समाज


पुस ४ देखि बालबालिकालाई विद्यालयमै खोप

पुस ४ देखि बालबालिकालाई विद्यालयमै खोप

यज्ञराज जोशी
मंसिर २४, २०७८ शुक्रबार १९:३, काठमाडौँ

स्वास्थ्य मापदण्ड पालना नभएको भन्दै शैक्षिक संस्थाहरु कोरोना संक्रमणको नयाँ हटस्पट बन्ने जोखिम बढिरहँदा सरकारले शैक्षिक संस्थामै खोप लगाउने अभियान सुरु गर्ने भएको छ।

अहिले उपलब्ध खोपमध्ये मोर्डना र फाइजरका खोप १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई लगाउन मिल्छ। १८ वर्षमाथिका लागि जुनसुकै खोप लगाउन मिल्छ। 

बालबालिकालाई लगाउने मोर्डना खोप उपलब्ध भएसँगै विद्यालयमै खोप अभियान सञ्चालन गर्ने योजना सरकारले बनाएको हो।

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट बिहीबार १४ लाख ९७ हजार डोज मोडर्ना खोप नेपाल आइसकेको छ। यस्तै मङ्सिर २६ गते थप १९ लाख ६५ हजार डोज आइपुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। 

यसअघि पनि एक लाख ८४ हजार मोडर्ना खोप नेपाल भित्रिसकेको छ। उक्त खोप देशभरका २४ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई लगाइएको छ। 

कोभ्याक्स सुविधाबाट नेपालले २०२२ मार्चसम्म ४० लाख मात्रा मोडर्ना खोप पाउने मन्त्रालयले जनाएको छ। सोही अवधिमा आउने गरी बालबालिकालाई नै लक्षित गरी ६० लाख मात्रा फाइजर खोप खरिद गरिसकेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए। 

‘बालबालिकालाई पनि कोरोना संक्रमणको जोखिमबाट सुरक्षित गर्न आवश्यक खोपको व्यवस्था गरिसकेका छौँ,’ डा. पौडेलले भने, ‘अब विद्यालयमै गई अभियानका रुपमा खोप लगाउने कार्यको थालनी हुनेछ।’

पौडेलका अनुसार नेपालमा १२ वर्षदेखि १७ वर्षसम्मका ३० लाखजति बालबालिकालाई खोप लगाउनुपर्छ। जसका लागि पुस ४ देखि विद्यालयमै खोप लगाइनेछ।

अहिले ५७ जिल्लाका विद्यालयहरुबाट अभियान सुरु गरिने र थप खोप आउने बित्तिकै अरु ठाउँमा पनि लगाउँदै जाने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए। 

‘४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेका छौँ,’ दाहालले नेपालखबरसँग भने, ‘खोप लगाएसँगै बालबालिका सुरक्षित रहने र विद्यालयहरु हटस्पट बन्नबाट रोकिने मद्दत पुग्ने विश्वास लिएका छौं।’

दाहालका अनुसार यसअघि फाइजर खोप दिइएका २४ अस्पताल रहेका जिल्ला र सिन्धुली बाहेकका ५७ जिल्लाका विद्यालयमा खोप केन्द्र राखेर मोडर्ना खोप दिन लागिएको हो। 

‘मोडर्ना खोप सहजै भण्डारण गर्न मिल्ने भएकाले ग्रामीण भेगका विद्यालयहरुलाई यस खोपमा प्राथमिकता दिने निर्णय भएको छ,’ उनले भने, ‘फाइजर खोप भने सहरी क्षेत्रका बालबालिकालाई दिने तय भएको छ। फाइजर खोप खरिदका लागि भुक्तानी समेत भइसकेकाले केही समयमै आउने विश्वास गरिएको छ।’ 

पुस ४ गते देखि सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान बर्दिया, दैलेख र जाजरकोटका विद्यालयहरुमा खोप केन्द्र राखिनेछ। 

त्यसबाहेक डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सिराहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र महोत्तरीमा पनि यो अभियान सञ्चालन हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिए। 

खोप केन्द्रको व्यवस्थापन र स्वास्थ्यकर्मीको परिचालनको जिम्मा स्थानीय निकायलाई दिइएको छ। मन्त्रालयले स्थानीय तहलाई आवश्यकता अनुसारको खोप, सिरिन्ज, कोल्डस्टोरलगायतका सामाग्रीहरु उपलब्ध गराउने प्रवक्ता पौडेलले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .