राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।
महानगरीय प्रहरी गण नं. २, मा दरवन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समितिमा) कार्यरत प्रहरी नायव निरिक्षक खड्काले माध्यमिक शिक्षा परिषद वाराणाशी, उत्तरप्रदेशवाट जारी भएको शैक्षिक योग्यता (आईएको) को झुट्टा प्रमाणपत्र पेश गरी सोही प्रमाणपत्रका आधारमा मिति २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको अख्तियारको दाबी छ।
प्रहरी सेवामा निरन्तर बहाल रही मिति २०५९।०९।१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखी गरेको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन अनुसारको कसुर गरेको प्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
खड्कालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम दण्ड सजाय हुन मागदावी लिई अख्तियारले विशेष अदालत, काठमाडौंमा बुधबार आरोपपत्र दायर गरेको हो।
Shares
प्रतिक्रिया