ad ad

समाज


पद जाने थाहा पाएपछि मेसु यादवले गरे करोडौंको अनियमित भुक्तानी

पद जाने थाहा पाएपछि मेसु यादवले गरे करोडौंको अनियमित भुक्तानी

शैलेन्द्र महतो
चैत २५, २०७८ शुक्रबार १८:५८, जकपुरधाम

जनकपुरधाम प्रादेशिक अस्पतालमा औषधि तथा उपकरण खरिदमा अनियमितता भएको पाइएको छ।

निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रमोद यादव पदमुक्त हुनु २/३ दिनपूर्व नै विगतमा खरिद भएको औषधि, स्वास्थ्य उपकरण लगायतका सामानको बाँकी बक्यौता झण्डै ८ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

बजार भाउभन्दा बढी मूल्यको समान खरिद गर्नुका साथै फर्जी बिलसमेत खडा गरी रकम भुक्तानी गरिएको स्रोतको दावी छ।

प्रादेशिक अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा गइसकेको छ। प्रादेशिक अस्पताल हस्तान्तरणसहित मेसुबाट पदमुक्त गर्न समाजिक विकास मन्त्रालयले यादवलाई गत चैत ६ गते पत्र लेखेको थियो।

उनले मन्त्रालयबाट पदमुक्त हुन पत्र आउने सुइँको पाएपछि विभिन्न कारणले लामो समयदेखि स्थगनमा परेका औषधि, उपकरण लगायत सरसामान खरिदका ७ करोड ९४ लाख ३५ हजार ६४४ रुपैयाँ भुक्तानी गरेको पाइएको छ।  

जसमा बजारमा पाइने भन्दा चार गुणा बढी मूल्यमा खरिद गरिएको समानको भुक्तानी फाइल एक वर्षदेखि अड्केको थियो। केही खरिद नै नभएका समानको पनि फर्जी बिल खडा गरेर लाखौं रुपैयाँ भुक्तानी गरेको समेत खुलेको छ।

कार्यालय स्रोतका अनुसार काठमाडौंको गुगल सर्जिकललाई शव राख्ने झोला र अन्य औषधि उपकरण खरिद बापत अस्पतालले झण्डै ४० लाख रुपैयाँ भुक्तानी गरेको छ।

स्टोर शाखाका कर्मचारी धिरेन्द्र मण्डलका अनुसार गत वर्ष कोभिड–१९ को दोश्रो लहरमा अढाई सय वटा शव राख्ने झोला अस्पतालले खरिद गरेको थियो। बजारमा १ हजारमा पाइने सो झोला अस्पतालले सोझै खरिद गरेको थियो।

कर्मचारी स्रोतका अनुसार बजारमा एक हजारको दरमा पाइने शव राख्ने झोला गुगल सर्जिकलबाट ४ हजारदेखि ४७ सयसम्मका दरले खरिद गरिएको छ। झोलासँगै औषधि उपकरण गरी झण्डै ६० लाखको बिल पेश गरिएको थियो।

वास्तविक मूल्यभन्दा बढी दरमा खरिद गरिएको बिल पेश गरेपछि गुगल सर्जिकललाई भुक्तानी गर्न मेसु यादवले इन्कार गर्दै आएका थिए। तर पदमुक्त गर्न लागेको सुइँको पाउनसाथ उनले सो भुक्तानी गरेका हुन्। 

‘पदमुक्त हुने बेलामा रातारात मोटो कमिसनको सेटिङमा गुगल सर्जिकलको झण्डै ४० लाख रुपैयाँ भुक्तानी गरेका छन्’ ती कर्मचारीले नाम नखुलाउने शर्तमा भने। 

अस्पतालका तत्कालिन स्टोर प्रमुख धिरेन्द्र मण्डलले कोभिडको बेला अढाई सय शव राख्ने झोला र अन्य औषधि उपकरण  गरी गुगल सर्जिकलबाट ३७ लाख बराबरको खरिद भएको बताए।

उनले कोभिडको बेलामा शव झोलाको मूल्य ४ हजारदेखि माथि नै रहेको बताए। तर, अहिले बजारमा झोला अनुसार १५ सयसम्म समेत पाउने गरेको मण्डलको भनाइ छ।

निवर्तमान मेसु यादवले कोभिडको दोश्रो लहरको बेला गुगल सर्जिकलबाट झोला लगायत औषधि खरिद गरिएकाले सोही बमोजिम भुक्तानी गरेको दावी गरे।

‘अहिले र त्यति बेला झोलाको मूल्यमा धेरै अन्तर छ। अहिले दुई रुपैयाँमा पाइने मास्क त्यति बेला २० रुपैयाँमा आउँथ्यो। त्यसमा मैले कुनै चलखेल गरेको छैन’ उनले भने।

यस्तै जनकपुर सर्जिकलबाट समान नै नलिइ कोटेसनमा औषधि खरिद गरेर १० लाखको बिल लिएर भुक्तानी गरेको पनि अस्पतालकै ती कर्मचारीले बताए। पछि औषधि लिने भन्दै पहिला नै १० लाख रुपैयाँ सो सर्जिकलको नाममा भुक्तानी गरेको अस्पताल स्रोतको भनाइ छ।

सो सर्जिकलका सञ्चालक भैरव राउत भने प्रादेशिक अस्पतालकै हालको स्टोर प्रमुख हुन्। राउतसँग यो विषयमा बुझ्न खोज्दा आफ्नी श्रीमतीको नाममा जनकपुर सर्जिकल रहेको स्वीकारे। त्यसबाट मात्र ३।४ लाखको औषधि खरिद भएको जवाफ दिए। 

झण्डै १० लाख रुपैयाँ कसरी भुक्तानी लिनु भयो? भन्ने प्रश्नमा उनले भने,  ‘एकवर्ष अघि नै औषधि खरिद गरिएको थियो त्यसकै भुक्तानी दिइएको हो।’

मेसु यादवले भने जनकपुर सर्जिकल र स्टोरकिपर भैरव राउतको सम्बन्धबारे अनभिज्ञता प्रकट गरे। तर जनकपुर सर्जिकलको भुक्तानी खरिद गरिएकै औषधिको बिल अनुसारको भएको उनको दावी छ।

कार्यालय स्रोतका अनुसार डा. यादव नै मेसु नियुक्त भएर आएपछि स्टोर प्रमुखको जिम्मेवारीमा मण्डललाई हटाएर भैरव राउतलाई राखेका थिए।  

यस्ता अन्य पनि सामान फर्जी बिल र लामोसमयदेखि अडकेको बिलको भुक्तानी गरेको आशंका गरिएको छ। पदमुक्त हुने देखेपछि लामो समयदेखि पेन्डिङमा रहेको खरिद योजनाका फाइलको कमिसन आउने दाउमा नै धमाधम लेखा अधिकृत रविन झासँग मिलेर झण्डै ८ करोडको चेक काटेको अस्पताल स्रोतको दावी छ। 

प्रतिष्ठानको स्वामित्वमा गइसकेको प्रादेशिक अस्पतालमा अब निर्देशक नियुक्त हुने छ। मेसुको पद अब प्रादेशिक अस्पतालबाट हटेको छ। 

अनियमितताको सुइँको पाएपछि मधेश विज्ञान प्रतिष्ठानले पनि आन्तरिक खोजबिन सुरु गरेको छ। यादव पदमुक्त हुँदासमेत हालसम्म बरबुझारथ गरेका छैनन्।

डा. यादव र लेखा अधिकृत झालाई दुईपटक बरबुझारथको लागि पत्र काट्दा समेत वेवास्ता गरिरहेको प्रतिष्ठानका कुलपति डा. रामकेवल साहले बताए। 

‘डा. यादव र लेखा अधिकृत झालाई पटक पटक लिखित र मौखिक ताकेता गरिएको छ। तर हालसम्म वास्ता गरेका छैनन्।

हामीले आग्रह गरि नै राखेका छौं’ कुलपति साहले भने,  ‘मैले पनि आर्थिक अनियमितताको विषयमा सुनिरहेको छु। धेरै भुक्तानी एकैपटक गरियो रे। तर बरबुझारथ गरेपछि यो विषयमा म केही भन्छु।’ 

प्रतिष्ठानले आन्तरिक लेखापरीक्षण सुरु गरेको छ। मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई कागजात र भौतिक रुपमा पनि सरसामान हेरेर लेखा परीक्षण प्रतिष्ठानले गराइरहेको छ। 

यता, निवर्तमान मेसु यादवले आफ्नो कार्यकालको लामो समयदेखि बाँकी रहेका भुक्तानी पदमुक्त हुनु पहिले नै गरिदिन ८ करोडको चेक काटेको दावी गरे। यसअघि पनि एकै दिनमा अस्पतालकै स्वास्थ्य उपकरण खरिदको १० करोड रुपैयाँ भुक्तानी गरेको रेकर्ड अस्पतालमा रहेको तर्क गरे।

‘विभिन्न औषधि उपकरण खरिद तथा कोभिड कालमा खरिद गरेको औषधि उपकरणको भुक्तानी बाँकी थियो। आफू जानु अघि नै भुक्तानी गरिदिनु पर्छ भन्ने मनन गरेर नै यस्तो गरेको हुँ’ उनले भने। 

डा‍ यादवले आफूले कुनै अनियमितता नगरेकाे जिकिर गर्दै छानबिन गर्न चुनाैती पनि दिए।

‘कसैसँग एक रुपैयाँ पनि भुक्तानी बापत कमिसन लिएको छैन। फर्जी बिल लिएर भुक्तानी गरेको छैन। यदि छ भने सम्बन्धित निकायले छानबिन गरोस्। कारबाही भोग्न तयार छु।’

यादवलाई सामाजिक विकास मन्त्रालयले गएको १० गते मेडिकल सुपरिन्टेन्डेन्टबाट पदमुक्त गरेको थियो। उनले पदमुक्त हुनुअघि नै औपचारिक रुपमा नै प्रतिष्ठानलाई सबै थोक हस्तान्तरण गर्न चाहे पनि मुख्यमन्त्रीले समय नदिँदा नभएको जिकिर गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .