ad ad

समाज


‘केमिकल ड्रग’ मा चिनियाँ जालो

‘केमिकल ड्रग’ मा चिनियाँ जालो

दीपक खरेल
मंसिर २२, २०७६ आइतबार १३:२७,

लागूऔषध नियन्त्रण ब्युरोले चिनियाँ नागरिक जाङ चाओलाई ४ किलो २ सय ग्राम ईफेड्रिनसहित पक्राउ गर्याे। उनबाट बरामद भएको रसायन आफैमा लागूऔषध होइन। तर यही रसायनको मिश्रणबाट एम्फेटामाईन, आईस र यावा जस्ता कडा लागूऔषध बनाइन्छ।

चिनियाँ युवा जाङले काठमाडौंको एउटा कार्गोबाट बरामद गरिएको रसायन न्युजिल्याण्ड पठाउदैं थिए। ब्युरोका अनुसार उनले निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम (नक्कली तलुवा) बनाएर रसायन न्युजिल्याण्ड पठाउदै थिए।

जाङले बरामद ईफेड्रिन चीनमा २ लाख २५ हजार नेपाली रुपैयाँमा खरिद गरेर सोहि रसायन न्युजिल्यान्डमा ५० लाख रुपैयाँमा विक्री गर्न लागेको प्रारम्भिक बयान दिएका छन्। तर उनले चीनबाट कसरी भित्र्याए? नेपाल भित्र्याउने क्रममा प्रहरी चेकजाँच किन भएन भन्ने बिषय खुलेको छैन।

व्युराेका अनुसार बरामद रसायन नेपालमा संचालनमा रहेका औषधी उत्पादकहरुले औषधी व्यवस्था विभागको अनुमति सहित निश्चित प्रक्रिया पुरा गरेर युरोपबाट आयात गर्छन्। यसरी औषधी उद्योगले ल्याउने गरेको ईफेड्रिन र स्युडोफेड्रिन नै शुक्रबार बरामद भएको हो।

drugs111२०७० मा तीन चिनियाँबाट बरामद चक्किहरू।

‘कुनै औषधी उद्योगले नेपाल आयात गरेको रसायन बाहिरिएर तस्करी भएको आशंका छ,’ ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने। ‘हामी अनुसन्धान गरिरहेका छौं।’ उनका अनुसार यसअघि पनि यसरी नै औषधीका लागि भनेर भित्र्याएको रसायन तस्करको पहुँचसम्म पुगेको थियो।

६ वर्षदेखि विदेशबाट रसायन भित्र्याउने, विदेशै पठाउने

नेपालमा औषधी उत्पादनका लागि सरकारी औपचारिकता पुरा गरेर भित्रने कच्चा पदार्थको अवैध तस्करी भइरहेको तथ्य २०७३ साउन १२ मा सार्वजनिक भयो। घटनामा नेपालको व्यवसायिक घराना संघाई समुहको प्रत्यक्ष संलग्नता भेटियो।

ब्युरो (एनसीबी) ले काठमाडौं, पाटन, बारा, पर्सा र रौतहटमा छापा मार्दा करिब ५ सय किलोभन्दा बढि लागुऔषधको कच्चा पदार्थ ईफेड्रिन र स्युडोफेड्रिन सहित ४ जनालाई पक्राउ गर्यो। अन्य चारजना फरार भए।

व्यूराेले संघाई समुहका रतनलाल संघाई पक्राउ गरेको थियो। व्युरोका अनुसार संघाई समुहका पवनकुमार संघाई सहित उनका व्यवसायिक साझेदार शंकर हलान, मनिष अग्रवाल र रोहित हलान त्यतिबेला फरार भएका थिए।

त्यतिबेला औषधी ब्यवस्था विभागको तथ्याँकमा आवश्यकताभन्दा दशौं गुणा बढि सहायक रसायन र औषधीजन्य कच्चा पदार्थ नेपाल भित्रिएको खुलेको थियो । विभागको तथ्याँक अनुसार सन २०१० यता निरन्तर ईफेड्रिन र स्युडोफेड्रिन आवश्यकता र मागभन्दा दसौं गुणा बढि नेपाल भित्रिएको प्रहरीले जनाएको थियो।

व्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेपछि अनुसन्धान शुरु गरेको थियो।

घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्य फार्मा ल्याब प्रालिमा काम गर्ने भारतीय नागरिक दिलिप पण्डित पक्राउ परेपछि अनुसन्धान सुरु भएको थियो। अनुसन्धानमा संघाई ग्रुपले युरोपबाट नेपाल भित्र्याएको रसायन चिनियाँ तस्करहरुलाई अवैध रुपमा बिक्री गर्ने गरेको खुलेको थियो।

यो घटनाअघि २०७० मा नेपालबाट बाहिरीदैं गरेको १५ किलो स्युडोफेड्रिनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोले २०७० कार्तिक ६ गते तीनजना चिनियाँ नागरिकलाई यस्तै प्रकारको लागुऔषध सहित पक्राउ गरेको थियो।

व्युरोले विमानस्थल नजिकबाट २४ वटा प्याकेटमा रहेको अवस्थामा १५ किलोग्राम लागुऔषध सहित पक्राउ परेका तीनैजना चिनियाँ नागरिकलाई थप कारवाहीका लागि लागुऔषध नियन्त्रण व्युरोमा बुझाएको थियो।

हङकङ लैजान तयारी अवस्थामा रहेको उक्त लागुऔषध सहित पक्राउ परेका तीनैजना चिनियाँलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको थियो।

तीनैजना सोही दिन हङकङ उडेका थिए। अदालतका तत्कालिन अतिरिक्त न्यायाधीश मोहम्द जुनैद आँजादले गरेको निर्णयले चिनियाँ नागरिक याङ चेङक्वान, याङ मोचाङ र झेङ जु मिन चीन फर्केका थिए। चीनको फुजीआनका नागरिक तीनैजना लामो समयदेखि हङकङमा बसेर लागुऔषध कारोबारमा सक्रिय रहेको अनुसन्धानमा खुलेको थियो।

के हो ईफेड्रिन र स्युडोफेड्रिन ?

घटनाको अनुसन्धान गरिरहेका व्युरोका अधिकारीका अनुसार करिब ३० लाख ईफेड्रिन र स्युडोफेड्रिनका खुला चक्की र धुलो प्रहरीले बरामद गरिसकेको छ।

ती अधिकारीका अनुसार एउटा चक्कीमा ६० मिलिग्राम स्युडोफेड्रिन हुन्छ। यसरी ३० लाख चक्कीमा जम्मा हुने १ सय ७८ किलोग्रामबाट करिब ७८ किलोग्राम अब्बल दर्जाको एम्फेटामाईन र मेथाफेटामाईन बन्छ।

त्यसको बजार मुल्य एक किलोग्राम बराबर २ लाख ६० हजार अष्टे«लियन डलर पर्छ। यसरी प्रशोधन गरिएको स्युडोफेड्रिनमा ४० प्रतिशतसम्म एम्फेटामाईन र मेथाफेटामाईन निस्कन्छ।

विभागका अनुसार सन २०१० मा १ हजार ७ सय २५ किलोग्राम स्युडोफेड्रिन भित्रिएकोमा २०१६ जुनसम्म यसको परिमाण ३ हजार १ सय ५१ किलोग्राम पुगेको थियो।

विभागका अनुसार सन २०१२ मा सबैभन्दा बढि ६ हजार १ सय २५ किलोग्राम स्युडोफेड्रिन नेपाल आयात भएको थियो । विभागले नेपालमा स्युडोफेड्रिन अन्तराष्ट्रिय स्तरमा तस्करीकै लागि भित्रने आशंका धेरै अघि भएपनि बिस्तृत अनुसन्धान हुन नसकेको जनाएको छ।

विभागका अनुसार पचासको हाराहारीमा रहेका औषधी उद्योगका लागि बर्षमा अति न्यून स्युडोफेड्रिन र ईफेड्रिन आवश्यक रहेपनि दसौंगुणा बढि भित्रदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .