ad ad

समाज


जनकपुरमा गुड्ने रेल देउवा र मोदीले दिल्लीबाट उद्घाटन गर्ने

जनकपुरमा गुड्ने रेल देउवा र मोदीले दिल्लीबाट उद्घाटन गर्ने

फाइल फोटो


शैलेन्द्र महतो
चैत १५, २०७८ मंगलबार २२:२६, जनकपुरधाम

बहुप्रतिक्षित जनकपुर जयनगर रेल्वे संचालनका लागि आगामी चैत १९ गते औपचारिक रुपमा उद्घाटन गरिने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रुपमा भर्चुअल प्रविधिमा जनकपुर जयनगर रेलको उद्घाटन गर्ने भएका हुन्।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा र मोदीले दिल्लीबाटै संयुक्त रुपमा भर्चुअल प्रविधिबाट रेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

‘उद्घाटनको मिति चैत १९ गते शनिबारको लागि तय भएको छ। दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल विधिबाट उद्घाटन गर्नु हुनेछ', उनले नेपालखबरसँग भने। 

उद्घाटनका लागि जनकपुरधाम रेल्वे स्टेशन र जयनगर रेल्वे स्टेशनमा प्रोजेक्टरसहितको कार्यक्रम गरिने छ। जनकपुर रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवसहित सहभागी हुने छन्। 

महाप्रबन्धक झाका अनुसार उद्घाटन लगत्तै जयनगरबाट जनकपुरको लागि रेल गुड्नेछ । यो रेल प्रत्येक स्टेशनमा रोकिने छ। 

त्यस दिन यात्रुले निःशुल्क चढ्न पाउने छन् । जनकपुरको पहिलाको रेल्वे स्टेसनबाट चढेर मन्त्री यादवसहित जनकपुरधामको कुर्था स्टेशन पुग्ने छन्।

फर्किने बेला फेरि पुरानो स्टेशनमा मन्त्री यादव ओर्लिने र त्यहाँ केहीबेरको कार्यक्रमपश्चात रेल जयनगर फर्किने छ। 

त्यस दिनबाट जनकपुर-जयनगर रेल नियमित संचालन हुने छ। रेलले  जनकपुरधामको व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा फड्को मार्ने विश्वास लिइएको छ। 

उद्घाटन नहुँदा जनकपुर जयनगर रेल फागुन महिनाभर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर ‘ड्रायरन’ गरेको थियो। 

चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन। केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेकी थिइन्।

‘प्राविधिक रूपमा सबै तयारी भइसकेको छ। कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्', उनले भने। 

जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ। ०७७ असोज २ गते भारतीय कोंकण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो। 

रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिब १५ सय यात्रु बोक्ने क्षमताका छन्।

जनकपुर–कुर्था–जयनगरको यात्रा गर्दा यातायात व्यवस्था कार्यालयले नै निर्धारण गरेको भाडा दर अनुसार समान्य सिटमा प्रतियात्रु ९० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .