समाज


कवि तीर्थले जन्माएको त्यो बाघ!

कवि तीर्थले जन्माएको त्यो बाघ!

वाशुदेव मिश्र
साउन १५, २०७८ शुक्रबार ७:३९,

आइतबार बिहानै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमा बाघको बडेमानको फोटोसहित कवि तीर्थ श्रेष्ठको कविता पोष्ट गरे।

अंग्रेजी संवतको जुलाई २९ तारिखलाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाइन्छ। सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित बाघ मञ्चले जुलाई २९ लाई बाघ दिवस घोषणा गरेको हो।

अन्तर्राष्ट्रिय बाघ दिवसको शुभकामना दिन उनले रोजेको पोखरेली कवि तीर्थ श्रेष्ठको बाघ शीर्षकको कविताचाहिँ यस्तो थियो –

एकदिन नातिले
बाजेसँग सोधेछ
बाजे बाघ भनेको कस्तो हुन्छ
मान्छेजस्तो हुन्छ कि

मान्छेभन्दा भयानकको हुन्छ 
बाजे असमञ्जसमा
आफ्नो बूढो कपाल कन्याउने छ
अनि भन्नेछ– 
बाबु, बाघ मान्छेभन्दा भयानक हुन्थ्यो
तर, मान्छे अहिले बाघभन्दा भयानक भएको छ
त्यसैले तिमी छौ/म छु 
तर, बाघ छैन। 

संयोग कस्तो भने, कवि तीर्थ श्रेष्ठले बाघ दिवस घोषणाको करिब १० वर्षअघि नै कविता लेखिसकेका थिए। लोपोन्मुख हुँदै गएको बाघभन्दा मान्छे हिंश्रक हुँदै गएको अनुमान लगाइसकेका थिए। 

सन्दर्भ थियो–संरक्षण कविता आन्दोलन र स्थान थियो–लमजुङको भुजुङ। अग्रज साहित्यकार सरुभक्तको पहलमा सुरु भएको अभियानले मुस्ताङको मुक्तिनाथ नेरको रानीपौवामा पुगेर २०५५ साल असोज २६ गते ​पाँचसूत्रीय घोषणापत्रसहित संरक्षण कविता आन्दोलनको थालनी गरेको थियो।

कवितात्मक माध्यमले प्रकृति–संरक्षण चेतना अभिवृद्धि गर्ने, पहाडी जनजीवनको अध्ययन गर्ने र स्थानीय कविता गोष्ठीहरूको आयोजना गरी गाउँले जनसमुदायमा कवितात्मक अर्थबोध र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यही ‘संरक्षण कवितायात्रा’को उपक्रममा कवि तीर्थ श्रेष्ठ २०५८ सालतिर लमजुङको भुजुङ पुगेका थिए। 

झमझम पानी परिरहेको थियो। तीर्थका समवयी प्रकट पँगेनी ‘शिव’ झरीसँगै ‘मुड’ बनाउने सुरसारमा थिए। रसिक तीर्थले साथ नदिने कुरै भएन। झरीकै बीच मुड बन्यो। सबै कविता लेख्न बसे। तीर्थले करिब डेढ घण्टामा सरसर्ती ६ वटा जति कविता लेखे र तीमध्ये एउटा थियो–बाघ। 

‘स्कूल पढ्दा कोर्षमै ‘डिसएपियरीङ टाइगर’ भन्ने पाठ पढिएको थियो, अवचेतन मनमा बाघ हराउँदै गएको भावना बसेकै थियो’,कवि तीर्थले त्यो दिन सम्झँदै भने,‘संरक्षण कवितायात्रामा गएको बेला बाघ र मान्छेको विम्बलाई जोडेर कविता तयार भएको हो।’ 

त्यसो त उनले त्यो बेला सिर्जना गरेका हाँस्न सिक पार्वती, रातको सपना बाँकी हुन्न बिहानीमा उठ्दा‍‍...’ लगायतका गीति कविताहरु पनि उत्तिकै चर्चित छन्। जिन्दगीको कुरुक्षेत्रबाट भन्ने कविता संग्रहमा संग्रहित ‘बाघ’ले चाहिँ संरक्षणको क्षेत्रमा उधुम मच्चायो। राजनीतिक चेत भएका कविको कविता न पर्यो! कवितामा प्रयुक्त विम्बहरुलाई मान्छेले फरक–फरक तरिकाले बुझे। बाघलाई सत्ताधारीसँग जोडियो। सत्तामा बस्नेहरु बाघभन्दा पनि भयानक भएको भन्ने भावार्थ बुझ्नेहरुले पनि कवितालाई उत्तिकै मन पराइदिए।

सरल बाक्य, सशक्त विम्ब तथा प्रतिकारात्मक अर्थका कारण कविता ‘हिट’ भयो। २०५८ सालमा लेखिएको कविता २०६० सालतिर प्रकाशनमा आएको थियो। दरबार हत्याकाण्डपछि राजसत्ता अर्थात् देशको बाघ पनि रहने कि नरहने भन्ने प्रश्न उठिसकेको थियो। 

‘कवितालाई मान्छेले मुलुकको राजनीतिक जटिलतासँग जोडेर लाक्षणिक रुपमा हेरे, पर्यावरण क्षेत्रमा काम गर्नेहरुले साँच्चिकै बाघ लोपोन्मुख हुँदै गएको बुझे’,कवि तीर्थले भने,‘सत्तामा भएको बाघ र वनको बाघको रुपमा कवितालाई पाठकले स्वीकारे।’

कविताको सान्दर्भिकता सकिएको छैन। विलियम ब्लेकको टाइगर कविताजत्तिकै तीर्थको कविता पनि मानक बन्यो। त्यसैले त अहिले पनि संरक्षणकर्मीले बाघ र मान्छेबीचको द्वन्द्वका कुरा उप्काउँदा अनि सत्ताधारीको तुजुक हराउँछ भन्ने विश्वास पाल्दा पनि यही कविता सम्झन्छन्। 

त्यसो त, २० वर्षअघि लेखिएको कविताको सान्दर्भिकता सकिएको छैन। २० औँ शताब्दीको पूर्वाद्धमा १ लाखको संख्यामा रहेका बाघहरू अहिले ३ हजार २ सयमा झरेका छन्। समयक्रममा मान्छे हुने र बाघ नहुने सम्भावना बढेकै बेला नेपालमा बाघको संख्या २३५ मात्रै रहेको छ।

नेपालले सन् २०२२ सम्म २५० पुर्‍याउने लक्ष्य राखेको छ। पछिल्लो क्रममा नेपालले संरक्षणमा देखाएको चासोचाहिँ उत्साहप्रद भएको संरक्षणकर्मीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .