ad ad

कोशी


संघीय संसदमा नजर लगाउँदै प्रदेश-१ का यी नेता, कसले पाउलान् टिकट?

प्रदेशमा ५ वर्षे कार्यकाल पूरा गरेका मुख्यमन्त्री, मन्त्री, सांसदको सिंहदरबार छिर्ने प्रयास
संघीय संसदमा नजर लगाउँदै प्रदेश-१ का यी नेता, कसले पाउलान् टिकट?

सुमन पुरी
असोज १५, २०७९ शनिबार १५:३३, काठमाडौँ

आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा प्रदेश १ का १९ जना प्रदेश सांसद प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा छन्। नेपालीहरूको महान चाड बडादसैँ घर आँगनमा भित्रँदैगर्दा नेताहरु धमाधम टिकट व्यवस्था गर्न दाैडधुप गरिररहेका छन्।

यद्यपि अहिलेसम्म कहाँ कुन दलको को उम्मेदवार बन्ने भन्ने चाहीँ टुंगो लागेको छैन। 

प्रदेश वा जिल्लाबाट सिफारिस भएकाहरु क–कसले टिकट पाउँछ? भन्ने यकिन भइसकेको छैन। यसैबीच गठबन्धन दलबीचको सिट र क्षेत्र बाँडफाँटका कारण केही सांसदहरु उम्मेदवार बन्नबाट बञ्चित हुने पनि देखिएको छ।

प्रदेश १ सरकारकाे ५ वर्षे कार्यकाल पूरा गरेका केही मुख्यमन्त्री, मन्त्री, सांसदले सिंहदरबार छिर्नेगरी प्रयास अघि बढाइरहेका छन्।

प्रदेश १ को पहिलो मुख्यमन्त्री शेरधन राई भोजपुरबाट उम्मेदवारी दिने तयारीमा छन्। उनीसँगै एमालेले भोजपुरबाट कृपाशुर शेर्पाको नाम पनि सिफारीस गरेको छ । तर, एमालेबाट शेरधन नै उमेदवार बन्ने पक्का–पक्की भएको नेताहरु बताउँछन्।

एमालेबाटै मुख्यमन्त्री बनेका भीम आचार्य पनि प्रतिनीधि साभाको निर्वाचनको तयारीमा छन्। 

सुनसरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तायारीमा अघि बढाएका आचार्यको नाम अहिलेसम्म टुंगो भने लागेको छैन्। एमालेमा १० बुँदे पक्षधरमध्येका एक समेत रहेका आचार्यलाई एमालेले उमेदवार बनाउने वा नबनाउनेमा अझै द्वीविधा छ। तर, आचार्य भने उम्मेदवार हुनेमा ढुक्क छन्।

प्रदेशबाट संघमा जान इच्छुक नेताहरु नेकपा एमालेका सबैभन्दा धेरै छन् एमालेबाट प्रदेशमा मुख्यमन्त्री भएका दुई नेता र ७ मन्त्रीसहित ११ जना नेताहरूले सिंहदरबार छिर्न ताकेता गरेका छन्। 

यस्तै, माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका ताप्लेजुङका नेता  को नाम पनि संघमा सिफारिस भएको छ। आङ्बुहाङ यसअघि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका हुन्।

एमालेकै प्रदेश सांसद हिराकुमार थापाले झापा–४ बाट प्रतिनिधिसभामा लड्ने बताएका छन्। एमालेले सो क्षेत्रबाट उनको नाम पनि सिफारिस गरेको छ। थापा प्रदेश–१ का पूर्वमन्त्री पनि हुन्।

एमाले प्रदेश १ का अध्यक्ष तथा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले पनि संखुवासभाबाट प्रतिनिधिसभामा दाबी गरेका छन्। उनी पनि प्रदेश–१ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन्।

शेरधन राईको नेतृत्वको सरकारमा उद्योग पर्यटन तथा बन मन्त्री भएका जगदिश प्रसाद कुसैयत पनि प्रतिनिधिसभाबाटै चुनाव लड्ने तयारीमा छन्। उनको नाम सुनसरी–४ बाट सर्वसम्मत सिफारिस भएको छ।

यस्तै, उदयपुर–२ बाट कला घले, खोटाङबाट उषाकला राई र ओखलढुंगाबाट अम्बिरबाबु गुरुङ पनि प्रतिनिधिसभाबाट चुनावम लड्ने योजनामा छन्।

अम्बिरबहादुर गुरुङ प्रदेश–१ सरकारको भौतिक पूर्वाधर राज्यमन्त्री बनेका थिए। उषाकला राई भीम आचार्य मुख्यमन्त्री हुँदा सामाजिक विकासमन्त्री भएकी थिइन्। घलेले पनि प्रदेश १ को मन्त्री बनिसकेकी छिन्। 

तेह्रथुमबाट एमालेमा प्रदेशसभा सांसद बनेका तेजमान कङ्दङ्बा र उदयपुर–१ बाट बिमल कार्कीको नाम पनि संघीय सांसदका लागि तल्लो तहबाट सिफारिस भएको छ। 

नेपाली काँग्रेसबाट भने २ जनाले मात्रै प्रदेशबाट संघमा जाने इच्छा देखाएका छन्। नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला संघकै टिकट लिनेगरी दौडधुपमा छन्। सुनसरीको २ बाट उनलाई पार्टीले संघीय सांसदका लागि सिफारिस पनि गरेको छ।

‘मेरो उम्मेदवारी संघमा हो, प्रदेशमा फर्किँन्न,’ कोइरालाले नेपालखबरसँग भने, ‘म पार्टीले टिकट दिने कुरामा विश्वस्त छु।’

पार्टीमा उनी शेखर कोइराला निकट मानिन्छन्। सुनसरी–२ बाटै सिताराम महतो र राजिव ढुंगानाले पनि चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्। उनीहरु दुवै सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन्। 

कांग्रेसका नेता तथा प्रदेश १ सरकारका उद्योग श्रम तथा रोजगार मन्त्रीसमेत हुन्। 

प्रताप प्रकाश हाङ्गाम पनि  प्रतिनिधि सभाको उम्मेदवारको सूचीमा छन्। उनलाई नेपाली कांग्रेसले ताप्जेलुङबाट सिफारिस गरेको हो। तर, गठबन्धन दलहरुबीचको क्षेत्र बाँडफाँटमा ताप्लेजुङ नपरेपछि उनी उम्मेदवार बन्न सक्ने अवस्था नरहेको कांग्रेस नेताहरु बताउँछन्। 

त्यस्तै, माओवादी केन्द्रका ४ जना प्रदेशका सांसदहरुले संघमा जाने चाहना राखेका छन्। माओवादीले सिफारिस गरेको नामावलीहरुमा इलाम–२ बाट धीरेन्द्र शर्मा, झापा–३ बाट पूर्णप्रसाद राजवंशी, झापा–४ बाट झलकसिंह दर्लामी र खोटाङबाट रामकुमार राई रहेका छन्।

सिफारिसमा परेका दर्लामी हाल प्रदेश १ का कृषीमन्त्री हुन्। राई खानेपानी तथा सिंचाई मन्त्री हुन्। गठबन्धनमा उनको क्षेत्र माओवादीको भागमा परेपछि उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने संभावना बलियो छ। 

इलाम र झापा क्षेत्र नम्बर–३ कांग्रेसको भागमा परेपछि शर्मा र राजवंशीको सम्भावना नदेखिएको माओवादीले जनाएको छ। खोटाङ माओवादीको भागमा परेकाले रामकुमार राईको उम्मेदवार बन्ने संभावना बढेको चर्चा नेताहरुबीच हुन थालेको छ। 

नेकपा एकीकृत समाजवादीको तर्फबाट २ जना प्रदेश सांसद सघमा जान चाहेका छन्। हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई भोजपुर र सुनसरी–१ बाट संघमा सिफारिस गरिएको छ। 

तर गठबन्धनमा क्षेत्र बाँडफाँड हुँदा समाजवादीले इलाम–१ मात्रै पाएको छ । यसो हुँदा उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने संभावना कम छ। 

केहीदिन अघि मुख्यमन्त्री राईले पार्टी र गठबनधनको निर्णयअनुसार आफू पुनः प्रदेशमै चुनाव लड्नसक्ने संकेत समेत गरेका थिए।सामाजिक सञ्जालमार्फत पार्टीको निर्णय मान्ने भन्दै प्रदेशमा पनि आउनसक्ने उनले खुलाएका थिए। 

प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५९ जनाको नाम सिफारिस भएको हो। सिफारिस भएकामध्ये एमालेबाट १३ जना, काँग्रेसबाट १० र माओवादी केन्द्रबाट ११ जनाको एकल नाम सिफारिस भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .