राजनीति


ललिता निवास जग्गा प्रकरण : दैलोमा टाँसिएको म्याद पनि गुजार्दै गच्छदार

ललिता निवास जग्गा प्रकरण : दैलोमा टाँसिएको म्याद पनि गुजार्दै गच्छदार

नेपालखबर
चैत १०, २०७७ मंगलबार १४:४९,

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदार म्याद तामेल भएको १५ दिन बित्दा पनि उपस्थित भएका छैनन्। म्याद तामेल गर्नै एक वर्ष लगाएको विशेष अदालतले उनको घरमा म्याद टाँस भएको १५ दिनभित्र उपस्थित हुन भनेको थियो।

गत फागुन २३ गते विशेष अदालतले सुनसरीस्थित उनको घरमा म्याद तामेल गरेको थियो। अदालतले १५ दिनभित्र उपस्थित हुन म्याद तामेल गरे पनि गच्छदार मंगलबारसम्म उपस्थित नभएको विशेष अदालतका उपरजिस्टार तथा प्रवक्ता पुष्पराज पाण्डेयले बताए।

उनका अनुसार थमौतीको म्याद १५ दिन हुने भएकाले अब १५ दिनभित्र उपस्थित नभए उनको बयानबिनै अदालतले आदेश दिनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

उनको घरमा म्याद टाँस गर्नुअघि म्याद तामेल गर्न पठाइएकामा म्याद बुझ्न गच्छदारले अस्वीकार गरेका थिए।

सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा पास गराउने कार्यमा गच्छदार संलग्न रहेको अख्तियारको

आरोपपत्रमा उल्लेख छ। भ्रष्टाचारको आरोप लागेसँगै गच्छदार सांसदबाट निलम्बन भइसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलेमा छिनोफानो नहुन्जेल निलम्बन हुने व्यवस्था छ।

माधवकुमार नेपाल प्रधानमन्त्री छँदा गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। गच्छदारले नै बालुवाटारको जग्गा सट्टापट्टा गरेर सडक विस्तार गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए। सोही समयमा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो।

तर गच्छदारले आफूले विभागीय मन्त्रीका हिसाबमा प्रस्ताव लगे पनि आफ्नो कुनै संलग्नता नरहेको र मन्त्रिपरिषद्ले नै निर्णय गरेको सार्वजनिक रूपमा बताउने गरेका छन्।

यसअघि गत कात्तिक २२ गते अख्तियारले गच्छदारसँग बयान लिएको थियो।

ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष माघमा विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

त्यसमा पूर्वमन्त्री, उच्च अधिकारीलगायतलाई अभियुक्त बनाइएको छ। मुद्दाबारे विशेष अदालतले सुनुवाइ गरिरहेको छ। कोही धरौटीमा छुटेका छन् भने कोही पुर्पक्षका लागि थुनामा छन्।

तर म्याद बुझ्नै अस्वीकार गरेका पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार भने घरमा म्याद टाँस गरिएको म्यादभित्रसमेत बयानका लागि उपस्थित हुन अटेर गरिरहेका छन्।

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

याे पनि :  विशेष अदालत भन्छ– चैत २३ सम्ममा विजय गच्छदार उपस्थित नभए फैसला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .