ad ad

समाज


एक अर्बको महान्यायाधिवक्ता कार्यालय एक वर्षमै चुहियो, अख्तियारको निगरानी

एक अर्बको महान्यायाधिवक्ता कार्यालय एक वर्षमै चुहियो, अख्तियारको निगरानी

नेपालखबर
भदौ २१, २०७८ सोमबार १९:१६, काठमाडौँ

महान्यायाधिवक्ता कार्यालयको नवनिर्मित भवनभित्र पानी जमेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निरीक्षण गरेको छ। सोमबार दिउँसो आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य नेतृत्वको टोलीले महान्यायाधिवक्ता कार्यालयमा पुगेर स्थलगत निरीक्षण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।

आइतबार रातिबाट परेको पानी नवनिर्मित भवनको पार्किङभित्र पसेको थियो। यस्तै छत पनि चुहिने गुनासो महान्यायाधिवक्ता कार्यालयबाट आएको अख्तियारले जनाएको छ। 

‘पानी जमेपछि महान्यायाधिवक्ता कार्यालयबाट गुनासो आयो। गाडी पार्किङ नै गर्न नमिल्ने भएछ। उहाँहरुले पानी मोटर चलाएर निकाल्नु भएछ। निर्माणमा लापरबाही भएको पुष्टि भयो,’ अनुगमनमा सहभागी एक सदस्यले नेपालखबरसँग भने।

निर्माणसम्पन्न भएर भवन हस्तान्तरण गरे पनि एक वर्षसम्म कुनै समस्या देखिए सम्बन्धित निर्माण कम्पनिले नै मर्मत गर्नुपर्छ। 

शर्मा–समानान्तर जेभीले करीब ९५ करोडमा निर्माण सम्पन्न गरेर भवन हस्तान्तराण गरेको थियो। 

गत पुस ८ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले भवन उद्घाटन गरेका थिए। 

निरीक्षणपछि अख्तियारको टोलीले निर्माण कम्पनी र परामर्शदातालाई बोलाएर ध्यानाकर्षण गराएको छ। महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित भएको छलफलमा निर्माण कम्पनीले तत्काल मर्मत गरेर समस्या समाधान गर्ने मौखिक प्रतिबद्धता जनाएको छ। 

झण्डै एक अर्ब लागतमा निर्माण भएको भवन हस्तान्तरण गरेको एक वर्ष पनि भएको छैन। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागमार्फत सो भवन बनेको हो। छलफलमा यी कार्यालयका प्रतिनिधिलाई पनि बोलाइएको थियो। 

‘गुनासो आइसकेपछि के रहेछ समस्या भनेर तत्काल रेस्पोन्स गर्नलाई हामी गएका हौँ। अब यो आयोगको निगरानीमा रहन्छ। समयमै त्रुटि सच्याउन पाउँछ। नसच्याए कानुनी उपचार हुन्छ,’ अनुगमनपछि अख्तियार श्रोतले भन्यो, ‘सकेसम्म त्रुटि सच्याउनुस् नै भनेका छौं। त्यसमा लापरबाही भयो, ढिलासुस्त भयो भने त्यसको कारबाही भोग्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .