ad ad

समाज


पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

वाशुदेव मिश्र
भदौ ७, २०७८ सोमबार १०:४, काठमाडौँ

पोखराको मुख्य शहरी क्षेत्रमा पर्ने महेन्द्रपुलको सडक भासिएको छ। पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन्। 

महेन्द्रपुल क्षेत्रमा झण्डै ५ फिट गहिरो गरी १० मिटरभन्दा बढी सडकखण्ड भासिएको हो। 

आइतबार साँझदेखि परेको अविरल वर्षासँगै राति ९ः३० बजेतिर सडक भासिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले बताए । कोइरालाका अनुसार पोखरा–३, नदीपुरदेखिको सडकमै बाढी बगेपछि सडक भासिएको हो । भासिएको ठाउँमा राति नै ढुंगा–बालुवा ल्याएर पुर्न सुरु गरिए पनि खतरा टरेको छैन। 

‘सडकमा भल बगिरहेको छ, पछिल्लो समय पोखरामा ढलले पानी थाम्दैन, सडकमै बग्छ। पुरानो साँघुको मुखहुँदै सेती नदीतर्फ जानुपर्ने पानी सोझै महेन्द्रपुलको सडकमा बगेपछि जमिन भासिएको हो’, स्थानीय रमेश मानन्धरले भने,‘ यस्तै अवस्था रहे हाम्रा घर पनि असुरक्षित हुन्छन्।’  

पानीढलो मासिँदा विपत्ति  
इञ्जिनियर किसानसिंह गुरुङका अनुसार पोखराको भू–बनौट पानी सोस्ने खालको भएपनि कमजोर किसिमको छ। सेती नदी वारीको नदीपुर–महेन्द्रपुल क्षेत्रमा यसअघि पनि जमिन भासिन्थ्यो । तर, त्यो बेला बस्ती घना भएको थिएन। बस्ती घना नहुँदा जमिनले पानी सोस्थ्यो । अहिले त्यस्तो छैन। बस्ती विकास भएसँगै जमिन कम हुँदै गएको छ। 

परिणामस्वरुप हिजो बनाइएका ढलहरु साना भएका छन् । सहायक बाटाहरु ढलान गरिएका छन् भने त्यहाँको पानी सोझै मुलबाटोतिर आउने अवस्था सिर्जना भएको छ।
 
‘यो सबै पानीढलो मासिँदाको परिणाम हो’, उनले भने, ‘पछिल्लो समय वर्षात्को स्वरुप पनि बदलिएको छ, ढलहरु साना भएका छन्।’ पोखरामा अघिल्ला वर्षहरुमा ढलले नै बगाएर मान्छेको मृत्यु भएको उदाहरण दिँदै उनले भने, ‘यही अवस्था रहे हाम्रो सडकको इञ्जिनियरिङ नै बदल्नुपर्छ।’

उनको कुरामा महेन्द्रपुलबासी कृष्ण मानन्धरले पनि सहमति जनाए। ‘पहिला पानी छिरल्लिएर बग्थ्यो, जमिनले सोस्थ्यो र क्षति कम हुन्थ्यो’,उनले भने, ‘अहिले ढलले नै नधान्ने गरी बाढी आउन थालेको छ, महेन्द्रपुलको माथितिर रहेको पालिखेचोकबाट साँघुको मुखतिर जानुपर्ने पानी सडकमै बग्न थालेपछि कमजोर भूभाग भासिन थालेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .