समाज


धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औँ सत्याग्रह

यस्ता छन् ६ वटा माग
धनगढी पुगेर डा. गोविन्द केसीले सुरु गरे २० औँ सत्याग्रह

नेपालखबर
भदौ २७, २०७९ सोमबार १८:४३, काठमाडौँ

प्राध्यापक डाक्टर गोविन्द केसीले धनगढी पुगेर २०औँ सत्याग्रह सुरु गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि अभियान चलाउँदै आएका उनले धनगढीको एलएन चोकस्थित कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका हुन्।

उनले सत्याग्रह सुरु गर्दै सरकारसमक्ष ६ बुँदे माग पनि अघि सारेका छन्। केसीले यसअघि आफ्ना माग पूरा गर्न सरकारलाई भदौ २८ सम्मको अल्टिमेटम दिएका थिए। 

तर, आफ्ना मागबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै जवाफ नदिएपछि उनकै गृह प्रदेशमा सत्याग्रह गर्न पुगेका हुन्। 

‘प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह थालेपछि सम्बोधन हुने विश्वास लिएको छु’, केसीले पत्रकारहरुलाई भने। 

सत्याग्रहभर पानी मात्रै पिउने केसीले बताए। उनले आफ्नो सत्याग्रहस्थलमा सीसीटीभी जडान गर्न पनि आग्रह गरेका छन्। 

के के छन् माग? 
१. तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्। 

जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्। संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।

सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरु आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्। स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्। देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।

२. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस्। आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गरियोस्। 

विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन्। यस अगाडि हामीसित सम्झौता भएबमोजिम इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाइयोस्।

३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस्।

४. प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरियोस्। भागबण्डाका आधारमा अनियमिततापूर्वक हालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका नियुक्ति तत्काल सच्याइयोस्। प्रतिष्ठानका उपकुलपति लगायतका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरी कारबाही गरियोस्।

५. चिकित्सा शिक्षा ऐन बमोजिम वि.सं. २०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैरनाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गरियोस्। मापदण्ड नपुगेका नर्सिङ कलेजमा भर्ना खुलाउन चिकित्सा शिक्षा ऐनमा गर्न लागिएको नाजायज संशोधन प्रयास तत्काल बन्द गरियोस्।

६. जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल पनि पर्दछ। डिजेल र पेट्रोल गाडीका कारण तेल आयातमा देशको खर्बौं रुपैया बाहिरी रहेको अवस्था छ। तसर्थ  विद्युतीय गाडीको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकतासाथ अविलम्ब कानुनी व्यवस्था गरियोस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .