शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताएका छन्।
मंगलबार बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, शिक्षक र विद्यार्थीलाई मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। सो माविमा कृषि विषयको पठनपाठनका लागि मन्त्री पोखरेलकै सिफारिसमा संसदीय विकास कोषबाट रु ७० लाखको लागतमा नयाँ भवन बन्दैछ।
स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीसँगको कुराकानीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार नगरिएसम्म आम जनताका छोराछोरीले रोजगारमूलक गुणस्तरीय शिक्षा पाउन नसक्ने बताए। अहिले १० वर्षे विद्यालय सुधारको कार्यक्रम नै बनाएर सरकार अघि बढेको मन्त्री पोखरेलले जानकारी दिए।
मन्त्री पोखरेलले नयाँ भवनमा कृषि शिक्षासम्बन्धी प्रयोगशाला रहने बताए। विद्यालय सुधार कार्यक्रमअनुसार नै अब कक्षा ८ सम्मका पाठ्यपुस्तक रंगिन बनाउन लागिएको उनको भनाइ थियो। आठ कोठे दुईतले भवन निर्माण भएपछि आउने शैक्षिक सत्र २०७७ को पठनपाठन नयाँ भवनमा शुरु गरिने विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिए। रासस

प्रतिक्रिया