अमेरिकी सामाजिक सञ्जाल कम्पनी फेसबुक अब सामाजिक सञ्जाल सेवामा सीमित हुँदैछैन। २ अर्ब ३० करोड सक्रिय प्रयोगकर्ता रहेको उसले सिधै मुद्रा कारोबार गर्न गइरहेको छ। आगामी वर्ष फेसबुकले आफ्नो मुद्रा ‘लिब्रा’ ल्याउने विस्तृत योजना सार्वजनिक गरेको छ।
विश्वमा अहिलेसम्म सरकारले मात्र मुद्रा जारी तथा विनिमय गर्ने प्रचलन छ। फेसबुकले करिब १ सय निजी कम्पनी तथा गैरनाफामूलक संस्थाहरुको संलग्नतामा डलरभन्दा शक्तिशाली मुद्रा अर्थात् क्रिप्टो करेन्सी ‘लिब्रा’ ल्याउने घोषणा गरेको हो।
लिब्राले कसरी काम गर्छ?
लिब्राको व्यावहारिक प्रयोगका लागि फेसबुक र अन्य कम्पनीहरुले एप्लिकेसन बनाउनेछन्। उदाहरणको लागि फेसबुक डिजिटल वालेट एप ह्वाट्स एप र मेसेन्जरसँग जोडिनेछ। सीएनएन लेख्छ, ‘यसले प्रयोगकर्तालाई आफ्नो डिजिटल मुद्रा म्यासेज थ्रेडबाटै पठाउन सक्ने सुविधा दिनेछ। जसरी मानिसहरुले इमोजीहरु पठाउँछन् ठिक त्यसैगरी यो मुद्रा पनि पठाउन सकिनेछ।’
यस्तो अवधारणा विश्वभरका मानिसका लागि स्थिर डिजिटल मुद्रा उपलब्ध गराई दैनिक कारोबारलाई सहज बनाउन विकास गरिएको फेसबुकको दाबी छ।
सुरुमा रकम राखेर लिब्रा खरिद गर्नुपर्छ। यसमा धेरै ठूलो शुल्क लाग्दैन। त्यसपछि आफूसँग भएको लिब्राबाटै आफूले चाहेको कारोबार गर्न सकिन्छ। यसबाट अनलाइन कारोबार, बैंक ऋण समेतको कारोबार गर्न सकिन्छ। त्यस्तै मानिसले विश्वभर सस्तोमै पैसा पठाउन समेत सक्नेछन्।
फेसबुक र यसका साझेदारहरुले लिब्रालाई विश्वकै वित्तीय र भुक्तानी प्रणालीमा आधारभूत परिवर्तन नै ल्याउनसक्ने दाबी गरेका छन्। लिब्रा एउटा विश्वव्यापी मुद्रा र वित्तीय पूर्वाधार हो जसले अर्बौँ मानिसलाई बलियो बनाउँछ। यसले पैसालाई नयाँ आविष्कार गर्छ। विश्व अर्थतन्त्रलाई परिवर्तन गरिदिन्छ।
लिब्राको डलर, युरो वा अन्य मुद्राको जस्तै आफ्नै संकेत हुनेछ। लिब्रा एसोसिएसनले अहिले यसको सुरुको यथार्थ मूल्य निर्धारणबारे काम गरिरहेको छ। यसको भ्यालु (मूल्य) डलर, युरो वा पाउन्डसँग मिल्ने गरी हुने बताइएको छ। कारोबार गर्दा यसलाई सन्तुलित रुपमा गर्न सकिने र आफ्नो स्थानीय मुद्राको मूल्यमा समायोजित हुने गरी गर्न सकिने पछि बताइएको छ। लिब्राको शतप्रतिशत मूल्य यसको सञ्चितिमा हुनेछ अर्थात् लिब्राको मूल्य बराबरको सम्पत्ति लिब्रा रिजर्भ (सञ्चिति)मा हुनेछ।
यो मुद्रामा भिजन, मुद्रा, सञ्चिति र ब्लकचेन मुख्य बुझ्नुपर्ने कुरा हुन्। लिब्रालाई विश्वव्यापी क्रिप्टो करेन्सी मुद्रा बनाउने लक्ष्य राखिएको छ। यसलाई सञ्चित रकमले बल वा मूल्य दिनेछ। यो ब्लक चेन प्रविधिमा आधारित हुनेछ। यसबाट मानिसले पैसा पठाउन, प्राप्त गर्न, खर्च गर्न र सुरक्षित गर्न सहजै सक्नेछन्।
अहिले अस्तित्वमा रहेका क्रिप्टो करेन्सीभन्दा यो केही फरक हुनेछ। यसको पृष्ठभूमिमा वास्तविक सम्पत्ति नै सञ्चित रहनेछ। लिब्राको मूल्य बराबरको सम्पत्ति लिब्रा रिजर्भ अर्थात् लिब्रा सञ्चितिमा हुनेछ। यसले लिब्राको मूल्यप्रति मानिसको विश्वास बढाउनेछ।
यो ब्लक चेन प्रविधिमा आधारित हुनेछ। सही छ कि छैन भनेर जाँच्ने नेटवर्कको विन्दु (भ्यालिडेटर नोड्स) लिब्रा ब्लकचेनमा सञ्चालित हुनेछ। ब्लकचेनको अवस्था लिब्रा एसोसिएसनका संस्थापक सदस्यहरुले अनुगमन गरिरहेका हुनेछन्। भ्यालिडेटर नोड सञ्चालनमा हरेक सदस्य उत्तरदायी हुनेछन्। नेटवर्क बढ्दै जाँदा र व्यक्तिमैत्री बन्दा लिब्रा एसोसिएसनले क्रमिक रुपले परिवर्तन गर्दै सञ्चालन अनुमति नै नचाहिने गरी परिवर्तन गर्नेछ।
फेसबुक एक लगानीकर्ता
लिब्रामा फेसबुकको मात्रै एकल नियमन हुने छैन। टेक क्रन्चका अनुसार फेसबुकले लिब्रा एसोसिएसनका संस्थापक सदस्यहरु भिसा, उबरले समान अधिकार पाउनेछन्। यी सबैले १÷१ करोड डलर यस योजना सञ्चालनका लागि लगानी गरेका छन्। फेसबुकले लिब्राको समग्र कारोबार हेर्न भातृ कम्पनी क्यालिब्रा खोलेको छ। यसले प्रयोगकर्ताको निजी कुराहरुको संरक्षण गर्नेछ। यसकारण फेसबुक प्रयोगकर्ताले लिब्रा कारोबार गरेको डाटा फेसबुकमा उपलब्ध नहुने र ती प्रयोगकर्तालाई एड (विज्ञापन) पनि गर्नेछैन।
लिब्रा एसोसिएसनमा विश्व प्रसिद्ध थुप्रै संस्थाहरु संस्थापक छन्। जसअन्तर्गत माष्टरकार्ड, पेपाल, पेयू, भिसा, स्ट्राइप पेमेन्टतर्फ, प्रविधि र मार्केटप्लेसमा बुकिंग होल्डिंग, इबे, फेसबुक, फारफेच, उबर लगायत छन्। टेलिकम्युनिकेसनतर्फ इलियाद, भोडाफोन ग्रुप, ब्लकचेनतर्फ बाइसन ट्रेल, कोइनबेसलगायतका कम्पनीहरु रहेका छन्।
फेसबुक नेतृत्वमा ल्याउन लागिएको लिब्राबारे आलोचनात्मक बहस बढी भइरहेको छ। केहीले यसलाई विश्व अर्थतन्त्रका लागि निरंकुश कदम भनी टिप्पणी गरेका छन्।
प्रतिक्रिया