ad ad

समाज


ओमिक्रोन संक्रमणबाट विद्यार्थीलाई जोगाउन यस्तो छ तयारी

ओमिक्रोन संक्रमणबाट विद्यार्थीलाई जोगाउन यस्तो छ तयारी

मीना खड्का
पुस २२, २०७८ बिहिबार १३:२०, काठमाडौँ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दियो, २१ मंसिरमा। संगठनका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले त्यसै दिन भनेका थिए, ‘डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन लागिरहेको छ।’ 

कोरोना भाइरसको त्यही ओमिक्रोन भेरियन्टले नेपालमा पनि आफ्नो यात्रा सुरु गरिसकेको छ। नेपालमा हालसम्म ओमिक्रोनका तीन वटा केस पुष्टि भएका छन्। र, स्वास्थ्य मन्त्रालयका अधिकारीहका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिइसकेको छ। 

विश्वभर ओमिक्रोन भेरियन्टले यात्रा सुरु गर्दैगर्दा राजधानी काठमाडौंसहित देशभरका ती विद्यालयमा विद्यार्थीहरु सशरीर उपस्थित भएर पठनपाठन सुरु भयो, जुन विद्यालय कोरोना भाइरसको पहिलो र दोस्रो लहरपछि लामो समयका लागि बन्द भएका थिए।  

आफ्ना सन्तानलाई अनलाइन कक्षाका लागि आवश्यक पर्ने इन्टरनेट र कम्प्युटर जस्ता स्रोत–साधन जुटाउन सक्ने स्थितिमा नेपालका अधिकांश अविभावक छैनन्। यस्तोमा कोरोना महामारीको दोस्रो लहरको असर कम भएपछि सशरीर पठनपाठन हुने गरी विद्यालय सुचारु गर्नु स्वभाविक मात्र होइन, आवश्यक पनि थियो।

विद्यालय भनेको शिक्षक र विद्यार्थीहरु सामुहिक रुपमा रहेर शिक्षा आदान–प्रदान गर्ने स्थल हो। त्यसैले, भौतिक उपस्थितिसहितको पठनपाठन सुरु भएसँगै कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट जोगिन आवश्यक सुरक्षा उपायपनि अपनाउनुपर्ने हुन्छ। तर, विद्यालयहरुमा आवश्यक मात्रामा सुरक्षात्मक उपाय अपनाएको देखिँदैन। 

शिक्षाविद डा विद्यानाथ कोइराला भन्छन्, ‘वैकल्पिक शिक्षाका रुपमा रहेको अनलाइन कक्षा प्रभावकारी नभएकाले विद्यालय खुलेका छन्। यस्तोमा, अन्य भेरिएन्ट भन्दा ओमिक्रोन बढी संक्रामक भएकाले विद्यार्थीहरु कक्षामा बस्दा स्वास्थ्य मापदण्ड पालना भए–नभएको कुरामा ध्यान दिनुपर्छ।’​

निगरानी गर्न पालिकाहरुसँग समन्वय​
युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंक जस्ता विश्व संस्थाहरुले सुरक्षित तवरले विद्यालय सञ्चालन गर्नका लागि निर्देशनहरु जारी गरिसकेका छन्। अहिलेको अवस्थामा सुरक्षित तवरले विद्यालय सञ्चालन गर्नु भनेको अन्य सुरक्षात्मक उपाय अवलम्बन गर्नुका अलावा शिक्षक विद्यार्थीहरुलाई पुरा मात्रामा खोप लगाउनु हो। तर, विभिन्न कारणले विद्यार्थीहरुले अहिले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाएका छैनन्।

तीमध्येका एक हुन् कीर्तिपुर (काठमाडौँ) को शहीद स्मारक कलेजमा ११ कक्षामा अध्ययनरत सल्यानका सुधीर केसी। केसी जस्ता हजारौँ विद्यार्थी देशभर छन्, जसको अहिलेसम्म खोपमा पहुँच छैन। प्रधानाध्यापक मिलनमान महर्जनले नगरपालिकाले भने बमोजिम विद्यार्थीहरुको विवरण पठाएपनि उनीहरुले कहिले खोप पाउँछन्, त्यो यकिन नभएको बताए।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ तेस्रो हप्तादेखि कोभिड–१९ ओमिक्रोन भेरियन्टको लहर आउनसक्ने प्रक्षेपण गर्दै सतर्कता अपनाउन भनेको छ। सतर्कता अपनाउन मन्त्रालयले स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण संक्रमण बढिरहेकाले नेपालमा पनि जोखिम छ। ‘

‘गत वर्ष भारत हुँदै नेपाल प्रवेश गरेको कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ’, डा अधिकारी भन्छन्, ‘जनस्वास्थ्यका मापदण्ड पालना गरे नगरेको निगरानी गर्न पालिकाहरुसँग समन्वय भइरहेको छ।’ 

कोभिड–१९ को लहर आउँदा स्थिति कति भयानक हुन्छ भन्ने कुरा गत साल दोस्रो लहरका बेला नेपालले अनुभव गरिसकेको छ। जस्तो, ३ जेठ (२०७८) मा एकैदिन ९ हजार २ सय ४७ जना कोभिड–१९ का संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो।  

कोभिड–१९ को महामारीबाट विद्यार्थीहरुलाई सुरक्षित गर्न सुरक्षित तवरले विद्यालय पुनःसञ्चालनका लागि युनिसेफले नयाँ मार्गनिर्देशन जारी गरेको थियो। सोही अनुसार नेपाल सरकारले पनि विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना निर्माण गर्यो।  

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका भनाईमा, कार्ययोजनामा महामारीको संक्रमणबाट शिक्षक र विद्यार्थीहरु सुरक्षित हुने गरी शिक्षण सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न स्थानीय तहलाई नै जिम्मेवारी दिइएको छ।  

तर, विद्यालयहरुमा देखिने कमजोर सुरक्षा उपायको स्थिति हेर्दा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन।

मास्कको महत्व बुझ्दैनन् केटाकेटी
रोल्पाकी समीक्षा रोका काठमाडौँको कीर्तिपुरमा बस्छिन्। पढाउन चाहेको विषय गाउँको विद्यालयमा नभएपछि उनी काठमाडौँ आउन बाध्य भएकी हुन्। पठनपाठन सुचारु भएलगत्तै उनका छोरापनि विद्यालय जान थालिसकेका छन्। तर, उनले अहिलेसम्म कोभिड–१९ को खोप लगाउन पाएका छैनन्। 

यस्तोमा आफ्नो सन्तानलाई विद्यालय पठाउनु पर्दा कोभिड–१९ को संक्रमण हुने हो कि भन्ने चिन्ताले उनी पिरोलिएकी छन्। 

उनी भन्छिन्, ‘फेरि नयाँ खालको कोरोना भाइरस आयो भन्छन्। जे भएपनि सन्तानलाई स्कूल नपठाएर भएन। तर, नयाँ खालको कोरोना आयो भन्ने कुराले निकै चिन्ता लागेको छ।’ 

समीक्षाको छोराले अहिलेसम्म कोभिड–१९ को खोप लगाउन नपाउनुको कारण हो, नागरिकता नहुनु। खोपको व्यवस्था गरिएका बेला खोप लगाउन चाहने व्यक्तिहरुको साथमा नागरिकता हुनुपथ्र्यो। तर, नागरिकताका लागि आवश्यक पर्ने १६ वर्ष उमेर नपुगेका कारण निजको साथमा नागरिकता थिएन।  

एकातिर विद्यालय जान थालेका विद्यार्थीहरुले विभिन्न कारणले कोभिड–१९ विरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कोतिर कोभिड–१९ विरुद्ध बच्न आवश्यक पर्ने सामान्य स्वास्थ्य मापदण्डको व्यवस्थापन विद्यालयहरुमा भएको देखिँदैन। 

जस्तो, केसी अध्ययनरत कीर्तिपुरस्थित शहीद स्मारक कलेजकै कुरा गरौँ। त्यहाँ कक्षा ११ का विद्यार्थीलाई ५ वटा कक्षामा (सेक्सन) विभाजन गरिएको छ। एउटै कक्षामा ६८ जना भन्दा बढी बिद्यार्थी छन्। एउटा बेन्चमा ४ जना सम्म बस्नुपर्ने स्थिति छ। कलेजमा न हात धुने व्यवस्था छ, न सेनिटाइजर नै राखिएको छ। 

नवज्योति आधारभूत विद्यालय कीर्तिपुर पाँगाको अवस्था झन् जोखिमयुक्त छ। कक्षा १ देखि ५ सम्म पढाइ हुने त्यो विद्यालयमा पनि कुनै बालबालिकाले खोप पाएका छैनन्। 

शिक्षिका सरस्वती पौडेल भन्छिन्, ‘मास्क लगाउन आग्रह गरे पनि विद्यार्थीले वास्ता नगर्दा समस्या भएको छ। सबै विद्यार्थी केटाकेटी उमेरका भएकाले मास्कको महत्व बुझेका पनि छैनन्।’  

यस्तै स्थिति देशभरका अधिकांश कलेज र विद्यालयमा छ। भौतिक दूरी कायम राख्नु त परको कुरा भयो, अधिकांश कलेज र विद्यालयहरुमा विद्यार्थी र शिक्षकहरुले मास्क समेत लगाएको देखिँदैन। हात धुने धारा होला, सावुन विरलै हुन्छ। स्थिति हेर्दा कोरोनाको जोखिम सबैले बिर्सेजस्तो जस्तो लाग्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी कोरोना महामारीको जोखिम अझै रहेकाले यसबाट जोगिन सबैले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताउँछन्। 

डा अधिकारी भन्छन्, ‘कतिपय शिक्षकहरु मास्क लगाउँदा बोल्न गाह्रो हुने भएकाले मास्क लगाउँदैनन्। विद्यालयमा स्वास्थ्य पापदण्ड पालना भए–नभएको अनुगमन गर्न पालिकाहरु सक्रिय हुनुपर्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .