ad ad

समाज


प्रेमीबाट राधिकालाई करेन्ट लगाएर हत्या प्रयास प्रकरण : धनुषा प्रहरीमा जाहेरी

प्रेमीबाट राधिकालाई करेन्ट लगाएर हत्या प्रयास प्रकरण : धनुषा प्रहरीमा जाहेरी

शैलेन्द्र महतो
असार ५, २०७९ आइतबार २२:२, जनकपुरधाम

जनकपुरमा राधिका कार्कीलाई प्रेमीले करेन्ट लगाएर गरेको हत्या प्रयास घटनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ।

पीडित राधिकाकी आमा सिन्धुलीको गोलञ्जर गाउँपालिका वडा नं. २ बस्ने अम्बिका कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी हुन्। पीडकको नाम नराखी जाहेरी दिएकोले दोषीलाई पत्ता लगाई दर्ता गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। 

‘राधिकाकी आमाले आइतबार जाहेरी दिनुभएको छ। नाम किटान गर्नु भएको छैन। हामी गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं। दोषी पत्ता लागेपछि जाहेरी दर्ता गर्छौं’ डिएसपी क्षेत्रीले नेपालखबरसँग भने। 

गत जेठ १६ गते साँझ प्रेमी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका बस्ने २८ वर्षीय अरुणकुमार साहले प्रेमिका राधिकाको चारै हातखुट्टा र पेटमा करेन्ट लगाएर हत्या प्रयास गरेका थिए।

प्रेम विवाह गरेर आठ महिनादेखि जनकपुरधामको थापाचोकमा दुवै जना सँगै बस्दै आएका थिए। सो दिन राधिकाले वाचा गरे अनुसार घर लग्न भनेपछि विवाद भएको थियो। त्यसपछि अरुणले हातखुट्टामा करेन्ट लगाएर हत्या प्रयास गरेको पीडित राधिकाले बताइन्। 

करेन्ट लगाएपछि गम्भीर घाइते राधिकालाई धनुषा प्रहरीले उद्धार गरेर प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएको थियो। प्रादेशिक अस्पतालको सर्जिकल वार्डको बेड नं १४० मा भर्ना भएकी राधिकाको १० दिनपछि होस आएको थियो। उनको वेवारिसे अवस्थामा उपचार भइरहेको थियो।

कुरुवा आफन्त नहुँदा अस्पतालकै चिकित्सक, स्वास्थ्यकर्मी र सेक्युरेटी गार्ड राधिकाको उपचार तथा हेरविचार गर्दै आएका छन्। राधिकाको हात  खुट्टाको केही औंला काम नलाग्ने अवस्थामा छ।   

होस आएपछि सो घटना उनकै वक्तव्य अनुसार नेपालखबरले सबभन्दा पहिला समाचार सार्वजनिक गरेपछि धनुषा प्रहरीले गम्भीर रुपमा लिएको छ। 

‘सुरुमा हामीले नै उनलाई उद्धार गरेर उपचारको लागि अस्पताल भर्ना गर्यौं। राधिका होसमा आएर बोल्न थालेपछि धेरै कुरा थाहा भयो। घटनालाई गम्भीर रुपमा लिएका छौं। चाँडै दोषी पत्ता लगाएर कारबाही गर्छौं’  डिएसपी क्षेत्रीले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .