चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै २०औं अनशनमा रहेका डा. गोविन्द केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन बृहत् नागरिक आन्दोलनले आज (शनिबार) काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। यसका लागि दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुन उसले पेसाकर्मी, परिवर्तनकामी शक्ति र नागरिकलाई अपिल गरेको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका सातबुँदे माग राख्दै डा. केसीले २०औं अनशन थालेको आज १३औं दिन पुगेको छ। कैलालीको धनगढी पुगेर अनशनमा बसेका उनी बिरामी भएपछि ३ दिनदेखि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। बृहत् नागरिक आन्दोलनले भनेको छ, ‘उनको स्वास्थ्य अवस्था जटिल रहेकोले सरकार यथाशीघ्र संवेदशील र उत्तरदायी हुन जरुरी छ।’
२०६१ सालयता चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार गर्न विभिन्न समयमा बनेका सरकारले डा. गोविन्द केसीसँग बारम्बार सहमति गरे तर कुनै पनि सरकारले चिकित्सा शिक्षा र सेवामा व्यापक सुधार गर्दै ग्रामीण जनता तथा विपन्न वर्गको पहुँच सहज बनाउने कार्यलाई प्रथामिकता नदिएको बृहत् नागरिक आन्दोलनले उल्लेख गरेको छ।
डा. केसीले गरेको सत्याग्रहकै कारण सरकारले सामान्य सुधारका केही काम गरे पनि आफ्नै सहमतिप्रति राज्य उत्तरदायी नबनेको टिप्पणी नागरिक आन्दोलनले गरेको छ। उसले विज्ञप्तिमार्फत भनेको छ, ‘उल्टै स्वास्थ्य क्षेत्रको पूर्वाधार र सेवामा भद्दा निजीकरण मौलाइरह्यो, सार्वजनिक संस्थाहरू नियोजित रूपमा गुणस्तरहीन र धराशायी बनाउने काम भइरह्यो।’
अब उनीसँग सहमति गर्दा आश्वासनमा मात्र सीमित नगर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
हेर्नुहाेस् विज्ञप्ति
प्रतिक्रिया