ad ad

समाज


भारतीय पक्षलाई नेपाली प्रशासनले सोध्यो : महाकालीमा तटबन्ध बनाउँदा किन समन्वय भएन?

नदीको बहाब नेपालतर्फ फर्काउन एकपक्षीय निर्माण
भारतीय पक्षलाई नेपाली प्रशासनले सोध्यो : महाकालीमा तटबन्ध बनाउँदा किन समन्वय भएन?

भर्चुअल बैठकमा नेपाल-भारतका सीमा अधिकारीहरु। तस्बिर : जिल्ला प्रशासन कार्यालय दार्चुला


गोकुल जोशी
माघ २२, २०७८ शनिबार २०:३, कञ्चनपुर

दार्चुला सदरमुकाम खलंगा पारी महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध निर्माणको मुद्दा दुई देशका सीमा अधिकारीहरुको बैठकमा उठेको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतका सीमा अधिकारीको बैठक आयोजना गर्दै तटबन्धको विषयमा भारतको ध्यानाकर्षण गराएको हो।

बिहीबार दार्चुला जिल्ला प्रशासन कार्यालयले दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीबीच भर्चुअल माध्यममार्फत बैठक आयोजना गरेको थियो। 

त्यही बैठकमा नेपालसँग नसोधी नदीको बहाव सदरमुकाम खलङ्गातिर फर्किने गरी महाकाली नगरपालिका–४ मा भारतले मनलाग्दी पक्की तटबन्ध बनाएको े विषय प्राथमिकता साथ उठाइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। 

‘भोलिका दिनमा नेपालतिर केही असर नपर्ने गरी तटबन्ध बनाउन भनेका छौँ,’ उपाध्यायले नेपालखबरसँग भने, ‘उनीहरुले पानीको बहावमा केही असर नपर्ने गरी तटबन्ध निर्माण भइरहेको प्रतिवद्धता जनाएका छन्।’

उनका अनुसार नेपालमा असर पर्ने गरी संरचना निर्माण नगर्न भारतीय पक्षलाई आग्रह गरिएको थियो। नेपाली भूभागमा तटबन्धले केही क्षति नगर्ने भनेर भारतीय पक्षले बैठकमा आश्वस्त पारेको थियो। 

‘सीमामा काम गर्दा दुवै पक्षबीच समन्वय हुनु पर्ने हो। नेपाल र भारतबीच समन्वय गरेर काम गर्ने सहमति पनि भएको छ,’ सीडीओ उपाध्याय भन्छन्, ‘तर किन समन्वय हुन सकेन ? त्यसरी काम गर्दा राम्रो हुन्थ्यो भनेका छौँ।’

भारतीय पक्षले आफूखुसी तटबन्ध निर्माण थाल्दा दार्चुला प्रशासनले त्यसबारे जानकारी दिन पत्राचार गरे पनि जवाफ फर्काएको थिएन। 

‘तटबन्धबारे जानकारी दिन ढिला भयो। अब केही दिनमै निर्माण भइरहेको तटबन्धको पूर्ण जानकारी दिने भारतीय अधिकारीले जवाफ दिएका छन्’, उनले भने। 

नेपाली प्रशासनसँग समन्वय नगरेर भारतीय पक्षले एकतर्फी रुपमा महाकालीमा पक्की तटबन्ध निर्माण गरिरहेको छ।

यस्तै बैठकमा १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचन, कोरोना नियन्त्रण, नेपाल–भारत जोड्ने मोटरेबल पक्की पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमूल्यन र सीमा पुलहरू खोल्ने लगायत विषयमा छलफल भएको थियो। 

बैठकमा भारतीय पक्षले विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थापन, सीमा व्यवस्थापन तथा कोरोना नियन्त्रणमा समन्वय गर्नुपर्ने विषय राखेको थियो।

केही दिन अगाडि सम्झौता भएको नेपाल–भारत पक्की पुलको काम विधानसभा चुनावपछि सुरु गर्ने भारतीय अधिकारीले बताएका थिए।

दार्चुला र बैतडीमा ५ बजेपछि नाका बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने क्रममा सास्ती खेप्नु परेकोले ७ बजेसम्म नाका खोल्न नेपाली प्रशासनले भारतीय अधिकारीलाई आग्रह गरेको थियो। 

विधानसभा चुनावपछि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म नाका खोल्ने भारतीय अधिकारीहरुले प्रतिवद्धता जनाएको दार्चुला प्रशासनले जनाएको छ। ‘मुद्रा सटहीबारे पनि छलफल भएको थियो। भारतमा नेपाली एक हजार रुपैयाँ ६ सय भारुमा साटिइरहेको गुनासो आएको थियो,’ सीडीओ उपाध्यायले भने, ‘हामीले ६२५ भारुमा नै कारोबार गर्न सहजीकरण गरिदिन आग्रह गरेका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .