ad ad

समाज


माओवादी महाधिवेशनमा २० वर्षदेखि ज्यानमा गोली बोकेका ‘ब्रिगेड कमान्डर’

माओवादी महाधिवेशनमा २० वर्षदेखि ज्यानमा गोली बोकेका ‘ब्रिगेड कमान्डर’

जनयुद्धका ब्रिगेड कमान्डर ध्रुव बुढाथोकी ‘धिरेन’


उजिर कार्की
पुस १३, २०७८ मंगलबार २१:४१, काठमाडौँ

कमलादीस्थित प्रज्ञा भवनमा तामझाम छ। नेकपा माओवादी केन्द्रको ८औँ महाधिवेशन चलिरहेको छ। देशभरका महाधिवेशन प्रतिनिधि भेला भएका छन्। त्यही भिडमा भेटिए, जनयुद्धका ब्रिगेड कमान्डर ध्रुव बुढाथोकी ‘धिरेन’। 

खोटाङ दोर्पाका बुढाथोकी पार्टीमा लागिसकेपछि धिरेन भनेर बढी चिनिन थाले। महाधिवेशनमा आएका उनी हँसिला देखिन्थे। तर, उनको शरीर भने चोटग्रस्त छ। उनको दाहिने हातको कुहिनानजिकै इन्सास राइफलको गोली अड्किएको छ। दाहिनेतिरकै दुई वटा करङ भाँचिएका छन्। बमका छर्रा भासिएका छन्। उनको शरीरमा गोली गाडिएको पाँच वर्षपछि पार्टीले युद्धको बाटो छाड्यो। 

तर २० वर्षसम्म पनि उनको शरीरबाट गोली निकालिएको छैन। मौसम चिसो वा तातो हुँदा शरीर दुख्छ। त्यसमाथि उनलाई अरु रोगले पनि च्यापेको छ। प्रेसर, सुगर, कोलेस्ट्रोल र थाइराइडको औषधि नियमित सेवन गर्छन् उनी। 

उपचारका लागि उनी युद्धकालमै भारतको दरभंगा पुगेका थिए। २०६० सालमा तीन पटक अप्रेसन गर्दा पनि गोली निकाल्न सकिएन। त्यसपछि ज्यानमै गोली बोकेर उनी फेरि युद्धमै होमिए।

पार्टी शान्ति प्रक्रियामा आइसकेपछि एक पटक प्रचण्डलाई नै भेटेर उनले आफ्नो समस्या सुनाएका थिए। त्यतिबेला प्रचण्डले डाक्टरको सल्लाहअनुसार उपचार गराउनु भने। 

‘खर्च राज्यले बेहोर्छ, राज्यले नबेहोरे पार्टीले गर्छ,’ प्रचण्डले भने।

तर एक्सरे गर्दा एक ठाउँमा देखिएको गोली अप्रेसन गर्न थालेपछि सर्यो। निकाल्न सम्भव भएन। अहिले अर्को प्रविधिबाट गोली निकाल्न सकिन्छ रे भन्ने उनले सुनेका छन्। अब बुझेर गोली निकाल्ने सोचमा रहेको उनले बताए।

सेक्सनदेखि ब्रिगेड कमान्डरसम्म 
सुरुमा अर्धभूमिगत राजनीतिबाट माओवादीमा प्रवेश गरेका थिए धिरेन। २०५६ सालमा माओवादीको पूर्णकालीन कार्यकर्ता भए। २०५७ सालको चैतमा पार्टीबाट जनमुक्ति सेनामा प्रवेश गरे। त्यतिबेला उनी सेक्सन कमान्डर थिए। एउटा सेक्सनमा ९ जना लडाकु हुन्थे।

त्यसको ६ महिनापछि प्लाटुन कमान्डरमा बढुवा भए। प्लाटुनमा ३३ जनाको टोली हुन्थ्यो। २०५८ सालमा माओवादीले सोलुखुम्बुको सल्लेरीमा आक्रमण गर्यो। त्यो आक्रमणमा धिरेन पनि सहभागी थिए। त्यो बेला पनि उनलाई गोली लागेको थियो। 

सल्लेरी आक्रमणपछि फेरि उनी कम्पनीको भाइस कमान्डर भए। कम्पनीमा ९५ जनाको टोली हुन्छ। केही महिनापछि नै उनले कम्पनी कमान्ड गर्ने जिम्मा पाए। 

एक सय पाँच जनाको कम्पनी नेतृत्व गरेका धिरेनले त्यसपछि साढे तीन सयको बटालियन कमान्ड गर्न थाले। २०६२/०६३ मा माओवादी शान्ति प्रक्रियामा आउनुपहिले धिरेन ब्रिगेड भाइसकमान्डर हुँदै ब्रिगेड कमान्डर भइसकेका थिए। तीनवटा बटालियनका करिब एक हजार जनमुक्ति सेनाको कमान्ड उनी गर्थे।

विप्लव–सिर्जन स्मृति ब्रिगेडको कमान्डर थिए धिरेन। शान्ति प्रक्रियासँगै जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा लगियो। उनीहरु इलामको दानाबारी शिविरमा थिए। 

तर, शिविरबाट थुप्रै लडाकुहरुलाई पार्टी काममा लगाउन भन्दै बाहिर निकालियो। पार्टीको निर्णयपछि उनी पनि शिविरबाट बाहिर आए। ती लडाकुलाई समेटेर अर्धसैन्य दस्ता वाईसीएल बनाइएको थियो। 

धिरेन पनि जनकपुर–सगरमाथा ब्युरोको वाईसीएल अध्यक्ष भए। पछि २०६४ सालमा कोचिला राज्यको (मोरङ, सुनसरी र झापा) को वाईसीएल अध्यक्षको जिम्मेवारी पाए। 

२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचन भयो। निर्वाचनमा समिता कार्की अस्मिता र रामकुमार राई पासाङले खोटाङका दुई क्षेत्रको टिकट पाए। दुवैले निर्वाचन जिते पनि। 

निर्वाचनपछि उनलाई भने पार्टीको जिल्ला इन्चार्ज बनाइयो। 

वैद्यसँग लाग्दा पछि परे 
शान्ति प्रक्रियामा आएसँगै माओवादीमा टुटफुट आउन थाल्यो। २०६४ सालको निर्वाचनमा सबैभन्दा बढी सिट जितेर पहिलो पार्टी बनेको माओवादी २०७० सालको निर्वाचन आइपुग्दा टुक्रिन पुग्यो। मोहन वैद्य किरण एउटा समूहको नेतृत्व गर्दै पार्टीबाट अलग भए।

धिरेन पनि त्यतिबेला वैद्यसँगै गए। उनलाई वैद्यले अगाडि सारेको विचार मन पर्यो। 

‘२०६९ सालमा जुन मुद्दा लिएर वैद्य अगाडि बढे, त्यो डकुमेन्ट अहिले पनि सत्य छ। वैद्यले एजेन्डा ल्याए तर संगठनमा कार्यान्वयन गराउन सकेनन्। समस्या त्यहाँ भयो,’ धिरेन भन्छन्।

दुई वर्षसम्म वैद्यलाई पछ्याउँदा पनि उँभो लाग्ने छनक देखिएन। त्यसपछि रामबहादुर थापा बादलको नेतृत्वमा ३७ जना केन्द्रीय नेताहरु फेरि प्रचण्डले नेतृत्व गरेकै माओवादीमा फर्किए। 

धिरेन पनि २०७१ सालमा माओवादी केन्द्रमै फर्किए। माओवादीमा फर्किएपछि उनले पोलिट्ब्युरो सदस्य र जिल्ला इन्चार्जको भूमिका पाए। तर, २०७४ सालको निर्वाचनमा पनि उनले संसदको टिकट पाएनन्। एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा माओवादीले एउटा प्रदेशसभाको मात्रै स्थान पायो। त्यसमा रामकुमार राई निर्वाचित भए। बाँकी केन्द्र र प्रदेशको एक एक सिट एमालेले लियो र दुवै जित्यो पनि। 

पार्टीको पोलिट्ब्युरो सदस्य र जिल्ला इन्चार्ज रहेका धिरेनको भूमिका २०७५ जेठ ३ मा माओवादी र एमालेको एकीकरणपछि झन् खुम्चियो। उनी प्रदेश कमिटीको सदस्यमा झरे। तर, एमालेसँग एकीकरण गरेर बनेको नेकपा तीन वर्ष पनि टिकेन। 

माओवादी केन्द्र पहिलेकै अवस्थामा फर्किए पनि धिरेनको भने पहिलेकै जिम्मेवारी कायम भएन। पहिले पोलिटब्युरो सदस्य र जिल्ला इन्चार्ज रहेका धिरेन त जिल्लाको सहइन्चार्जमा पो झरे। 

धिरेन जसको साथ लागेर माओवादी केन्द्रमा फर्किएका थिए उनै बादलले फेरि माओवादी छाडे। बादल एमालेमा गए र उपाध्यक्ष भए तर धिरेन एमालेमा जान सकेनन्।

अहिले उनी प्रदेश नम्बर १ कमिटीको सदस्यमा निर्वाचित भएका छन्। 

पार्टीलाई युद्धमा मात्रै चाहियो धिरेन
जिल्लामा उनको नेतृत्वमा काम गरेका नेताहरु प्रदेश हुँदै केन्द्रसम्म उनीभन्दा माथिल्लो पदमा पुगिसकेका छन्। जनयुद्धका चर्चित कमान्डर भएर पनि उनी पार्टी शान्ति प्रक्रियामा आएपछि भने जम्न सकेनन्। बिस्तारै ओझेल पर्दै गए। 

पार्टीमा आफ्नो अवमूल्यन भए पनि उनले तितो मानेका छैनन्। 

‘हामी युद्धमा फिट भयौँ। खुल्ला राजनीतिमा फिट रहेनछौँ,’ उनले चित्त बुझाए, ‘जनयुद्धमा हामीले सुहाउँदो भूमिका प्राप्त गर्यौँ। तर शान्ति प्रक्रियामा आइसकेपछिको माहोललाई क्यास गर्न नसकेरै पार्टीले पनि भूमिका नदिएको होला।’

उनी नेतृत्वप्रति गुनासो पनि गर्दैनन्। बरु आफ्नै कमजोरी भए होला भन्ने सोच्छन्। शान्ति प्रक्रियामा आइसकेपछि जस्ता नेताको पार्टीलाई आवश्यकता पथ्र्यो, त्यो आफूबाट पूरा नहुने भएकैले पार्टीले जिम्मेवारी नदिएको ठान्छन्। 

‘मूल्यांकनको जिम्मा त हामीले नेतृत्वलाई दिएका छौँ। हामीले हीनताबोध गर्यौँ भने अगाडि बढ्न सक्दैनौँ,’ उनले भने, ‘चिन्तन गर्नुपर्छ हामी कहाँ चुक्यौँ? हाम्रो विचार कहाँ खुस्कियो र यो पोजिसनमा आयौँ?’

माओवादीको कार्यशैली बिग्रिए पनि पार्टीको आधार नबिग्रिएको उनको दाबी छ।

‘माओवादी सकिँदै गयो त?’ उनलाई पनि यस्ता प्रश्न सोधिने गर्छ। तर, पार्टीभित्रको अन्तरविरोधलाई छिचोल्न सके माओवादी अघि बढ्छ भन्ने विश्वास उनलाई छ। 

आफ्नो जीवन पहिल्यै पार्टीलाई सुम्पिएको बताउने धिरेन पार्टीमा आफूभन्दा पीडित अरु धेरै रहेको बताउँछन्। 

‘हामीसँगै लागेका धेरै साथीहरु सहिद हुनुभयो। धेरैका परिवार अहिले पनि बिचल्लीमा छन्। सामाजिक, आर्थिक र पारिवारिक अवस्था चिन्ताजनक छ,’ उनले भने, ‘म जस्तालाई मात्रै हेरेर त के अर्थ रहन्छ र? पहिले उनीहरुलाई हेर्नुपर्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .