ad ad

राजनीति


सुदूरपश्चिममा ओली पक्षका सांसदको प्रश्न : हामी पार्टीका हौँ कि संसदीय दलका?

सुदूरपश्चिममा ओली पक्षका सांसदको प्रश्न : हामी पार्टीका हौँ कि संसदीय दलका?

गोकुल जोशी
जेठ २६, २०७८ बुधबार ७:१३,

सुदूरपश्चिका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने नेकपा एमाले संस्थापन पक्षका ७ सांसदले प्रदेश संसदीय दललाई स्पष्टीकरण बुझाउने तयारी गरेका छन्।

प्रदेश संसदीय दलको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री भट्टको विरुद्धमा मतदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली निकट ७ प्रदेश सांसदलाई संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए।

बुधवार बेलुकी ५ बजेसम्म स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने प्रदेश संसदीय दलले चेतावनी पनि दिएको छ।

ओली निकट सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा, नेपालु चौधरी, रतन बहादुर थापा, माया तामाङ (बोहरा) र बलदेव रेग्मीले मुख्यमन्त्री भट्टको विपक्षमा मत दिएका थिए।

मुख्यमन्त्री भट्टको विपक्षमा मत दिएर संसदीय दलको निर्देशन किन उल्लंघन गरेको भनी सोधिएको स्पष्टीकरणमा समयसीमा भित्रै स्पष्टीकरण बुझाउने ओली निकट सांसद रतन बहादुर थापाले बताए।

‘पार्टी केन्द्रको निर्देशन अनुसार हामीले विपक्षमा मतदान गरेका हौँ। सबै माननीय ज्यूहरुलाई केन्द्रले विपक्षमा मतदान गर्नु भनेर निर्देशन जारी गरेको थियो।’ उनले भने, ‘तर उहाँहरुले मान्नु भएन। सोधिएको स्पष्टीकरणमा केन्द्रको निर्देशन अनुसार मतदान गरेको जवाफ पठाउँछौँ।’

पार्टीको निर्देशन उल्लंघन गरेर नेपाल समूहले अराजकता प्रदर्शन गरेको उनको आरोप छ। ‘संसदीय दल पार्टी भित्र एउटा सानो भाग हो। स्वभावतः हामीले पार्टीको निर्देशन नै मान्नु पर्छ। हामीले त्यो मान्यौं,’

उनले भने, ‘निर्देशन उल्लंघन गरेर उहाँहरुले अराजकता देखाउनु भएको छ। त्यस्तो कारबाही गरेको केही लाग्दैन।’

यस्तै मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरेका अर्का सांसद लिलाधर भट्टले पनि पार्टीको निर्देशन अनुसार अगाडि बढेको बताउँदै आफूहरु पार्टी वा संसदीय दल केबाट सांसद बनेको प्रश्न गरे।

‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्थामा मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको थियो,’ उनले भने, ‘सोही निर्देशनअनुसार हामीले विपक्षमा मतदान गरेका हौँ। हामी पार्टीका हौँ की संसदीय दलका हौँ भन्ने प्रश्न खडा भएको छ।’

एमालेको नेपाल समूहको साथले माओवादी केन्द नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ। एमालेको संस्थापन पक्षको निर्देशन उल्लंघन गर्दै मंगलवार प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वासको मत पाउँ भनी प्रस्तुत गरेको प्रस्तावको पक्षमा नेपाल समूहका १७ सांसदले मत दिएका थिए।

यस अघि १० जेठमा एमालेको संस्थापन पक्षले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर १२ जेठको प्रदेश संसदीय दलको बैठकले समर्थन यथावत राख्ने निर्णय गरेर संस्थापन पक्षको स्थायी कमिटीको निर्णय कार्यान्वयन हुन दिएन।

त्यस लगत्तै नेपाल समूहले ४ मन्त्री र ३ राज्यमन्त्रीसहित सरकारमा आफ्नो सहभागीता बढाएको थियो।

प्रदेश सभामा सभामुख सहित २५ सांसद रहेको एमालेका नेपाल समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद छन्।

उता पार्टी निर्देशन उल्लंघन गर्ने नेपाल समूहका सांसदलाई संस्थापन पक्षले पनि कारबाहीको डन्डा चलाउने भएको छ।

पार्टीको निर्देशन उल्लंघन गर्दै मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने सांसदलाई कारबाही गरिने एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले बताए।

यस अघि प्रदेश कमिटीले प्रदेश सरकारमा बहाल ४ मन्त्री, ३ राज्यमन्त्री, प्रमुख सचेतक दुर्गा कुमारी कामी तथा सांसदहरु कृष्णराज सुवेदी (पूर्वसामाजिक विकासमन्त्री) र माया भट्ट (पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री)लाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरिसकेको छ।

यो पनि :
सुदूरपश्चिममा माधव नेपाल पक्षले सोध्यो ओलीनिकट सासंदसँग स्पष्टीकरण

नेपाल समूहको साथले सुदूरपश्चिममा पनि जोगियो माओवादी सरकार, कसले कता गरे मतदान? (नामसहित)

सुदूरपश्चिममा ओली–नेपाल विवाद उत्कर्षमा: मन्त्रालयभित्रै एमाले सचिव र मन्त्रीबीच ‘कुटाकुट’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .