समाज


पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह

पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट गर्न गैर आवासीय नेपाली संघको आग्रह

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार २१:४८, काठमाडौँ

गैर आवासीय नेपाली संघले नेपालमा पर्यटक भित्र्याउनका लागि पर्यटन क्षेत्रको प्रचार डिजिटल माध्यमबाट विभिन्न देशको भाषामा बनाउन आग्रह गरेको छ।

सोमवार काठमाडौंमा नेपालको पर्यटन क्षेत्रको विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गर्दै संघले नेपाल टुरिजम बोर्डलाई यस्तो आग्रह गरेको हो।

संघले अबको युग डिजिटल युग भएकाले नेपालको पर्यटन क्षेत्रको प्रचार पुरानो शैलीमा नभएर नेपालको समग्र पर्यटन क्षेत्रको जानकारी दिनेगरी छोटो भिडिओ बनाएर प्रचार गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले नेपालको पर्यटन क्षेत्रको प्रचार अब डिजिटल माध्यमबाट गर्नुपर्ने बताए। उनले नेपालको पर्यटन क्षेत्रको प्रचार भिडिओ बाहिर देशको भाषामा नै बनाएर प्रचार गर्दा प्रभावकारी हुने बताउँदै त्यसको लागि संघ बोर्डसँग सहकार्य गर्न तयार रहेको बताए।

सापकोटाले गैर आवासीय नेपालीहरु नेपालमा आउँदा नेपाली एयरलाइन्सहरु र होटलहरुमा नेपालीहरु सरहको भाडा कायम गर्न माग गरे। उनले नेपालमा होटल तथा अन्य पर्यटन क्षेत्रमा लगानी गर्ने सहज वातावरण भए लगानी गर्न तयार रहेको बताए।

त्यस्तै कार्यक्रममा होटल एशोसिएशन नेपालका उपाध्यक्ष विनायक साहले पछिल्लो समय नेपाली पर्यटन क्षेत्र बिस्तारै लयमा आउन लागेको बताए। उनले नेपाली पर्यटन व्यवसायीहरुको अनुभव र क्षमता देखाउने समय आएको बताए। उपाध्यक्ष शाहले गैर आवासीय नेपाली संघले नेपाल हरेक कुराले नरमल भएको प्रचार गर्नुपर्ने बताए।

उनले अहिले कोभिड पछि विदेशी पर्यटक कम आउने गरेको र त्यसमा पनि नेपालको प्याकेजमा अन्य देशहरुसँग प्रतिष्पर्धा गर्नुपरेको बताए। उनले हान नेपाली पर्यटन क्षेत्रको विकास र बिस्तारको लागि गैर आवासीय नेपाली संघसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए।

त्यस्तै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीले प्रतिष्ठानले नेपाली खाना खाएर नेपालमा नै होटल व्यवस्थापन पढाउने योजनाका साथ सातै प्रदेशमा शाखा बिस्तार गर्ने भौतिकपूर्वाधार बनाउन सहयोग माग गरे। उनले प्रतिष्ठानलाई सरकार तथा अन्य कतैबाट सहयोग नभएको गुनासो गरे।

उनले त्रिभुवन विश्व विद्यालयले बिएचएमको कोर्ष समेत नदिएर काठमाडौं विश्व विद्यालयसँग र्भखरै सम्झौता भएको बताए। उनले पछिल्लो समय कुनैपनि सम्भाव्यता बिना क्याम्पस खोल्न दिने गरेको दाबी गरे।

कार्यकारी निर्देशक उप्रेतीले प्रतिष्ठानमा पढ्ने विद्यार्थीहरुलाई इन्टर्नको लागि आफ्नै मन्त्रालय अन्तर्गतको नेपाल वायुसेवा निगममा राखिदिन बारम्बार आग्रह गर्दा समेत नराखिएको गुनासो गरे। उनले मन्त्रालय, निगम र विश्व विद्यालयलाई समेत चाकरी गरेर प्रथिष्ठान चलाउन नसकिने बताए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .