ad ad

समाज


सर्जकहरुको बहस : दक्षिण एसियामा उदार भावना कसरी जगाइराख्ने?

सर्जकहरुको बहस : दक्षिण एसियामा उदार भावना कसरी जगाइराख्ने?

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार ९:१९,

दक्षिण एसियाली मुलुकका सर्जक तथा विश्लेषकहरुले दक्षिण एसियामा उदार समाज तथा व्यवस्थाको भावनामाथि राज्य, कर्पोरेट सेक्टर, उग्र धार्मिक संगठनहरु र अन्य विभिन्न पक्षको दबदबा बढ्दै गएकोमा चिन्ता जाहेर गर्दै त्यसलाई बचाइ राख्नुपर्नेमा जोड दिएका छन्।

सांस्कृतिक बहुलताले धनी दक्षिण एसियाली मुलुकका कला, साहित्य, फिल्म, डकुमेन्ट्री लगायतका रचनात्मक अभिव्यक्तिको प्रवर्धन र निरन्तरको विमर्शमार्फत् उदार समाजको भावनालाई जगाइराख्न सकिने उनीहरुको धारणा थियो।

‘जहाँ मस्तिष्क निस्फिक्री छ’ नामक नारासहित ललितपुरको यलामाया केन्द्रमा शुरु भएको चार–दिने फिल्म साउथ एसिया महोत्सवमा भेला भएका सहभागीबीच सो विषयमा शनिबार छलफल भएको हो।

छलफलमा इस्लामावादकी आयसा गजदारले पटकपटकका सैनिक शासनले गर्दा पाकिस्तानी जनताको स्वतन्त्रता सैन्य छायाँमा परेको बताइन्। केही वर्षयता प्रजातान्त्रिक रुपमा निर्वाचित सरकार आएतापनि समाज पूर्णरुपमा स्वतन्त्र हुन नसकेको उनको धारणा थियो। ‘अहिलेको सरकार त सैनिक सरकार होइन, तर पनि सैनिकबाटै निर्देशित छ,’ उनले भनिन्। ‘त्यसकारण सेन्सरसिप आदि कारणले फिल्म लगायतका अभिव्यक्तिका माध्यमको विकास पछिल्ला वर्षमा निराशाजनक छ।’

भारत बैंग्लोरकी पत्रकार लक्ष्मीमूर्थीले पछिल्लो समय न्यायालय, मिडिया लगायतका उदार समाज र प्रजातन्त्रलाई थप बलियो बनाउने निकायहरु सत्ताको छायाँमा पर्दै गएका कारण खुला अभिव्यक्ति कमजोर बन्दै गएको बताइन्।

‘स्कूले बालबालिकाले पढ्ने पुस्तकमा समेत फेरबदल गरिँदैछ, जुन कुरा निकै खतरनाक हो,’ उनले भनिन्। अर्कोतर्फ सरकारजस्तै ठूला कर्पोरेट समूहहरु निकै हावी हुँदैछन्।  समाजको बहुलतामाथि तिनीहरुको दबदबा अर्को चिन्ताको विषय भएको उनको धारणा थियो।

त्यसैगरि ढाकाका फिल्ममेकर अका रेजा गलिवले पाकिस्तानमा जस्तै बंगलादेशमा पनि सैन्यसत्ताको छायाँले गर्दा धेरै वर्षसम्म समाजको उदार विकासमा अवरोध सिर्जना भएको बताए।

‘विकासका लागि लोकतन्त्रमा केहि सम्झौता गर्नुपर्ने भन्ने भनाई केही समययता हावी हुँदैछ। लोकतन्त्र रोज्ने कि विकासजस्ता भनाई आउन थालेको छ,’ उनले भने।

फिल्म साउथ एसिया महोत्वसका अध्यक्ष कनकमणि दीक्षितले नेपालमा भने अन्य दक्षिण एसियाली मुलुकको तुलनामा केहि सहज अवस्था रहेको बताए। ‘तर, ढुक्क हुने स्थिति नेपालमा पनि छैन। नेपाली समाजको स्वभाव, यहाँको भिसा लगायतका केहि व्यवस्थाले गर्दा संयोगवस् हामी केही सहज अवस्थामा छौं। यो जोगाउनुपर्छ,’ दीक्षितको जोड थियो।

विश्लेषक हरि शर्माले दक्षिण एसियामा उदार समाजको धारणा नै उपनिवेशका विरुद्धको संघर्षका क्रममा विकास भएको बताए। उनको भनाइ थियो अरुको विचार र खासगरि अल्पसंख्यकको मतलाई सम्मान गर्नु बहुल र उदार समाजको जग हो। ‘तर, अहिले बहुमतको शासन भन्ने धारणा बढि हावी हुँदा खुला समाज र लोकतन्त्रको खास मर्म संकटमा पर्दै गएको छ,’ शर्माको विश्लेषण थियो।

राजनीतिक तथा अन्तर्राष्ट्रिय मामिलाका अध्येता टीका ढकालले नेपालमा पनि शासकहरुले लोकतन्त्र पटकपटक खोसिरहेको र खुला समाजमाथि दमन गर्न खोजेको तर त्यसविरुद्ध जनता एकजुट भएर प्रतिवाद गरेर लोकतन्त्र जोगाइरहेको बताए। ‘जनताको एकता र प्रतिवाद नै लोकतन्त्र जोगाउने सबैभन्दा सशक्त उपाय हो। नेपालको अनुभवले त्यहि भन्छ,’ ढकालको भनाई थियो।

बहसका क्रममा प्रायः सबै प्यानलिष्टहरुको जोड थियो– सत्ताधारीहरुको दमनले विचार रोकिन सक्तैन। विभिन्न दक्षिण एसियाली मुलुकमा जबजब दमन भएको छ तब झनै सशक्त फिल्म तथा साहित्वको सिर्जना भएको छ। उनीहरुको यी सबै दक्षिण एसियाली मुलुकमा अहिले सामाजिक सञ्जालहरु अभिव्यक्ति स्वतन्त्रताका सशक्त वैकल्पिक माध्यमको रुपमा विकास भइरहेको र त्यसको सदुपयोगले उदार समाजका लागि सहयोगी हुनसक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .