यो विवाहको याम हो। विवाहमा हाम्रो समाजमा दाइजो दिने चलन कायमै छ। छोरीको शिक्षामा लगानी गर्नुको साटो दाइजोमा लगानी गर्ने अभिभावक अझै छन्।
छोरी पढाएमा सक्षम हुन्छिन् भन्ने बुझेर पनि समाजमा दाइजो टन्न दिएमा समाजमा इज्जत बढ्छ ठान्नेहरु उत्तिक्कै छन्।
शिक्षा दिएर आत्मनिर्भर भइसकेपछि विवाह गरिदिएमा छोरीको भविष्य सुरक्षित हुने भएकाले कैलालीका छोरीहरुले शिक्षा आर्जनमा लगानी गरिदिन अभिभावकलाई आग्रह गर्दैआएका छन्।
टीकापुरकी रेखा परियारलाई आफूलाई विवाहमा गरिने खर्च शिक्षामा लगानी गरिदिउन भन्ने लाग्छ। रेखाले अभिभावकलाई शिक्षामा लगानी गरिदिनुस्, दाइजो दिनुपर्दैन भन्दै आएकी छन्। उनको परिवार पनि यो कुरामा सहमत छ।
‘म अहिले १२ कक्षा पढ्दैछु। मैले मेरो अभिभावकलाई मलाई सकेजति शिक्षामा लगानी गरिदिनुस्, मलाई पछि विवाह गर्दा केही दिनुपर्दैन भनेकी छु’, भनिन्, ‘बुबाआमा सहमत हुनुहुन्छ, उहाँहरुले पनि तिमी पढ, हामी लगानी गर्छौं भन्नुभएको छ।’ रेखा आफू पढेलेखेर सक्षम भएमा भोलि आर्थिक समस्या झेल्नु पर्दैन भन्ने ठान्छिन्।
अहिले पनि अभिभावक छोरीलाई उच्च शिक्षाभन्दा विवाहमा बढी खर्च गर्नमै रुमल्लिएका पाइन्छन्, कैलालीकै सुविना साउँद अहिले स्नातक पढ्दै छिन्। उनलाई इञ्जिनियर बन्ने धोको थियो । सुविनाले अभिभावकसँग यसका लागि लगानी गरिदिनुस् भन्दा अभिभावक सहमत भएनन्।
‘अभिभावकले घरबाहिर गएर बस्दा जोखिम हुन्छ, पढाइमा धेरै लगानी गर्न सकिँदैन भन्न थाले’, उनले भनिन्, ‘भाइ कृषि प्राविधिक पढिरहेको छ, तर ममाथि लगानी गरिएन, अहिले घर नजिकैको क्याम्पसमा स्वास्थ्य विषयमा अध्ययन गरिरहेकी छु।’
टीकापुरको सत्तीकी उषा ढुङ्गाना पनि बीबीएस प्रथम वर्षमा अध्ययनरत छिन्। उनलाई पनि समाजमा विवाहका समयमा छोरीलाई फर्निचर, सुन चाँदीलगायतका सामान दिएमा सुख हुन्छ भन्ने मान्यता गलत लाग्छ। छोरी सक्षम भए पो जीवन सहज हुने भएकाले शिक्षामा जोड दिनु आवश्यक भएको उनको बुझाई छ।
‘मलाई पढेर सक्षम, जागिरे भइसकेपछि विवाह गर्नुछ। मलाई आफू आत्मनिर्भर नभई विवाह गर्नुछैन’, उनले भनिन्, ‘मेरो परिवारले मलाई र मेरो भाइलाई शिक्षामा विभेद गर्नुभएको छैन । बराबरी शिक्षा पाइरहेका छौँ। हामी सक्षम भएमा विवाहपछि किन सम्पत्ति चाहियो?’
अभिभावकले दिएको दाइजो टुटेर फुटेर र नगद दिएको रकम खर्च भएर सकिन्छ । तर दिएको शिक्षापछि भएको आत्मर्निभर र सशक्तीकरणलाई कसैले रोक्न सक्दैन। त्यसैले यो समयमा दाइजो दिनुभन्दा छोरीलाई पढाएर, आत्मनिर्भर बनाएर बरु ढिला विवाह गरिदिन उत्तम हुने शिक्षाप्रेमी तथा नागरिक समाजका संयोजक भीमराम चपाइँले बताए।
‘दाइजोबारे भएका गलत अभ्यास विस्तारै हट्दैछन्। अब छोरी पढाउनुपर्छ भन्नेमा अभिभावक पनि सचेत बन्दैछन्’, उनले भने, ‘तर विवाहमा फर्निचर, सुनचाँदी, नगद दिने चलन अझै व्याप्त छ । यो विस्तारै हट्नुपर्छ । यसले हिंसा बढाउनुका साथै छोराछोरीबीचको विभेद बढाएको छ।’
अधिकारकर्मी निर्मला कडायत यस्ता व्यवहार सुधार्न सबैभन्दा बढी अभिभावक नै जिम्मेवार बन्नुपर्ने बताउछन्। ‘टन्न दाइजो दिएर छिमेकी हेर्छन्, समाजमा इज्जत बढ्छ, विवाहपछि गएको घरमा छोरी सुरक्षित हुन्छे ठान्नु गलत हो’, उनले भन,े ‘त्यो दाइजोले हिंसा बढाएको छ। पढेलेखेकी जागिरे छोरी भएमा त्यस्ता सरसामान आफैँ जुटाउन सक्ने भएकाले पढाइमा, सीप विकासमा र नेतृत्व विकासमा लगानी गरिदिनुपर्छ।’
शिक्षिका पुष्पा बम आफूहरुले कक्षाकोठामा दाइजोभन्दा शिक्षामा जोड दिनुपर्छ भनेर बालबालिकालाई सचेत गराउँदै आएको बताउछिन्।
‘शिक्षामा लगानी नगर्दा छोरीहरु सक्षम हुँदैनन्। दाइजोका कारण छोरीहरु थप हिंसामा पर्ने भएकाले सबै सचेत बन्नुपर्छ, कक्षामा छलफल गर्ने गरेका र्छौं’, उनले भनिन्, ‘छोरीलाई प्राविधिक शिक्षा, छोरी आत्मनिर्भर बनाउने, स्वरोजगार बनाउनतर्फ ध्यान दिऔंँ।’ रासस
प्रतिक्रिया