कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि यसविरुद्धको खोप ल्याइएको छैन। सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो।
कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।
कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो। अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ। यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण देखिएको छैन।
उनका अनुसार अन्तिमपटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ। त्यसयता सरकारले खोप ल्याइएको छैन।
‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन। माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं’, उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ।’
उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए। ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ’, उनले भने, ‘आवश्यकताअनुसार सम्झौता गरिएको खोप ल्याउँछौँ।’ सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ।
बुस्टर डोजका लागि ल्याइने
नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो। त्यसपछि पटकपटक गरी अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ। नेपालमा कोभिसिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ।
नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ। उनका अनुसार ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छन्। सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ। यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ।
सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ। नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ। यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन्। रासस
Shares

प्रतिक्रिया