ad ad

समाज


हेडक्वार्टर खाली राखेर डीआईजीलाई किन पठाइयो दरबन्दी नभएको ठाउँमा?

हेडक्वार्टर खाली राखेर डीआईजीलाई किन पठाइयो दरबन्दी नभएको ठाउँमा?

उजिर कार्की
मंसिर ७, २०७८ मंगलबार २२:१५, काठमाडौँ

दरबन्दी नै नभएको ठाउँमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्द आचार्यले रमना बुझेका छन्। गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट चार महिनामै हटाउँदै आचार्यलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरेको हो। 

ब्युरोमा डीआईजीको दरबन्दी नै छैन। हाल एसएसपी हृदय थापा ब्युरोको इन्चार्ज छन्। तर सरुवा भएका आचार्यले एसएसपी थापा चढ्दै आएको ब्युरोको गाडी लगिसकेका छन्। सोमबार भैरहवा विमानस्थलबाट काठमाडौं आएलगत्तै उनले गाडी लगिसकेको ब्युरो श्रोतले जनाएको छ। 

‘डीआईजीसाबले एसएसपी चढेको गाडी सोमबार नै लगिसक्नु भयो, उहाँ कार्यालयमा आइसक्नु भएको छैन। अर्को साता हाजिर हुने कुरा छ,’ ब्युरोका एक प्रहरी अधिकारीले भने। 

यस्तै प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पनि आचार्यले रमना बुझिसकेको बताए। गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयमा दरबन्दी खाली राखेर दरबन्दी नै नभएको लागुऔषध ब्युरोमा आचार्यलाई सरुवा गरेका हुन्। 

प्रहरी महानिरीक्षकको सचिवालयमा डीआईजी रिक्त छ। त्यहाँ कार्यरत डीआईजी वसन्त लामालाई प्रबन्ध महाशाखामा सरुवा गरिएको छ। प्रबन्धमा कार्यरत प्रकाश अधिकारीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। 

पहिले लागुऔषध नियन्त्रण ब्युरोमा डीआईजीकै दरबन्दी भए पनि केपी ओली नेतृत्वको सरकारले दरबन्दी कटौती गरेको थियो। त्यसपछि ब्युरोमा एसएसपीले नै नेतृत्व गर्दै आएका छन्। 

इन्चार्जको जिम्मेवारी दिएर पठाइएका हृदय थापाको ५ महिनामै इन्चार्ज खोसिएको छ। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अन्वेषण शाखा हुँदै त्यहाँ सरुवा गरिएको थियो। 

आचार्य अक्षम हुन् कि राजनीतिक प्रतिशोधको सिकार?  
गृह मन्त्रालयले गत असार ७ गते १६ जना डीआईजीको सरुवा गरेको थियो। उक्त सरुवामा सबै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका थिए। सँगै सरुवा भएका ६ वटा प्रदेशका प्रहरी प्रमुख अहिले पनि कायम छन्। तर आचार्य भने सरुवा भएको केही समयबाटै विवादमा तानिएका थिए। 

उनीविरुद्ध ५ महिनाको अवधिमा गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्मले छानबिन गरेको छ। प्रहरी प्रधान कार्यालयले लुम्बिनी प्रदेशमा लापारबाही गरेको भन्दै गोप्य रुपमा एउटा टोली नै पठाएको थियो। 

प्रहरी महानिरीक्षकले पठाएको एसएसपी नेतृत्वको टोलीले त्यहाँ गोप्य रुपमा अनुगमन गरेर तस्करीमा प्रहरीको संलग्नता रहेको प्रतिवेदन नै बुझाएको थियो। प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार उक्त अनुगमनपछि प्रदेश प्रहरीले धेरै घुमुवा परिवर्तन गरेको थियो। तर त्यसपछि पनि उक्त प्रदेशमा सुधार नआएपछि तानिएको हुन सक्ने प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकारीले बताए। 

‘प्रतिवेदनमा बाहिर आएजस्तै तस्करीमा प्रहरीको केही हदसम्म संलग्नता देखिएको प्रतिवेदन बुझाएको थियो। त्यसपछि उहाँले धेरै घुमुवा हेरफेर गर्नु भएको थियो। तर पछि अरु आपराधिक घटना पनि बढ्दै गएपछि तानिएको हुनसक्छ,’ ती उच्च प्रहरी अधिकारीले भने। 

गृह श्रोतले पनि कमाण्डमा कमजोर भएको, एकपछि अर्का आपराधिक घटना भएको र त्यसमा प्रहरीको काम चित्तबुझ्दो नदेखिएपछि उनलाई तानिएको बताएको छ। 

प्रहरी प्रधान कार्यालयमा पद खाली राखेर एसएसपीको दरबन्दी भएको ठाउँमा किन पठाइयो भन्ने प्रश्नमा गृह मन्त्रालयका एक सहसचिव भन्छन्, ‘काम चित्त नबुझेर तानिएको व्यक्तिले खोजेको ठाउँ नपाउन सक्छन्।’

उनले आचार्यलाई कारबाहीस्वरुप एसएसपीको दरबन्दी भएको ठाउँमा पठाइएको संकेत गरे। 

उनीविरुद्ध एउटा घटनामा गृह मन्त्रालयले गत साउनमा छानबिन गरेको थियो। पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्ले दुर्घटनामा परी मृत्यु भएको घटनामा छानबिन भएको थियो। आचार्यले यातना दिएको र तनावमा परेका निरीक्षक सडक दुर्घटनामा परेको भन्दै पूर्व गृहराज्यमन्त्री समेत रहेका देवेन्द्रराज कँडेलले संसदमै प्रश्न उठाएका थिए। 

सहसचिव सुनील खनालको संयोजकत्वमा गृह मन्त्रालयले उनीमाथि छानबिन गरेको थियो। तर छानबिन समितिले दुर्घटनामा परी वाग्लेको मृत्यु हुनुमा डीआईजीको संलग्नता नरहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। 

मोबाइल तस्करीमा संलग्न रहेको आरोप लगाउँदै वाग्लेलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको थियो। तर, तस्करीमा डीआईजी आचार्यको पनि संलग्नता रहेको आरोप सांसद कँडेलले लगाएका थिए। 

तर आचार्यको सरुवालाई गृहमन्त्रीको राजनीतिक स्वार्थको रुपमा समेत हेरिएको छ। आचार्यलाई नेकपा एमालेको सरकारले लुम्बिनी प्रदेशमा सरुवा गरेको थियो। गृहमन्त्री खाण रुपन्देहीका हुन्। अहिले नेपाली कांग्रेसको महादिवेशन चलिरहेको छ। चुनावको मुखमा आफू अनुकूलको सुरक्षा नेतृत्व बनाउनका लागि पनि खाणले आचार्यलाई हटाएको हुनसक्ने प्रहरी अधिकारीहरु नै बताउँछन्। 

डीआईजी आचार्यले भने यस विषयमा कुरा गर्न चाहेनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .