ad ad

प्रविधि


मंगल ग्रहमा पहिले जीव थियो कि थिएन? यसरी खोज्दै छन् वैज्ञानिक

मंगल ग्रहमा पहिले जीव थियो कि थिएन? यसरी खोज्दै छन् वैज्ञानिक

नेपालखबर
असोज २३, २०७८ शनिबार १७:२८, काठमाडौँ

मंगल ग्रह मिसनअन्तर्गत अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको पर्सिभिअरन्सले त्यहाँ जीवको अवशेष पत्ता लगाउने प्रयास गरिरहेको छ। 

त्यसका लागि पर्सिभिअरन्स सही स्थानमा पुगेको वैज्ञानिकले दाबी गरेका छन्। 

बीबीसीका अनुसार ‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता उक्त उपकरणले त्यहाँका धेरैवटा तस्बिर पृथ्वीमा पठाएको छ।

जुन तस्बिर यो साता साइन्स म्यागेजिनमा प्रकाशन भएका छन्। ती तस्बिरले कुनै बेला पश्चिमबाट आउने नदीको पानीमा आधारित ठूलो ताल रहेको पुष्टि गरेको वैज्ञानिकले बताएका छन्। उक्त ताल साढे ३ अर्ब वर्ष पहिले मंगल ग्रहमा रहेको वैज्ञानिकको भनाइ छ। 

पर्सिभिअरन्सले खिचेको तस्बिरमा जहाँ नदीको पानीले तालको पानीलाई भेट्थ्यो, त्यहाँ नदीको पानीको बहाव कम भएर पृथ्वीमा जस्तै भूआकार बनेको देखिएको छ। 

त्यस्तै वातावरणमा सूक्ष्म जीव हुने हुँदा त्यहाँ तिनका रासायनिक अवशेष बाँकी रहेका हुन सक्ने अनुमान वैज्ञानिकले गरेका छन्।  

मानिसले आफूलाई त्यहाँ त्यस्तो भूआकार छ भन्ने कुरा पहिल्यै थाहा थिएन भनेर सोधेको इम्पिरियल कलेज लन्डनका प्राध्यापक सञ्जीव गुप्ताले बताए।

उनले भने, ‘वास्तवमा थाहा थिएन। भूउपग्रहका तस्बिरले त्यहाँ त्यस्तो भूआकार रहेको देखाएको भए पनि जमिनमा नउत्रिएसम्म त्यो निश्चित हुन सकेको थिएन।’ 

पर्सिभिअरन्स त्यो भूआकारबाट २ किलोमिटरजति टाढा भए पनि त्यसको टेलिस्कोप दृष्टिले धेरै कुरा देखाउने वैज्ञानिक बताउँछन्। 

कोडियक नाम दिइएको एक्लो थुम्कोको तस्बिरले वैज्ञानिक उत्साहित छन्। त्यसको तस्बिरमा माटोका विभिन्न तह स्पष्ट देखिन्छ। वैज्ञानिकका अनुसार ती तह नदीमा थेग्रिएका माटोबाट बनेको कुरा स्पष्ट देखिएका छन्। 

कोडियकको माथिल्लो तह भने ठूला डल्लाहरूले बनेको र त्यसले तालको अन्तिम अवस्थातिर बाढीजस्ता घटना भएको संकेत गर्ने वैज्ञानिकले बताएका छन्। 

‘ती डल्ला त्यहाँ हुनुको अर्थ बाढीजस्ता केही घटना भएको हुनुपर्छ। नदी प्रणालीमा कहीँ हिमताल थियो कि जसका कारण जेजेरोमा बाढी आयोे’, प्राध्यापक गुप्ताले भने, ‘पृथ्वीको हिमालयतिर त्यस्तो देखिन्छ।’ 

वैज्ञानिकका अनुसार पर्सिभिअरन्सलाई अब कोडियक भएको स्थानमा पठाइनेछ र त्यहाँको माटो झिकिनेछ। पर्सिभिअरन्सले दुई दर्जनभन्दा बढी स्थानबाट चट्टानका नमुना संकलन गर्ने छ र तिनलाई सन् २०३० को दशकमा पृथ्वीमा ल्याइनेछ।

ती नमुनाको अध्ययनबाट मंगल ग्रहमा कुनै बेला जीव थियो वा थिएन भन्ने निर्क्योल गरिने वैज्ञानिकले बताएका छन्। ती नमुना युरोपेली अन्तरिक्ष मिसनको यानमार्फत पृथ्वीमा ल्याउने योजना छ। ब्रिटेनमा बनाइएको उक्त यानले पर्सिभिअरन्सले राखेको स्थानबाट नमुना रकेटसम्म पुर्‍याउनेछ र रकेट मंगल ग्रहको सतहबाट प्रक्षेपण गरी भूउपग्रहमा पुग्नेछ।

अनि भूउपग्रहबाट नमुना पृथ्वीमा ल्याइने वैज्ञानिकले बताएका छन्। 

‘हामी मंगल  ग्रह अन्वेषणको सबैभन्दा रोमाञ्चक अवस्थामा प्रवेश गर्दै छौँ’, यूके अन्तरिक्ष एजेन्सीकी सु हर्नले भनिन्, ‘मंगल ग्रहको नमुना परीक्षण गर्ने सपना चाँडै साकार हुँदै छ।’

उनका अनुसार नमुना संकलन गर्ने यानको परीक्षण अर्को महिना हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .