ad ad

समाज


सुदूरपश्चिममा कोरोना समुदायस्तरमा, परीक्षण सुस्त!

सुदूरपश्चिममा कोरोना समुदायस्तरमा, परीक्षण सुस्त!

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर


गोकुल जोशी
माघ १७, २०७८ सोमबार १६:५४, काठमाडौँ

सुदूरपश्चिममा कोरोना संक्रमणको तेस्रो लहर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमणको तेस्रो लहर समुदायस्तरमा तीब्र रुपमा फैलिरहेको स्वास्थ्यकर्मी बताउँछन्।

स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा पीसीआर परीक्षणबाट १ हजार ९ सय ८० र एन्टिजेन परीक्षणबाट पुष्टि भएका २ हजार ९ सय ५० गरी जम्मा ४ हजार ९३० जना सक्रिय संक्रमित रहेका छन्।

भारतबाट फर्किनेको सिमानाकामा एन्टिजेन परीक्षण गर्ने गरिएको छ। कामको खोजीमा भारतको विभिन्न ठाउँमा गएकाहरु स्वदेश फर्किन थालेपछि नाकामा उनीहरुमा कोरोना परीक्षण गर्दा अधिकांशमा संक्रमण पुष्टि भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्ट बताउँछन्। 

‘हामीले नाकामा भारतबाट फर्किनेमा कोरोना परीक्षण गर्ने गरेका छौँ। गड्डाचौकी नाकामा दैनिक ६०/७० जना संक्रमित फेला परिरहेका छन्,’ उनले भने।

भारतबाट फर्किएका सुदूरपश्चिमका चार जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पनि पुष्टि भइसकेको छ। 

कोरोना संक्रमणको तेस्रो लहर समुदायस्तरमा फैलिएको महाकाली अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकाया बताउँछन्। 

‘संक्रमण समुदायस्तरमा फैलिएको छ। अहिले अस्पतालमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीहरु आइरहेका छन्,’ उनले भने, ‘उनीहरुमा कोरोना परीक्षण गर्दा संक्रमण देखा परिरहेको छ।’
संक्रमण तीब्र रुपमा फैलिरहेको भए पनि समुदायस्तरमा संक्रमण परीक्षण दर न्यून रहेको उनी बताउँछन्। 

‘जुन मात्रामा संक्रमण परीक्षण हुनु पर्ने हो, त्यसरी भएको पाइँदैन’ उनले भने, ‘समुदायमा परीक्षणलाई तीब्रता दिन आवश्यक छ।’

उनका अनुसार अस्पतालमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने, खोकी लाग्ने र मांसपेशी दुख्ने समस्या लिएर पुग्ने बिरामीको चाप बढेको छ।  

पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिममा ९४१ जनामा एन्टिजेन र २२८ जनाको पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये १४५ जना एन्टिजेन र १२४ जना पीसीआर पोजेटिभ बिरामी फेला परेका थिए। 

कोरोना मिल्दाजुल्दा लक्षण देखिएका बिरामी बढिरहेको भए पनि समुदायस्तरमा संक्रमण परीक्षण सुस्त छ। संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गरेर उनीहरुको कोरोना परीक्षण गरिएको छैन। 

भारतबाट आउनेको नाकामा एन्टिजेन परीक्षण भइरहेको तर समुदायस्तरमै अभियानको रुपमा संक्रमण परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए।

‘स्थानीय तहमा उहिलेको जस्तो क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन भएको छैन। संक्रमितलाई कहाँ राख्ने भन्ने अन्यौल छ। त्यसैले पनि अभियानका रुपमा समुदायस्तरमा परीक्षण गर्न नसकिएको हो,’ उनले भने, ‘यसपटक गम्भीर प्रकृतिका बिरामी पनि देखा परेको अवस्था छैन।’

आवश्यकता अनुसार परीक्षण गर्न चाहनेले स्वास्थ्य चौकीमा गएर संक्रमण परीक्षण गरिरहेको उनको दाबी छ। सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दो क्रममा रहे पनि संक्रमित अस्पताल भर्ना हुनेको दर पनि न्यून रहेको छ। 

यहाँका नौवटै जिल्लामा ११७ बिरामी मात्रै अस्पताल भर्ना भएका छन्। अधिकांश संक्रमित घरमै छन्। 

पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका बेला सुदूरपश्चिमका अस्पताल पनि भरिभराउ भएका थिए। कतिपयले अस्पतालमा बेड नै नपाएर ज्यान समेत गुमाए। तेस्रो लहरको कोरोना संक्रमणमा त्यस्तो देखिएको छैन। अधिकांश संक्रमित अस्पताल पुगेका छैनन्।  

स्वास्थ्य अवस्था सामान्य रहेका कारण पनि संक्रमित अस्पताल भर्ना हुने दर कम रहेको महाकाली अस्पतालका डा. रोकाया बताउँछन्। 

‘पहिलो र दोस्रो लहरमा संक्रमितको स्वास्थ्य जटिलता हुने, शरीरमा अक्सिजन घट्ने, निमोनिया हुने, फोक्सोमा समस्या हुने जस्ता समस्या बढी थियो। यसपटक कमै संक्रमितमा मात्रै यस्तो समस्या देखिएको छ,’ उनले भने, ‘त्यसैले अस्पताल भर्ना हुने दर कम देखिन्छ।’

होम आइसोलेसनमा बसेका संक्रमितले आइसोलेसनका मापदण्ड पालना नगर्दा संक्रमण समुदायस्तरमै फैलिन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। 

कोरोना संक्रमण पुष्टिपछि होम आइसोलेसन बस्न पठाइएका बिरामी गाउँमै घुलमिल हुन थालेपछि संक्रमण समुदायस्तरमा झनै फैलिने जोखिम बढेको डा. रोकाया बताउँछन्। 

‘अधिकांश बिरामी अहिले होम आइसोलेसनमा छन्। उहाँहरुले आइसोलेसनको मापदण्ड पालना गरेको देखिँदैन,’ उनले भने, ‘यसले संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ।’

होम आइसोलेसनमा बसेका बिरामीले स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको भनी उनीहरुमाथि निगरानी भएको देखिँदैन। होम आइसोलेसनमा बस्नुपर्ने संक्रमित खुलेआम परिवार, गाउँ तथा भीडभाड हुने ठाउँमा घुलमिल भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .