गरेर ल्याएको प्रमाणको आधारमा हामीले जमिन बुद्धिरामको नाममा नामसारी गरिदिएका हौं’, आचार्यले भने, ‘उसले आफ्नो नाममा गराएपछि अन्यलाई जमिन बिक्री गर्नु स्वभाविक हो।’

आचार्यले मुलुकी देवानी संहिता ऐन, २०७४ बमोजिम अस्थायी पूर्जा बन्ने व्यवस्थाबमोजिम वडाको सिफारिसका आधारमा जमिन नामसारी भएको बताए। जग्गाधनीका भाइ दयानाथ गौँड (कोहाँर) ले बुद्धिराम आफूहरुको दाजुभाइ नै नभएको दावी गरे। ‘ऊ को हो हामी चिन्दैनौं। जमिनको पुर्खौंदेखि मालपोत शुल्क तिर्दै आएका छौं। यो वर्ष शुल्क तिरेको सक्कल रसिद हामीसँग छ। हाम्रो सामूहिक परिवार थियो। दाइको मृत्युपछि पारिवारिक समस्याका कारण हामीले जमिन नामसारी गर्न केही ढिला भएको थियो। तर, एकाएक वडा अध्यक्षसहितको मिलेमतोमा हाम्रो जमिन भारतीय नागरिकले हडपे’, उनले भने, ‘वडाले मुचुल्का उठाउँदा र सर्जमिन गर्दा होटलमा बसेर बनाएको हो। त्यो गाउँमा गरिएको सर्जमिन होइन।’

IMG20191203124256.jpg

उनले अहिले खेतमा गहुँ पनि आफूहरुले छरेको जनाए। ‘भदौमा खरिद बिक्री भइसकेको जमिनमा किन खरिदकर्ता खेती गर्न आएका छैनन्? यसैले पनि प्रमाणित हुन्छ। बद्मासी भएको’, उनले भने। उनले आफ्ना दाजुको नाममा रहेको जमिनको सक्कल लालपूर्जा आफूहरुसँग भएको जनाए। ‘मृत्यु दर्ताको प्रमाण पनि हामीसितै छ। तर, वडाअध्यक्ष रामकिसनजीको हस्ताक्षर भएका विभिन्न नक्कली कागज बनाई भारतीय नागरिक बुद्धिराम कोहाँर खडा गरेर जमिन नामसारी गरिएको छ। वडा सदस्य बृज नारायण यादव र वडाअध्यक्षको रोहबरमा उक्त किर्ते काम भएको छ। हामीले न्याय पाउनुपर्छ’, उनले भने।

वडा अध्यक्ष थारुले वडामा गरिएको सर्जमिनअनुसार आफूले सिफारिस गरेको जनाए। उनले परिवारले रेखदेख नगरेपछि बेलरको भारतमा मृत्यु भएको र बुद्धिरामले नै पालनपोषण गरेको सर्जमिनबाट पुष्टि भएको दावी गरे। बुद्धिरामले पेस गरेका कागजात नक्कली रहेछन् नी भन्ने प्रश्नमा उनले भने, ‘हामीले यहाँ पेस गरेका कागजात हेर्ने हो। नक्कली र सक्कली छुट्याउन भारतमा बुझ्न जाने प्रचलन छैन।’ एकाएक आफूहरुको जमिन भारतीय व्यक्तिको नाममा गएको र बिक्रीसमेत गरिसकेको थाहा पाएपछि अहिले कोहाँर परिवार न्यायका लागि भौतारिएको छ।

गाउँपालिकाले अहिले उक्त जमिन रोक्का राखेको छ। ‘बेलरको नाममा रहेको जमिन बुद्धिराम कोहारको नाममा गएको र खरिदबिक्री समेत भएको भनेर बेलरका भाइ दयानाथ  र नाति विश्वनाथप्रसाद कोहारले छानबिन गरिपाऊँ भनेर गाउँपालिकामा निवेदन दिनुभएको थियो। उहाँहरुले दिएको कागजात अध्ययन गर्यौ। तीनपुस्ते विवरण मिलेपछि हामीले छानबिन सुरु गर्यौँ। वडा कार्यालयबाट फाइल झिकायौँ र जमिन रोक्का राखेका छौं’, सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले भने।

उक्त जमिनमध्ये ११ कठ्ठा ८ धुरको २०२६ साल भन्दा पहिला नै बेलरका नाममा पूर्जा थियो। पछि २०३६ सालमा कोहाँर परिवारले सामूहिकरुपमा मोती कोहाँरबाट १ विघा ७ कठ्ठा १७ धुर जमिन खरिद गरी बेलरको नाममा गराएको भाइ दयानाथको दावी छ। नक्कली भाइ खडा गरेर नक्कली कागजातसमेत बनाएर आफूहरुको जमिन नामसारी गरी बिक्री गर्ने बुद्धिराम र उनलाई सहयोग गर्ने जनप्रतिनिधि, लेखापढी व्यवसायी र स्थानीयलाई कारबाही हुनुपर्ने कोहाँर परिवारको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .