ad ad

समाज


यस्तो छ विश्वकै उत्कृष्टमध्येमा छनोट भएको स्वयम्भूको शौचालय (भिडियो)

यस्तो छ विश्वकै उत्कृष्टमध्येमा छनोट भएको स्वयम्भूको शौचालय (भिडियो)

यज्ञराज जोशी
मंसिर ११, २०७८ शनिबार १४:२७, काठमाडौँ

काठमाडौं कोटेश्वरकी कमला खड्का स्वयम्भू बुद्धपार्कस्थित शौचालय प्रयोग गरेर निस्किँदा अचम्मित थिइन्। सार्वजनिक शौचालय भनेपछि उनले ह्वास्स गन्ध आउने, बान्ता आउलाजस्तो हुने, जताततै पानी पोखिएर खुट्टा टेक्नै ठाउँ नै नभएको अव्यवस्थित हुने अनुमान लगाएकी थिइन्। तर यो शौचालय उनले सोचेको भन्दै भिन्नै थियो।

‘सार्वजनिक शौचालय भनेपछि एकदमै दुर्गन्धित, फोहोर होला, नाक थुन्नुपर्ला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘यो त एकदम राम्रो–सफा छ। भित्र बाहिर दुवै राम्रो छ। फोहोर गन्ध नै छैन।’

उनले भीडभाड बढी हुने उपत्यकाका विभिन्न स्थानमा यस्तै सफा सार्वजनिक शौचालय बनाउनुपर्ने सुझाव दिइन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ को सहकार्यमा ‘एरोसन सस्टेनेबल स्यानिटेसन’ नामक संस्थाले झण्डै ५५ लाखको लागतमा बनाएको यो शौचालय प्रयोग गर्ने अन्य मानिसको अनुभव खड्काको भन्दा फरक छैन। 

शौचालय महिला र वातावरणमैत्री भएकै कारण यो अगष्ट २०२१ मा स्टकहोममा भएको सरसफाई सम्बन्धी प्रतिस्पर्धामा ८० देशलाई पछि पार्दै उत्कृष्ट ५ भित्र पर्न सफल भयो। 

एक दशक सरसफाईका क्षेत्रमा काम गरेका एरोसनका कार्यकारी निर्देशक प्रकाश अमात्य उक्त सफलताले उत्साह थपेको बताउँछन्। 

‘मेड इन नेपाल प्रविधि, होम ग्राउन सिस्टमले विश्वमा नाम लेखाउन सफल भएको छ,’ अमात्य भन्छन्, ‘व्यवस्थापकीय र वातावरणीय पक्षलाई सफल प्रयोग गरेका कारण यो विश्वको चासोको विषय बनेको हो।’

माइक्रोबायलोजी एण्ड वातावरण व्यवस्थापनमा स्नातकोत्तर तथा वातावरण तथा सरसफाई सम्बन्धी संस्था चलाइरहेका अमात्यले सार्वजनिक शौचालयका विभिन्न विषयमा अध्ययन अनुसन्धान गरेको एक दशक भइसक्यो। 

स्थानीय निर्वाचनपछि स्थानीय तहलाई सार्वजनिक शौचालय व्यवस्थापनको जिम्मेवारी दिइएको छ। त्यसमा स्थानीय तहले चासो दिए। नीति निर्माण गरे। तर कार्यान्वयनमा आउन नसकेको कुरा अमात्यलाई खड्किरहेको थियो। 


‘मलाई के लाग्योे भने सायद कसरी गर्ने भन्ने मेसो नपाएर पो उहाँहरुले सुरुवात गर्न नसक्नुभएको हो कि,’ त्यही भएर नमूनाका रुपमा सुरुवात गरौं भनेर यो शौचालयको काम थालिएको हो।’

अमात्यका डिजाइनका क्रममा महिला र पानीलाई केन्द्र विन्दुमा राखिएको छ। यो शौचालयको अगाडि नै फ्रन्ट कम्पार्टमेन्टमा महिलालाई छुट्याइएको छ। पर्याप्त प्रकाशको व्यवस्था छ। भेन्टिलेसन छन्। महिनावारीको बेलामा चाहिने स्यानिटरी प्याडका लागि भेन्टिङ मेसिन राखिएको छ। मेसिनमा २–२ रुपैयाँका ३ सिक्का खसालेपछि एउटा प्याड झर्छ। शौचालयसँगैको क्याफेबाट सिक्का साट्न सकिन्छ।

प्रयोग भइसकेका प्याड व्यवस्थापनका लागि बिजुलीबाट स्यानिटरी प्याड जलाउने मेसिन राखिएको छ। मेसिनमा हालेपछि एकैछिनमा प्याड खरानी बन्छ। त्यस्तै, सानासाना नानीहरुका लागि डाइपर परिवर्तन गर्न टेबुलको व्यवस्था गरिएको छ। 

महिला र पुरुष कम्पार्टमेन्टमा दुई-दुईवटा शौच गर्ने प्यान राखिएका छन। बीचमा अपांगमैत्री कमोड जडान गरिएको एउटा शौचालय पनि छ। 


८० प्रतिशत पानी पुनः प्रयोग
शौचालय पूर्णरुपमा स्वचालित छन्। दिसा पिसाब गरिसकेपछि अटो फ्लसिङ सिस्टम जडान गरिएको छ। हात धुने पानी पनि आफै झर्छ। पानी खेर नजाने र ८० प्रतिशत पानी पुनः प्रयोगको व्यवस्था मिलाइएको छ। 

‘पानी यहाँबाट खेर जाँदैन। शौचालय दुर्गन्धित हुनु, सरसफाई नहुनुको कारण पानी नै हो,’ अमात्य भन्छन्, ‘धेरैजसो शौचालयमा कि त पानी उपलब्ध हुँदैन। पानी किन्नुपर्ने हुन्छ। यहाँ पानी उपलब्ध नहुने समस्या नै छैन।’ 

हात धोएको साबुन पानी कृत्रिम सिमसार प्रविधिबाट ट्रिटमेन्ट गर्दै पुनः प्रयोग गर्न मिल्ने बनाइएको छ। दैनिक एक हजार लिटर पानी प्रयोग हुँदा आठ सय लिटर पानी पुनः प्रयोग गर्न मिल्ने अमात्यले बताए। रिसाइकल गरेको पानी फ्लसिङ गर्नमा प्रयोग हुन्छ। हात धुनमा भने प्रयोग हुन्न। हात धुन आकाशे र जमिनमुनिको सफा पानीको व्यवस्था मिलाइएको छ। 

पानीको मुख्य स्रोत आकाशे पानी हो। शौचालयको छत ६ सय वर्गफुटमा आकाशे पानी जम्मा हुन्छ। उक्त पानी ट्रिटमेन्ट हुँदै तल रहेको १३ हजार लिटरको ट्यांकीमा जम्मा गर्ने व्यवस्था छ। पुनः प्रयोग हुने ८० प्रतिशतबाहेक २० प्रतिशत पानी त्यही आकाशे पानी र आकाशे पानी नभएको बेला बोरिङ गरिएको पानीबाट पूर्ति गरिन्छ। 

शौचालयमा मानव मलमुत्रबाट बायोग्यास बनाउने प्लान्ट जडित छ। जहाँबाट उत्पादन हुने ग्यास शौचालयको बीचमा बनाइएको क्याफेमा प्रयोग गरिन्छ। क्याफेसहित शौचालयको व्यवस्थापन स्थानीय स्वाभिमानी महिला सरसफाई समूहले सञ्चालन गर्छन्। शौचालय सरसफाई र क्याफे सञ्चालनका लागि केन्द्रले आलोपालो गरेर कर्मचारी खटाएको छ। 

शौचालयमा दिसापिसाब गरेको १५ रुपैयाँ तिर्नुपर्छ। त्यसबापत एक कप चिया निःशुल्क पाइन्छ। त्यही शुल्कले शौचालय व्यवस्थापनमा सहयोग पुग्छ। सरसफाई समूहकी दिया देउलाले अहिले शौचालय सरसफाई र क्याफे सञ्चालन गइरहेकी छिन्। प्रयोगकर्ता खुशी भएर जाने गरेको उनको अनुभव छ। 

‘सबैजना खुशी भएर जानुहुन्छ। कतिले खुशी भएर बढी पैसा पनि दिएर जानुहुन्छ,’ दियाले भनिन्, ‘सरसफाई, पानी व्यवस्थापन राम्रो छ भन्नुहुन्छ। सबैजना सन्तुष्ट देखिनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .