उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख, तल्लो शिख, फलाटे, स्वाँत र किन्दुबाट पोखरामा बसोबास गरिरहेका बासिन्दाको संस्था ‘शिख्तानी पुन समाज पोखरा’ले देउसीभैलो खेलेर २८ लाख रुपैयाँ संकलन गरेको छ।
उक्त रकम गाउँको विकासका लागि खर्च गरिने संस्थाले जनाएको छ।
आफू जन्मिएको गाउँमा विद्यालय, मठमन्दिर, बाटो र चौतारो निर्माणका लागि पोखरामा देउसीभैलो खेलेर संकलन भएको शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजा पुनले जानकारी दिए।
अध्यक्ष पुनका अनुसार पोखरामा देउसीभैलो खेलेर जम्मा भएको रकमले म्याग्दीको शिखगाउँमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य छ।
युवालाई स्वरोजगार बनाउन विभिन्न किसिमका रोजगारमूलक कामका लागि अत्यन्तै न्यून र सरल ब्याजमा कर्जा लगानी गर्नेसमेत उद्देश्य रहेको उनले जानकारी दिए। रासस
प्रतिक्रिया