एआईको भविष्य नियन्त्रण गर्ने लडाइँ अत्यन्त महँगो भएको छ। अनि एकदमै व्यक्तिगत पनि।
ओपनएआईका सीईओ साम अल्टम्यानले हालै सो कम्पनी किन्ने प्रतिस्पर्धी इलोन मस्कको प्रस्ताव खारेज गरेका छन्। त्यति मात्र होइन, उनले मस्कको कडा आलोचना पनि गरेका छन्।
‘इलोन लामो समयदेखि अनेक खण्ड गर्न खोजिरहेका छन्। यो उनको पछिल्लो प्रयास हो,’ मंगलबार पेरिसमा अल्टम्यानले भने, ‘उनी हामीलाई सुस्त पार्ने कोसिसमा छन् जस्तो मलाई लाग्छ।’
मस्कले सोमबार आफूसहितका लगानीकर्ताहरूको समूहले ओपन एआई ९७.४ अर्ब डलरमा किन्ने प्रस्ताव गरेको खुलासा गरेका थिए। यति ठूलो प्रस्ताव आएपछि ओपन एआईको बोर्डले यसबारे सोचविचार गर्ला। तर, मस्क कम्पनीको उदेश्यबाट विचलित हुन्छन् भन्ने ठानेमा उनीहरूले सो प्रस्ताव मन पराउने छैनन्।
जे भए पनि मस्कको प्रस्तावले ओपन एआईको पुनर्संरचनाको योजनालाई अझ कठिन र निकै महँगो बनाउन सक्छ।
ओपनएआईको संस्थापक समेत रहेका मस्कले कम्पनी छाडेका थिए। उनी लामो समयदेखि अल्टम्यानसँग विवाद गरिरहेका छन्। उनले अल्टम्यान र उनको कम्पनीविरुद्ध मुद्दा पनि हालेका छन्।
अहिले मस्क यसको प्रतिस्पर्धी बनेका छन्। उनले एक्सएआई नामक कम्पनी खोलेका छन्।
‘म चाहन्छु, उनले गतिलो उत्पादन बनाएर प्रतिस्पर्धा गरुन्। तर, उनी धेरै रणनीति बनाइरहेका छन्,’ अल्टम्यानले भनेका छन्, ‘धेरैवटा मुद्दा, अरु अनेक कुरा अनि अहिले यो।’
असुरक्षित महसुस गरेर मस्कले यस्तो रणनीति अख्तियार गरेका हुन् त भन्ने प्रश्नमा अल्टम्याटले सहमति जनाए र मस्कको खिल्ली उडाए।
‘सायद उनको पूरै जीवन असुरक्षाको स्थितिबाट गुज्रिएको छ। मलाई उनीप्रति सहानुभूति छ,’ अल्टम्यानले भने, ‘मलाई लाग्दैन, उनी खुसी मान्छे हुन्।’
डोनाल्ड ट्रम्पको शासनमा मस्कको प्रभाव बढेको विषय आफ्नो लागि चासोको कुरा नभएको अल्टम्यानले बताए।
‘यसप्रति ममा चासो हुनुपर्ने हो जस्तो त लाग्छ तर निद्राबाट ब्युँझिएपछि हाम्रो प्रविधिलाई कसरी अझ राम्रो बनाउने भन्ने मात्र म सोच्ने प्रयास गर्छु,’ उनले भने। एजेन्सी
Shares

प्रतिक्रिया