ad ad

समाज


त्यसपछि सपनाले कम्बोडियामा आफू बेचिएको थाहा पाइन्

त्यसपछि सपनाले कम्बोडियामा आफू बेचिएको थाहा पाइन्

उजिर कार्की
भदौ २०, २०७८ आइतबार १५:५१, काठमाडौँ

चार वर्षपहिले किसान राईले फेसबुकमा रिक्वेस्ट पठाए। त्यसपछि सपना (परिवर्तित नाम) को किसानसँग म्यासेन्जरमा कुरा हुन थाल्यो। एकदिन किसानले भने, ‘तपाईंजस्तो मान्छे पनि सानोतिनो काममा अल्झिने हो? विदेश जानुस्, राम्रो कमाइ हुन्छ। म कम्बोडियामा भएका साथीहरुसँग सल्लाह गरेर पठाइदिन्छु।’

पाँच वर्षपहिले नै पतिसँग अलग भएपछि उनले बंगुरपालन गरेर तीन छोरीको लालनपालन गरिरहेकी थिइन्। किसानले यसअघि पनि थुप्रै मानिसहरुलाई कम्बोडिया पठाइसकेको बताए। 

‘हामीले पठाएका सबै जनाले राम्रो कमाइ गरिरहेका छन्,’ किसानले भने, ‘उनीहरुले कन्स्ट्रक्सन र व्यापारिक क्षेत्रमा काम गरिरहेका छन्। महिनाको तीन लाख रुपैयाँ त घर पठाउँछन्।’

राम्रो काम र कमाइ हुने भएपछि सपना उनीमार्फत वैदेशिक रोजगारीमा कम्बोडिया जान तयार भइन्। स्टोर किपरको काम। त्यहाँ पुग्दासम्म जम्मा ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ भनेका थिए। 

तर, गइसकेपछि महिनाको लाख रुपैयाँ कमाइ हुन्छ, ऋण काढेर जाँदा पनि फरक पर्दैन भनेपछि सपनाले आँट गरिन्। 

‘नेपालमा जे गर्नुपर्छ म गर्छु। कम्बोडिया पुगेपछि सबै कुरा साथीहरुले मिलाउँछन्। पर्यो भने म आफैँ लिएर जाउँला,’ किसानले आश्वस्त पारे। 

किसानका मान्छे विमानस्थलसम्म लिन आउने। सबै कुरा उनीहरुले नै सहजीकरण गरिदिएर कम्पनीमा काममा लगाइदिने। त्यति भइसकेपछि कुनै अप्ठेरो पर्दैन भनेपछि सपना ढुक्क भइन्।

‘त्यहाँ भनेजस्तो काम र कमाइ भएन भने तपाईंले दिएको सबै रकम ब्याजसहित फिर्ता गर्छु,’ किसानले बाचा गरेका थिए।

किसानले कम्बोडियामा भएका उनका आफन्त र साथीहरुसँग पनि कुरा गराए। उनीहरुले पनि किसानले भनेजस्तै कुरा गरेपछि सपनामा विश्वास थपियो। 

२०६६ सालको मंसिरमा किसानको फोन आयो।

‘तपाईंको भिसा प्रक्रिया सुरू गर्नका लागि चाँडो भन्दा चाँडो रकम जम्मा गर्नु, जति चाँडो रकम जम्मा हुन्छ, त्यति नै छिटो काम हुन्छ। राहदानी र फोटो लिएर तुरुन्तै काठमाडौं आउनु। मैले काठमाडौँको नयाँबसपार्कमा होटल बुकिङ गरिदिएको छु,’ उनले भने। 

सपना भोलिपल्टै काठमाडौं आइन्। काठमाडौं आएर किसानलाई फोन गरिन्। किसानले उनलाई गोंगबुको एउटा गेस्ट हाउस पु¥याए। भोलिपल्ट गेस्ट हाउसमै आएर सपनाको राहदानी, फोटो र २ लाख ५० हजार रुपैयाँ लिएर गए। अब आउँदा तपाईंलाई कम्बोडिया पु¥याउने मान्छे पनि लिएर आउँछु भनेका थिए। 

भोलिपल्ट उनले हरिकुमार नामको अर्को व्यक्तिसँग सपनाको भेट गराए। त्यसपछि सपना गाउँ फर्किन्। सपना गाउँ पुगेको केही दिनमा फेरि फोन आयो। बाँकी दुई लाख रुपैयाँ पनि तुरुन्तै पठाइदिन भने किसनले। 

उनले आईएमई गरेर केही दिनको फरकमा दुई लाख रुपैयाँ पठाइदिइन्। त्यसको एक हप्ता पछि हवाई टिकट तयार भएको खबर आयो। त्यसपछि उनी कम्बोडिया जान काठमाडौं आइन्। उनीहरुले नै बन्दोबस्त गरिदिएको चप्पल कारखाना नजिकैको होटलमा बसिन्।

सबै कुरा पुरा भयो भनेर उनलाई विमानस्थल पुर्‍याइयो। तर, विमानस्थलस्थित अध्यागमनले जाँचपछि कागजात नमिलेको भन्दै उनलाई फिर्ता पठाइदियो। 

किसानले अब चाँडै प्रक्रिया मिल्छ भने। फर्किएर त्यही होटलमा २० दिनसम्म बसिन्। तर पछि उनीहरुको कुरा बदलियो। 

‘तपाईंलाई नेपालबाट पठाउन नसकिने भइयो, अब भारत हुँदै जानु पर्ने भयो। उसले तपाईंलाई कम्बोडियासम्म पु¥याउँछ,’ किसानले सपनालाई साथीको जिम्मा लगाए।

तर सपना भारत हुँदै जान आनाकानी गरिन्। उनलाई फेरि विश्वस्त पारियो, ‘तपाईं मात्रै जाने होइन, अरु पनि जान्छन्। आत्तिनु पर्दैन।’

हरिकुमारको साथ लागेर सपना काठमाडौंबाट काँकडभिट्टा, गुवाहटी, मनिपुर हुँदै म्यानमार पुगिन्। म्यानमारमा पुगेपछि हरिकुमारले कम्बोडियाको टिकट काटिदिए। 
कम्बोडिया पुगेपछि कोही लिन आउने र आफूचाहिँ अरुलाई लिएर आउने भने।  

सपना थाइल्यान्ड हुँदै कम्बोडियाको जहाज चढिन्। कम्बोडियाको विमानस्थल पुगेपछि उनीहरुले नम्बर दिएका व्यक्तिलाई फोन गरिन्। उनले पनि अर्कै व्यक्तिलाई लिन पठाएछन्। 

सपनालाई लिन आएका ती व्यक्तिले विमानस्थलबाट लिएर उनलाई नोम–पेनको एउटा पसलमा पुर्‍याए। ‘केही समय यहीँ काम गर्नु। तपाईंका लागि हामी काम खोजिरहेका छौँ।’

सपनाले त्यहाँ खाना बनाउने काम गर्न थालिन्। १५ जनालाई खाना बनाएर दिनु पथ्र्यो। ४ महिना काम गरिसकेकी थिइन्। तर, उनलाई नेपालमा भनिएको स्टोरकिपरको काम उनले पाइनन्।

उनले आफूलाई त्यहाँ पठाउँदा एउटा काम भनेर अर्कै काममा लगाएको गुनासो गरिन्। त्यसपछि उनलाई अर्कै ठाउँमा सारियो। नोम पेनकै चिनियाँ नागरिकको घरमा लगियो। त्यहाँ पनि उनले खाना पकाउने र सरसफाइको काम गर्नु पथ्र्यो। 

कम्बोडियाको त्यो घरमा ४ जना चिनियाँ पुरूषहरू बस्थे। उनीहरुलाई खाना बनाउने काम सपनाको। केही दिन पछि चिनियाँहरुले उनीमाथि यौन दुर्व्यवहार गर्न थाले। उनलाई घर बाहिर पनि जान दिन छाडे। 

सपना त्यहाँबाट उम्किन रोइकराई गर्न थालिन्। तर, तिनले उनको आग्रह सुनेनन्। घरमै बन्धक बनाएर तिनलाई उनलाई बलात्कार गर्न थाले। 

आफूलाई त्यहाँ पठाउने दलालका मान्छेलाई फोन गरेर आफूमाथि भएको अत्याचार बताइन् र त्यो घरबाट निकालिदिन आग्रह गरिन्। तर जसले त्यहाँ पु¥याए, उनीहरुले पनि सपनाको कुरा सुनेनन्। 

१५ दिनपछि उनी त्यो घरमा एक जना मात्रै भएको मौकामा भागिन् र गेटमा बाहिरबाट चुकुल लगाइदिइन्। त्यसपछि पठाउने व्यक्तिहरु भएको ठाउँमा पुगिन्।

उनीहरुले सपनालाई केही उजुरबाजुर नगर्न आग्रह गर्दै जाँदा तिरेको सबै रकम फिर्ता गर्ने आश्वासन दिए। 

काम गरेको तलब पनि दिन्छौं भनेका थिए। तर, उनीहरुले दिएनन्। त्यसपछि सपना एनआरएनएको सम्पर्कमा पुगिन्। एनआरएनएले उनलाई नेपाल फर्किन सहयोग गर्यो। 

२०७७ कात्तिक ४ गते नेपाल फर्किन्। र मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा जाहेरी दिइन्। उनलाई त्यहाँ पठाउने र अलपत्र पार्नेविरुद्ध ब्युरोले अनुसन्धान गरिरहेको छ। उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन अनुसार कारबाहीको दायरामा ल्याइने ब्युरो प्रमुख दुर्गा सिंहले बताइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .